राजनीति

गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताका क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत। साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र पूर्वउपसभापति विमलेन्द्र निधि ।तस्बिर: रासस

तराई मधेसकेन्द्रित जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा संघमा बन्ने नयाँ सरकारमा जान तयार भएका छन्।  

जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्। कांग्रेसका नेता विमलेन्द्र निधिले बिहीबार साँझ ट्विट गर्दै जनमत पार्टी वर्तमान सत्ता गठबन्धनको सरकारमा संलग्न हुने सहमति भएको जनाएका छन। ट्विटमा निधिले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’  

प्रधानमन्त्री देउवासँग भेट गर्नुअघि बिहीबार दिउँसो राउत र निधिबीच छुट्टै कुराकानी भएको थियो। त्यसपछि राउतलाई लिएर निधि प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष्यबाट एक सिट जितेको छ। जित्ने पार्टी अध्यक्ष राउत हुन्। जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ। प्रतिनिधिसभा समानुपातिक निर्वाचनतर्फ उसले ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ। समानुपातिकसहित प्रतिनिधिसभामा जनमत पार्टीका सांसद ५ देखि ६ सम्म हुने अनुमान गरिएको छ।  

स्रोतका अनुसार जनमत पार्टी वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गरी मधेस प्रदेशमा पनि सरकारमा सहभागी हुन तयार भएको छ। प्रदेशतर्फ मधेस प्रदेशमा जनमत पार्टी प्रत्यक्ष्यतर्फ ६ क्षेत्रमा विजयी भएको छ। जनमत पार्टी स्रोतका अनुसार मधेस प्रदेशमा उसले मुख्यमन्त्रीको दाबी गरेको छ।

यसैगरी अर्को तराईमधेसकेन्द्रित लोसपा पनि वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न सरकारमा जान तयार देखिएको छ। लोसपाका नेताहरूले वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा आफूहरू सरकारमा जान इच्छुक रहेको बताएका छन। चुनावअघि लोसपा वर्तमान सत्ता गठबन्धनमा सहभागी भएको थियो। जसपा सत्ता गठबन्धनबाट अलग भएपछि लोसपाको प्रवेश भएको होे। ‘हामी अहिलेकै सत्तारुढ गठबन्धनमै छाैं। फेरि पनि संघमा यही गठबन्धनको सरकार बन्ने भएपछि हामी पनि सहभागी हुनेछौं’, लोसपा नेता शरत्सिंह भण्डारीले भने, ‘त्यसैले हामी सरकारमा जानु स्वाभाविक नै हो।’ सरकारमा जानका लागि लोसपाले फेरि पार्टीबाट निर्णय गराउन आवश्यक नभएको पनि उनले बताए। ‘चुनावअघि नै हामीले गठबन्धनमा सहभागी हुने भनेर निर्णय गरिसकेका छांै। त्यसैले फेरि यही विषयमा निर्णय गर्न आवश्यक छैन’, उनले भने।

प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा लोसपाका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, शरत्सिंह भण्डारी र रामप्रकाश चौधरीले जितेका छन। प्रतिनिधिसभा समानुपातिकतर्फ लोसपाले ३ प्रतिशत मत पाउनुपर्ने ‘थ्रेसहोल्ड’ को सीमा नकटाउने भएको छ। त्यसैले प्रतिनिधिसभामा लोसपाका सांसद चारजना मात्र हुनेछन्। संघीय सरकारमा जस्तै प्रदेश सरकारमा पनि लोसपा यही गठबन्धनबाट सहभागी हुने भएको छ। लोसपा स्रोतका अनुसार लोसपाबाट संघीय सरकारमा जान शुक्ल र भण्डारीले इच्छा देखाएका छन्।  

दोधारमा जसपा

निर्वाचनको मुखमा आएर वर्तमान सत्ता गठबन्धनबाट अलग भएको जनता समाजवादी पार्टी (जसपा) चुनावपछि कुन लाइनमा जाने भन्नेमा स्पष्ट भएको छैन। जसपा स्रोतका अनुसार एमालेसँगको चुनावी गठबन्धनबाट पार्टीलाई फाइदा नभएको निष्कर्ष नेताहरूले निकालेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेट र संवादलाई चुनावपछि पनि कायमै राखेका छन्।

जसपालाई सत्तारुढ गठबन्धनमै फर्काउन माओवादी केन्द्रका नेताहरूले प्रयास गरेको स्रोतको दाबी छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले यादवसँग भेट गरेको जसपा स्रोतले बतायो। जसपाका प्रवक्ता मनिष सुमनले चुनावको अन्तिम परिणाम नआउँदासम्म जसपाले कुन कित्तामा उभिने भन्ने निर्णय नगर्ने बताए। पार्टी सरकारमा जाने सम्भावना पनि कायमै रहेको उनको भनाइ छ। ‘अहिले जे पनि सम्भावना छ। सरकारमा जान पनि सक्छौं, नजान पनि सक्छौं’, उनले भने।

प्रकाशित: १६ मंसिर २०७९ ००:४८ शुक्रबार

जनमत पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाली कांग्रेस