सदरमुकाम त्रियुगा नगरपालिकाको चालु आर्थिक वर्ष ०७९–८० को ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ १४ नं. वडाबाट सुरु भएको छ। मंगलबार साउनेमा आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना’ चालु वर्ष १४ नं. मा २ वटा सञ्चालन हुनेछ। जस अनुसार पुमाङ कदमे खोला सिंचाई निर्माण र छतिवने बलौटे खोला बाँध रहेका छन्। ती दुवै योजनाका लागि वडा कार्यालयले २० जना कामदार छनौट गर्नुका साथै ९ लाख ५० हजार रकम विनियोजन गरेको वडाध्यक्ष हिमराज मगरले बताए।
वडाध्यक्ष मगरका अनुसार मंगलबार ती योजनामा काम गर्नका लागि वडा बासी लाभग्राही सूचिकृत बेरोजगार व्यक्तिहरूलाई १ दिने कार्यस्थल अभिमूकिकरण सम्पन्न गरी परिचयपत्र वितरण गरिएको छ। त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सूचिकृत लाभग्राही कामदारहरूलाई एक कार्यक्रमका बिच संयुक्त रुपमा परिचयपत्र वितरण गरे।
परिचयपत्र वितरण गर्दै मेयर बस्नेतले स्थानीय बेरोजगारहरूलाई गाउँघरमै रोजगारी सिर्जना गरी युवाहरू विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताए।
मेयर बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले सानो लगानीले पनि ठुलठुला योजनाहरू सम्पन्न गर्न र बेरोजगारलाई गाउँमै काम पाउन सहयोग पुगेको बताए। नगरपालिकाका अन्य वडाहरूमा पनि त्यस्तै बेरोजगारलाई रोजगारी र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने योजना रहेको मेयर बस्नेतले सुनाए।
प्रधानमन्त्री रोजगार कार्यक्रमकी नगर संयोजक निशा घलेले वडा र प्रधानमन्त्री रोजगार कार्यक्रमको संयुक्त लगानीमा ती योजनाहरू सञ्चालन हुने बत्ताइन्। उनका अनुसार पुमाङ कदमे सिंचाईका लागि वडाबाट ४ लाख ५० हजार विनियोजन भएको छ, भने त्यसमा प्रधानमन्त्री रोजगार कार्यक्रमले २ लाख २ सय १९ थपेर ६ लाख ५० हजारको लागत इस्टीमेट तयार भएको छ। १ सय २६ मिटर लामो आरसिसी कुलो र गत वर्ष बनेको १४ मिटरमा सरसफाई गर्नुपर्ने प्राविधिक इस्टीमेट रहेको सो योजना ३४ दिनमा सम्पन्न गरिसक्नु पर्ने छ।
त्यस्तै छतिवने खोला बाँध निर्माणका लागि वडा कार्यालयले ५ लाख विनियोजन गरेको छ भने त्यसमा प्रधानमन्त्री रोजगार कार्यक्रमले १ लाख ५६ हजार ९ सय ४४ रुपैँया लगानी गर्ने छ। २७ दिनमा सम्पन्न गरिसक्नुपर्ने सो बाँध २१ मिटर दुवैतर्फ तारजालीसहित ग्यावियन वाल लगाउनुपर्ने छ।
दुवै योजनामा गरी १३ लाख ७ हजार १ सय ६३ रुपैँया खर्च हुने र २० जनाले काम पाउने गरी मंसिर १३ गतेदेखि निर्माण अवधि गणना हुने छ। सो योजनामा खट्ने कामदारले प्रतिव्यक्ति दैनिक ५ सय ७७ रुपैँया पारिश्रमिक पाउनेछन्।
संयोजक घलेले त्रियुगा नगरपालिकाले चालु आर्थिक वर्ष ७ सय ४४ महिलासहित १ हजार २ सय ९५ श्रमिक सूचिकृत भएका छन्। उनीहरु सबैलाई नगरपालिकाले १ सय दिन रोजगारी दिनेछ। जसका लागि चालु वर्ष ७१ लाख ९९ हजार रकम विनियोजन भएको घलेले बताएका छन्।
प्रकाशित: २० मंसिर २०७९ १३:०८ मंगलबार