सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधीसभाको मतगणना तीन दिनपछि गणना सुचारु गर्ने सहमति भएको छ।
सुनसरी क्षेत्र नं. ४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएको काँग्रेसले आरोप लगाएपछि शनिबार दिउँसो विवाद भएर मतगणना रोकिएको थियो। सोमबार साँझ निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न पत्राचार गरेसँगै मंगलबार बिहान सर्वदलीय बैठक बसेर अब केही बेरपछि गणना हुने सहमति भएको छ। अहिले शंका लागेको स्थानको सिसिटभी फूटेज हेरेपछि गणना सुचारु गर्न लागिएको हो।
मतगणना शंका लागेपछि पुनः मतगणना गर्न माग गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कार्कीले आइतबार निर्वाचन आयोगमा उजुरी दिएका थिए।
मतगणना रोकिनुअघिसम्म कार्कीले २३ हजार ४३९ मत प्राप्त गरेका थिए। एमालेका जगदीस कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका थिए। प्रदेश नं. ४ (क) मा नेपाली काँग्रेसका षडानन्द मण्डल र प्रदेश नं. ४ (ख) मा काँग्रेसकै हाजी डाक्टर इसरायल अन्सारी अग्रस्थानमा थिए।
प्रकाशित: १३ मंसिर २०७९ ०६:११ मंगलबार