३ दिनपछि गणना सुचारु भएको उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले मतान्तर बढाएका छन्। मंगलबार साँझ ५ः०० बजेको परिणाम अनुसार काँग्रेस केन्द्रीय सदस्य खड्काले एमालेकी पोलिटव्युरो सदस्य मञ्जुकुमारी चौधरीलाई २ हजार ४३ मतले पछि पारेका छन्।
गणना स्थगित हुनुअघि खड्का र चौधरीबीचको मतान्तर १ हजार ८ सय हाराहारी मात्र फरक थियो। गत आइतबार विहान १०ः०० बजेदेखि अवरुद्ध भएको गणना कार्य मंगलबार विहान १०ः३० बजेदेखि सुचारु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी रहे पनि अव ४ हजार बढी मत गन्न बाँकी छ।
गणना कार्यमा खटेका पार्टी प्रतिनिधिले जनाए अनुसार साँझ ५ः०० बजेसम्म खड्काले २९ हजार ५ सय ८० मत पाएका छन्। एमालेकी चौधरीले २७ हजार ५ सय ३७ मत पाएकी छिन् । अव ४ हजार १ सय ३० मत गन्न बाँकी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक घोषणा भने केहीबेरपछि मात्र गर्ने जनाएको छ।
७६ हजार ६ सय ५६ मत खसेकोमध्ये अहिलेसम्म ७२ हजार ६ सय ३६ मत गणना भइसकेको छ। गणनाको अन्तिम परिणाम आउन चाहि मध्येरातिदेखि बुधबार विहानसम्म लाग्न सक्ने अनुमान गरिएको छ। आइतबार विहान खोलिएका १० वटा मतपेटिकामा प्रदेशसभाको १ सय मतपत्र भेटिएपछि रोकिएको गणना कार्य ४९ घण्टापछि सुचारु भएको हो।
प्रकाशित: १३ मंसिर २०७९ १३:३६ मंगलबार