राजनीति

कर्णाली प्रदेशसभामा अधिकांश नयाँ अनुहार

कर्णाली प्रदेशसभाले चार जनाबाहेक सबै नयाँ अनुहार पाउने भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चार जना मात्रै दोहोरिएका अनुहार हुन्। समानुपातिकको बन्द सूचीमा पनि सबै राजनीतिक दलहरूले नयाँ अनुहारलाई राखेका छन्।

प्रदेशसभामा दोहोरिएका चार जना मध्ये एक मुख्यमन्त्रीसहित तीन जना बहालवाला मन्त्री छन्। मुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला ‘ख’ बाट, आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट सुर्खेत–२ ‘ख’ बाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही डोल्पा ‘ख’ बाट निर्वाचित भएका छन्। यस्तै नेकपा एमालेबाट सुर्खेत–२ ‘क’ बाट यामलाल कँडेल दोहोरिएका छन्।

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समान ९–९ सिट जितेको छ, भने नेकपा एमालेले ५ तथा स्वतन्त्रले एक स्थानमा जित निकालेका छन्। प्रत्यक्षतर्फ जितेका कांग्रेसका नौ मध्ये आठ जना नयाँ अनुहार प्रदेशसभामा प्रवेश गर्दैछन्। सल्यान ‘ख’ बाट सुरेश अधिकारी, कालिकोट ‘ख’ बाट हिक्मतबहादुर विष्ट, जाजरकोट ‘क’ बाट बेदराज सिंह, ‘ख’ बाट राजीवविक्रम शाह, दैलेख–१ ‘क’ बाट पूर्णबहादुर खत्री, ‘ख’ बाट कृष्णकुमार विसी, दैलेख–२ ‘क’ बाट घनश्याम भण्डारी, र सुर्खेत–१ ‘क’ बाट खड्कबहादुर पोखरेल नयाँ अनुहारका रूपमा प्रदेशसभामा प्रवेश गर्दैछन्।

यस्तै माओवादी केन्द्रबाट सल्यान ‘क’ बाट भीमप्रकाश शर्मा, मुगु ‘ख’ बाट मंगलबहादुर शाही, कालिकोट ‘क’ बाट दुर्गबहादुर रावत, हुम्ला ‘क’ बाट रनसिंह परियार, सुर्खेत–१ ‘ख’ बाट कृष्णबहादुर जिसी, रुकुम पश्चिम ‘क’ बाट महेन्द्र केसी र ‘ख’ बाट राजकुमार शर्मा प्रदेशसभाका लागि नयाँ अनुहार हुन्। कालिकोटबाट निर्वाचित रावत भने २०७४ सालको निर्वाचनमा सङ्घीय सांसद थिए।

नेकपा एमालेबाट डोल्पा ‘क’ बाट निर्वाचित शेरबहादुर बुढा, मुगु ‘क’ बाट निर्वाचित जीतबहादुर मल्ल, जुम्ला ‘ख’ बाट निर्वाचित टेकबहादुर पछाई र दैलेख–२ ‘ख’ बाट निर्वाचित विनोदकुमार शाह पनि नयाँ अनुहार हुन्।

यस्तै स्वतन्त्र उठेर जितेका जुम्ला ‘क’ का देवेन्द्रबहादुर शाही पनि पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन्। कांग्रेसबाट टिकट नपाएपछि शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

४० सदस्यीय प्रदेशसभामा १६ जना समानुपातिकबाट सांसद बन्नेछन्। निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक मत परिणाम अनुसार कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेबाट पाँच/पाँच, माओवादी केन्द्रबाट चार र एकीकृत समाजवादी र राप्रपाले एक–एक समानुपातिक सांसद पाउने संभावना छ। प्रत्यक्षतर्फ कुनै पनि दलबाट महिला सांसदले निर्वाचन नजितेकाले समानुपातिकका १६ मध्ये १३ जना अनिवार्य महिलालाई ल्याउनुपर्ने अवस्था छ।

स्वागतका लागि प्रदेशसभा सिँगारियो

प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भएसँगै कर्णाली प्रदेशसभा सांसदहरूको स्वागतका लागि तयारी अवस्थामा बसेको छ। प्रदेशसभा सचिवालयले कार्यालय व्यवस्थापन, विभिन्न कार्यकक्ष सजावट, रंगरोगन, बगैँचा गोडमेल तथा मर्मत सम्भारलगायत कामहरू गरिरहेको छ।

‘प्रदेशसभाको पहिलो कार्यकाल ठाउँ सार्दैमा बित्यो, अहिले स्थायी भवनबाटै नयाँ आउने प्रदेशसभा सदस्यलाई स्वागत गर्ने गरेर तयारी थालेका छौँ,’ प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले भने, ‘हामीले लगभग सबै तयारीहरू पूरा गरिसकेका छौँ।’

