राजनीति

ताप्लेजुङमा २०७४ को तुलनामा समानुपातिकतर्फ एमाले,माओवादी र संलोरामको मत घट्यो,कांग्रेसको केहि बढ्यो

२०७४ सालको तुलनामा ताप्लेजुङमा समानुपातिकतर्फ एमाले,माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मत घटेको तर काँग्रेसको बढेको देखिएको छ। ५ वर्ष अघिको तुलनामा एमालेले १ हजार एकसय भन्दा बढी कम ल्याएको छ भने सो बेलाको तुलनामा काँग्रेसले ६ सय मत बढी थपेको हो।  

नेकपा एसले १ हजार ५ सय बढी मत ल्याएका कारण साविक एमालेको मत त्यता गएको अनुमान गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसपटकको प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले १९ हजार ६ सय ४ मत पाएको छ। २०७४ सालमा एमालेले २० हजार ७ सय ४० मत ल्याएको थियो।  

काँग्रेसले अहिले १५ हजार ३ सय ७५ मत र माओवादी केन्द्रले ५ हजार १ सय ६२ मत ल्याएका छन्। २०७४ सालमा काँग्रेसले १४ हजार ७ सय ९९ र माओवादी केन्द्रले ६ हजार ३ सय ४१ मत ल्याएका थिए। २०७४ को तुलनामा काँग्रेसले ६ सय बढी मत थप्दा माओवादीको झण्डै एक हजार २ सय मत घटेको देखिएको छ।  

२०७४ सालको तुलानामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको करिव १ हजार १ सय मत घटेको देखिएको छ। मञ्चले २०७४ सालमा २ हजार ९ मत ल्याएको थियो भने अहिले ९ सय ३२ मत मात्र ल्याएको छ। उता एमालेबाट बिभाजन पश्चात स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले १ हजार ५ सय ४५ मत ल्याएको छ। यसपटक ९ सय ७८ मत गोलाकार भित्रको घण्टीले ल्याएको छ। त्यो भोट सबै दलमा आवद्ध मतदाताले दिएको अनुमान छ। यता प्रदेशसभाको दुईवटा निर्वाचन क्षेत्रको यसपटकको मत एकैठाउँ खन्याएर गनिएको छ। अघिल्लो पटक प्रदेशसभा निर्वाचन क्षेत्र नं १ र २ को बेग्ला बेग्लै गणना गरी नतिजा समेत बेग्लै निकालिएको थियो।  

प्रदेशसभामा यसपटक एमालेले १८ हजार ५ सय ६९ मत र काँग्रेसले १३ हजार ७ सय ७४ मत पाएका छन्। माओवादी केन्द्रले ५ हजार ९ सय ९८ मत पाएको छ। नेकपा एसले १ हजार ५ सय ५६ मत पाएको छ। २०७४ सालमा प्रदेशसभातर्फ एमालेले १९ हजार १ सय १,काँग्रेसले १३ हजार ६ सय १३ र माओवादी केन्द्रले ६ हजार ३ सय ३८ मत ल्याएका थिए। अहिले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशसभामा १ हजार ८ सय १४ मत पाएको छ। २०७४ सालमा उसले २ हजार ६ सय ९ मत ल्याएको थियो।  

प्रकाशित: १३ मंसिर २०७९ १०:४० मंगलबार

समानुपातिक Election 2079