राजनीति

काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउँछु: मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन्।

शुक्रबार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाएका हुन्। उनले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताए।  

‘१२ महिना नै अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउँछु’ उनले भने ‘यसको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ एडिबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ र दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ।’

मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गरे। उनले काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताए। 

‘काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनु नपरोस्, त्यसकारण मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा ल्याएर खसालेका थियौँ’, चौधरीले भने ‘यसको विकल्पको रुपमा याङ्ग्री र लार्केको योजना पनि हामीले बनाइसकेका छौँ।’

उनले काठमाडौंवासीलाई बाह्रै महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको बताए।  

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताऐ। अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने उनको भनाइ छ।

प्रकाशित: २३ मंसिर २०७९ ०५:५८ शुक्रबार

मेलम्ची खानेपानी आयोजना