सभामुख र उपसभामुखसहित संसदीय दलका विभिन्न कार्यकक्षहरू आकर्षक बनाइएका छन्। अघिल्लो कार्यकालभन्दा योपल्ट दुई दलका संसदीय कार्यालय थपिने छन्। यसअघिको प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राप्रपालगायतका चार दलका लागि कार्यालयको व्यवस्थापन गरिएको थियो। एकीकृत समाजवादी र स्वतन्त्र सांसदका लागि पनि कार्यालय व्यवस्थापन गरिएको उनले जानकारी दिए।

प्रदेशसभा सचिवालयले पुराना गाडी पनि मर्मत गरिहरेको छ। प्रदेशसभाले अघिल्लो कार्यकालका प्रदेशसभा सदस्य, सभामुख, उपसभामुख लगायतलाई बिदाइ पनि गरेको छैन्। प्रदेशसभाले नयाँलाई स्वागत र पुरानालाई बिदाइको कार्यक्रमसँगै राख्ने तयारी थालेको छ।

अधिकांश सांसद ५० वर्षमाथिका

प्रत्यक्षतर्फ निर्वाचित २४ सांसद मध्ये अधिकांश ५० वर्षमाथिका छन्। निर्वाचन आयोगका अनुसार ५० देखि ७० वर्ष उमेर समूहका १७ जना छन् भने ४० देखि ५० वर्ष उमेर समूहका ६ जना सांसद छन्। यस्तै ३० देखि ४० वर्ष उमेर समूहका एक जना मात्रै छन्।

आयोगका अनुसार दैलेख–२ ‘ख’ बाट नेकपा एमालेका निर्वाचित सांसद विनोदकुमार शाह सबैभन्दा बढी ६६ वर्षका हुन् भने सबैभन्दा कान्छा सांसद दैलेख–२ ‘क’ का नेपाली कांग्रेसबाट निर्वाचित घनश्याम भण्डारी हुन्। भण्डारी ३९ वर्षका भए। ६०–७० वर्ष उमेर समूहको सूचीमा सुर्खेत–२ ‘क’ बाट निर्वाचित सांसद यामलाल कँडेल, कालिकोट ‘ख’ बाट निर्वाचित हिक्मतबहादुर विष्ट र जुम्ला ‘क’ बाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही छन्। कँडेल ६१ वर्षका भए भने विष्ट र शाही ६१ र ६० वर्षका हुन्।

५०–५९ वर्ष उमेर समूहमा रुकुम पश्चिम ‘क’ बाट निर्वाचित महेन्द्र केसी (५०), ‘ख’ बाट निर्वाचित राजकुमार शर्मा (५१) छन्। सुर्खेत–१ ‘क’ बाट निर्वाचित खड्गबहादुर पोखरेल (५९), दैलेख–१ ‘क’ बाट निर्वाचित पूर्णबहादुर खत्री (५५), दैलेख–१ ‘ख’ बाट निर्वाचित कृष्णकुमार विसी (५८), जाजरकोट ‘ख’ बाट निर्वाचित राजिवविक्रम शाह (५४), हुम्ला ‘ख’ बाट निर्वाचित जीवनबहादुर शाही (५८), सल्यान ‘ख’ बाट निर्वाचित सुरेश अधिकारी (५४), कालिकोट ‘क’ बाट निर्वाचित दुर्गबहादुर रावत (५४), मुगु ‘ख’ बाट निर्वाचित मंगलबहादुर शाही (५४), डोल्पाबाट निर्वाचित वीरबहादुर शाही (५५), सल्यान ‘क’ बाट निर्वाचित भिमप्रकाश शर्मा (५८), मुगु ‘क’ बाट निर्वाचित जीतबहादुर मल्ल (५२) वर्षका भए।

यस्तै ४०–४९ वर्ष उमेर समूहमा सुर्खेत–१ ‘ख’ बाट निर्वाचित कृष्णबहादुर जिसी, सुर्खेत–२ ‘ख’ बाट निर्वाचित विन्दमान विष्ट (४३), हुम्ला ‘क’ बाट निर्वाचित रनसिंह परियार (४६), जाजरकोट ‘क’ बाट निर्वाचित वेदराज सिंह (४२) जुम्ला ‘ख’बाट निर्वाचित टेकराज पछाई (४२) र डोल्पा ‘क’बाट निर्वाचित शेरबहादुर बुढा ४५ वर्षका भए।

प्रकाशित: २१ मंसिर २०७९ ०९:५८ बुधबार