राजनीति

मोर्चाले डाँक्यो कुटनीतिक बैठक, आन्दोलन र भूकम्प अनुदानबारे छलफल हुने

काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग छलफल गर्ने भएको छ।
 

बिहीबारका लागि उक्त छलफल आयोजना गर्ने तयारीसहित मोर्चाले नेपाल भित्र रहेका विदेशी कुटनीतिक नियोगका प्रमुख, राजदुत, दातृ संस्थासँग सामुहिक छलफल गर्ने तयारी गरेको हो। राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले उक्त कार्यक्रमका लागि औपचारिक रुपमा निम्तो दिइसकेको जानकारी दिए ।

'नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा जानकारी दिन र अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि उक्त छलफल र संवादको कार्यक्रम आयोजना गरेका हौं,' झाले भने, 'सो संबाद तथा छलफल कार्यक्रममा बिदेशी कुटनीतिक निकायका करिब १०० जना जति उपस्थित हुने अपेक्षा गरेका छौं।' उनका अनुसार नयाँ संविधानमा तराई–मधेस केन्द्रित दलको धारणासहित भूकम्प पीडितका बारेमा आएको अनुदानका बारेमा उक्त अन्तरक्रिया कार्यक्रम केन्द्रित हुनेछ । लाजिम्पाटस्थित र्याडीसन होटलमा उक्त कार्यक्रम हुने तय भएको छ। मोर्चाले आयोजना गरेको उक्त कार्यक्रममा संघीय गठबन्धनले समर्थन जनाउने छ।

प्रकाशित: ८ वैशाख २०७३ ०१:४८ बुधबार

मोर्चाले डाँक्यो कुटनीतिक बैठक आन्दोलन भूकम्प अनुदानबारे छलफल हुने