प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ। प्रत्यक्षतर्फ शनिबार स्याङ्जा २ को नतिजा आएको छ भने दोलखा र बाजुरामा मतगणना जारी छ। स्याङ्जा २ मा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित भएक छन्। उनले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई ५ हजार २७ मतान्तरले हराएका हुन्। गुरुङले ३१ हजार ४६६ र अर्यालले २५ हजार ८३९ मत आफ्नो पक्षमा पारे। त्यसैगरी बाजुरा (क) बाट प्रदेशसभा सदस्यमा नरेशकुमार शाही विजयी भएका छन्।
समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ। घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ। प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन्।
प्रदेशमा निर्वाचित दलका प्रभावशाली नेताहरू मुख्यमन्त्री र मन्त्री बन्न लागिपरेका छन्। सातै प्रदेशमा मुख्यमन्त्रीका लागि वर्तमान सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र ‘प्याकेजमै सहमति’ खोज्ने आवाज उठिरहेको छ। कांग्रेसभित्र ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी देखिएका छन्। माओवादी केन्द्र र नेकपा एस भागबन्डा मिलाएर सरकार गठन गर्नुपर्नेे पक्षमा छन्। एमालेमा पनि मुख्यमन्त्रीका दाबेदार धेरै देखिएका छन्। मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने देखिएको छ। निर्वाचनबाट सबै प्रदेशमा उपस्थिति देखाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म मुख्यमन्त्रीका लागि मुख खोलिसकेको छैन। प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरू पार्टीका शक्ति केन्द्र रिझाउनेदेखि लिएर संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत गरिरहेका छन्।
प्रदेश १
प्रदेश १ को प्रदेशसभामा एमाले पहिलो दल बन्ने निश्चित छ। चुनावमा तालमेल गरेका राप्रपा र जसपाको सहयोगबिना एमाले एक्लैको सरकार बन्ने देखिँदैन। जसपाले समानुपातिकमा पाउन सक्ने एक सिट नै मधेसमा सरकार बनाउन निर्णायक बन्ने देखिन्छ। एमालेले प्रदेश १ मा झापा ५ (क) बाट निर्वाचित सांसद हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्न सक्ने प्रबल सम्भावना छ। ओलीका विश्वासपात्र उनी पार्टी स्थायी कमिटी सदस्य पनि हुन्। उनी प्रदेशको पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन्। एमालेले मुख्यमन्त्री बनाउन कार्कीलाई प्रदेशमा टिकट दिएको बताइएको छ। सत्ता गठबन्धनमा कांग्रेसभित्र मुख्यमन्त्रीका लागि ठुलै रस्साकस्सी हुने देखिएको छ। कांग्रेसबाट मुख्यमन्त्रीमा तीनजना दाबेदार देखिएका छन्। अमृतकुमार अर्याल, भीम पराजुली र उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरेका छन्। प्रदेश सभापति थापा समानुपातिक सूचीमा छन् भने अर्याल मोरङ ५ (ख) र पराजुली मोरङ ४ (ख) बाट निर्वाचित हुन्। मुख्यमन्त्रीमा अघिल्लोपटक नै दाबी गरेका राजीव कोइराला भने सुनसरी २ (ख) मा पराजित भएका छन्।
पृष्ठ १ बाट वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई नेकपा एसबाट फेरि पनि मुख्यमन्त्रीको लाइनमा छन्। उनी भोजपुर (क) बाट निर्वाचित भएका हुन्। माओवादी केन्द्रबाट पाँचथर (ख) बाट निर्वाचित इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको दाबी गर्ने सम्भावना छ। उनी प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री पनि हुन्।
मधेस प्रदेश
मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टी निर्णायक हुने देखिएको छ। १०७ सदस्यीय प्रदेशसभामा जनमतले प्रत्यक्षतर्फ ६ सिट जितेको छ। उसले समानुपातिकतर्फ ६–७ सिट पाउने सम्भावना छ। सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन जसको नेतृत्वमा सरकार बने पनि जनमत निर्णायक हुने देखिन्छ। यसैकारण उसले प्रदेशमा मुख्यमन्त्रीमा दाबी गरेको छ। उसले सरकारको नेतृत्व पाए मुख्यमन्त्री को हुने भन्ने खुलाएको छैन। कांग्रेसबाट प्रदेश सभापति कृष्णप्रसाद यादव र प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। प्रदेश सभापति यादवको सम्भावना बढी छ। उनी रौतहट १ (ख) बाट निर्वाचित भएका हुन्। पूर्वमन्त्री यादव धनुषा ३ (क) बाट निर्वाचित भएका हुन्। जसपाबाट वर्तमान मुख्यमन्त्री लालबाबु राउत फेरि मुख्यमन्त्री बन्न चाहन्छन्। उनी पर्साबाट निर्वाचित भएका हुन्। जसपाबाट समानुपातिकतर्फ बन्दसूचीमा पहिलो नम्बरमा रहेका मनीष सुमन सांसद बने उनी पनि मुख्यमन्त्री बन्ने प्रबल सम्भावना छ। मधेस प्रदेशमा अहिलेसम्म एमालेबाट मुख्यमन्त्रीको दाबेदार देखिएका छैनन्।
वाग्मती प्रदेश
वाग्मती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत आउने देखिएको छ। ११० सदस्यीय प्रदेशसभामा गठबन्धनको ५५ भन्दा बढी सिट आउने देखिन्छ। गठबन्धनको सरकार बने मुख्यमन्त्रीका लागि कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँको प्रबल सम्भावना छ। उनी मकवानपुर २ (ख) बाट निर्वाचित भएका हुन्। बानियाँ पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्रमध्येका भएकाले पनि कांग्रेसको नेतृत्वमा सरकार बने उनी मुख्यमन्त्री हुने देखिन्छ। वाग्मतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाको पनि दाबी रहने देखिएको छ। वाग्मतीको मुख्यमन्त्रीमा सत्ता गठबन्धनको माओवादी केन्द्रले पनि दाबी गर्न सक्ने देखिएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रहेका शालिकराम जमरकट्टेलले धादिङ १ (ख) बाट प्रदेशसभामा पुनः निर्वाचिन भएका छन्। वाग्मतीमा एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए जगनाथ थपलियाको सम्भावना प्रबल छ। उनी चितवन १ (क) बाट निर्वाचित भएका हुन्।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वर्तमान सत्ता गठबन्धन कायम रहेको अवस्थामा सहज सरकार बन्ने देखिएको छ। ६० सदस्यीय प्रदेशसभामा ३५ भन्दा बढी सांसद सत्ता गठबन्धनकै हुने देखिन्छ। गण्डकीमा मुख्यमन्त्रीका लागि कांग्रेसबाट सुरेन्द्र पाण्डे, शुक्रराज शर्मा र बिन्दु थापाको नाम अगाडि आएको छ। पाण्डे र थापा प्रत्यक्षबाट निर्वाचित हुन् भने शर्माको नाम समानुपातिकतर्फ बन्दसूचीमा छ। एमालेले मुख्यमन्त्रीकै लागि भनेर पूर्वगृहमन्त्री खगराज अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको हो। उनी कास्की १ (क) बाट निर्वाचित भएका छन्। गण्डकी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा पर्ने अवस्था आए हरिबहादुर चुमानको सम्भावना देखिन्छ। उनी तनहुँ १ (ख) बाट निर्वाचित भएका हुन्।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेस, माओवादी केन्द्र र एमालेका नेताहरूको दाबी छ। तर सरकार बनाउन निर्णायक मत भने कसैसँग पनि छैन। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमत जुटाउन ४४ मत चाहिन्छ। प्रदेशसभामा वर्तमान सत्ता गठबन्धनका प्रत्यक्ष र समानुपातिक गरी ३८–४१ सांसद पुग्ने देखिएको छ। एमाले–जसपा–राप्रपा गठबन्धन भएको अवस्थामा ३४–३७ सांसद हुने देखिन्छ। यस्तो अवस्थामा दुवै गठबन्धनले सरकार बनाउन नागरिक उन्मुक्ति, जनमत पार्टी र तीनजना स्वतन्त्र सांसदको भर पर्नुपर्ने हुन सक्छ। प्रदेशसभा सदस्यमा निर्वाचित स्वतन्त्र उम्मेदवार तीनैजना सुरुल पुन, दीपेन्द्र पुन र खड्ग बस्नेत माओवादी केन्द्रका बागी हुन्।
सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी देखिन्छ। माओवादी केन्द्रले नेतृत्व पाए रोल्पा (क) बाट निर्वाचित पोलिटब्युरो सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्न सक्छन्। उनी अध्यक्ष दाहालका पूर्वस्वकीय सचिव पनि हुन्। निर्वाचन लड्दा नै उनले आफूलाई मुख्यमन्त्रीका रूपमा प्रचार गरेका थिए। उनलाई मुख्यमन्त्री बनाउन बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसीलाई चुनावमा टिकट नदिइएको चर्चा माओवादी वृत्तमा छ। कांग्रेसबाट डिल्लीबहादुर चौधरी, अब्दुल रज्जाक गद्दी र राजु खनालको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ। एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए लीला गिरी, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी र भूमिश्वर ढकाल आकांक्षी छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशसभामा सत्ता गठबन्धनको दुई तिहाइ बहुमत पुग्ने देखिएको छ। ४० सदस्यीय प्रदेशसभामा सबैभन्दा ठुलो दल कांग्रेस बन्ने देखिन्छ। यसैकारण बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही पुनः मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ। पार्टीले संघमा टिकट दिन खोज्दा पुनः मुख्यमन्त्री हुने चाहनासहित प्रदेशसभामा उम्मेदवार भएका हुन्। उनी हुम्ला (ख) बाट निर्वाचित भएका हुन्। त्यस्तै कांग्रेसबाट राजीवविक्रम शाहको पनि मुख्यमन्त्रीमा दाबी रहनेछ। यस्तै सत्ता गठबन्धनको माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना छ। माओवादीका विन्दमान विष्ट र राजकुमार शर्माले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। विष्ट सुर्खेत(ख) र शर्मा रुकुम पश्चिम (ख) बाट निर्वाचित भएका हुन्। एमालेबाट स्थायी कमिटी सदस्य यामलाल कँडेलको दाबी छ। उनी सुर्खेत २ (क) बाट निर्वाचित भएका छन्। त्यस्तै एमालेबाट विनोदकुमार शाहको पनि मुख्यमन्त्रीमा दाबी छ।
सुदूरपश्चिम प्रदेश
त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सत्ता गठबन्धनको प्रस्ट बहुमत छ। त्यहाँ गठबन्धनका तीनवटा पार्टीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिरहेका छन्। मुख्यमन्त्रीका लागि कांग्रेसभित्र सबैभन्दा बढी रस्साकस्सी छ। कञ्चनपुर २ (ख) बाट निर्वाचित बहादुरसिंह थापा, अछाम १ (क) बाट निर्वाचित मेघराज खड्का, कैलाली ५ (ख) बाट निर्वाचित प्रकाश देउवा, कैलाली २ (क) बाट निर्वाचित कमलबहादुर शाहलगायतको नाम चर्चामा छ। माओवादी केन्द्रबाट खगराज भट्ट मुख्यमन्त्रीका बलियो दाबेदार देखिन्छन्। नेकपा एसले पनि सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने सम्भावना छ। नेकपा एसबाट दीर्घबहादुर सोडारी मुख्यमन्त्रीको दाबेदार हुन्। उनी कैलाली ५ (क) बाट निर्वाचिन भएका हुन्। एमालेबाट प्रदेशसभामा प्रत्यक्षतर्फ डोटी (क) बाट चक्रबहादुर मल्ल, बैतडी (क) बाट सुरेन्द्रबहादुर पाल र कञ्चनपुर १ (क) बाट वीरबहादुर थापामात्रै निर्वाचित भएका छन्।
प्रकाशित: १८ मंसिर २०७९ ०१:०१ आइतबार