राजनीति

डढेलधुराबाट मोटरसाईकलमा काठमाडौँ फर्किँदै सागर ढकाल

प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख प्रत्यासी बनेका सागर ढकाल डडेलधुराबाट मोटरसाइकल याात्राद्धारा काठमाडौँ फर्किँदै छन्।  सामाजिक सञ्जाल ट्वीटरमार्फत ढकालले मंगलबार बेलुका यस्तो जानकारी दिएका हुन्।  

डडेलधुराबाट काठमाडौँको लागि यात्रा सुरु गरेको र ८ सय किलोमिटर पार गरेर बुधबार साँझसम्म आइपुग्नेसमेत उनले जनाएका छन्।  

ट्वीटरमा ढकालले लेखेका छन्, ‘डडेल्धुरा देखि काठमाडौँ करिब ८०० किमी पूरै बाइकमा यात्रा सुरु गरेका छौं। भोलि साँझ काठमाडौँ आइपुग्छु। अहिले डडेल्धुराले यो शरिरलाई फलाममा परिणत गरिएिको छ। तीन दिन पुरै पानी र कालो चिया मात्र खाएर जोडले काम पनि गर्न सक्ने बनाएको छ।’

पेशाले इन्जिनियर ढकाल डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए। सुई चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका उनले कांग्रेस सभापति देउवालाई कडा टक्कर दिएका थिए। प्रतिनिधि सभा सदस्यमा भने देउवा निर्वाचित भएका छन्।  

२५ हजार ५ सय ३४ मत ल्याएर देउवा विजयी भएका हुन्। ढकालले १३ हजार ४२ मत ल्याए। झण्डै साढे १२ हजार मतान्तरले देउवा निर्वाचित हुँदा ३१ वर्षीय ढकाल निकटतम् प्रतिस्पर्धी बने। देउवाले गृहजिल्ला डडेलधुराबाट २०४८ देखि योसमेत लगातार सात निर्वाचन जितेर इतिहास रचेका छन्।  

देशका प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएर चर्चित बनेका ढकालले चुनावमा राम्रो मत ल्याउन सफल भएपछि झन् लोकप्रियता हाँसिल गरेका छन्। आगामी पाँच वर्षपछि पनि डडेल्धुराबाटै चुनाव लड्ने घोषणा उनले यसअघि नै गरिसकेका छन्।

प्रकाशित: २० मंसिर २०७९ १४:३६ मंगलबार

प्रतिनिधि सभा निर्वाचन सागर ढकाल