राजनीति

प्रतिनिधिसभामा प्रत्यक्षबाट आठ महिला

प्रतिनिधिसभा सदस्यका लागि दलहरूले अघि सारेका महिला उम्मेदवारमध्ये अधिकांशले हार बेहोरेका छन्। देशभरिबाट प्रतिनिधिसभाका लागि १६५ सिटमध्ये पुराना र नयाँ दलबाट गरी आठ महिलाले मात्र चुनाव जितेका छन्। यो नतिजा पाँच वर्षअघिको आम निर्वाचनको भन्दा दुईजना बढी हो। २०७४ सालमा प्रतिनिधिसभामा ६ महिलाले प्रत्यक्षतर्फ निर्वाचन जितेका थिए। ठुला भनिएका राजनीतिक दलसहित गठबन्धनमा रहेका दलहरूले प्रत्यक्षतर्फ ४२ महिलालाई टिकट दिएका थिए।

नेकपा एमालेबाट हालसम्म तीनजना विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी साहले प्रतिनिधिसभा प्रत्यक्षतर्फबाट चुनाव जितेका छन्। नेपाली कांग्रेसबाट एकमात्र महिला सीता गुरुङ र नेकपा माओवादी केन्द्रबाट पनि एकजना मात्रै रेखा शर्मा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना सोविता गौतम र डा. तोसीमा कार्कीले जित निकाल्दा नागरिक उन्मुक्ति पार्टीबाट रन्जिता श्रेष्ठले चुनाव जितेकी छन्। सत्तारूढ गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाले नगन्य मात्रामा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका थिए। त्यसैगरी नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जम्मा ४२ जना महिलालाई उम्मेदवार बनाएका थिए। सत्तारूढ गठबन्धनबाट जम्मा दुई महिलाले चुनाव जितेका छन्। नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई युवा महिला गौतम र कार्कीले काठमाडौं र ललितपुरमा दुई अनुभवी नेत्रीहरूलाई हराउँदै चुनाव जितेका छन्।

गठबन्धन दलले टिकटमा भाग बाँड्ने क्रममा महिलालाई प्राथमिकतामा नराख्दा कम उम्मेदवार रहेका थिए। तिनीहरूमध्ये पनि अधिकांशले चुनाव हार्दा प्रत्यक्षतर्फबाट महिलाको प्रतिनिधित्व कम हुने भएको हो। अहिलेसम्मको निर्वाचन परिणामअनुसार सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसबाट जम्मा एक महिलाले प्रत्यक्षतर्फ चुनाव जितेकी छन्। कांग्रेसले प्रत्यक्षतर्फ जम्मा पाँच महिलालाई उम्मेदवार बनाएको थियो। कांग्रेसका महिला उम्मेदवारमध्ये तेह्रथुमबाट सीता गुरुङले मात्र चुनाव जितेकी हुन्।  

मोरङ २ मा सुजाता कोइराला, सिरहा २ मा चित्रलेखा यादव, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय, अर्घाखाँचीमा पूर्व उपभासमुख पुष्पा भुसालले चुनाव हारेका छन्। सबै महिला पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा थिए। त्यसैगरी हालसम्मको नतिजामा दोस्रो बनेको एमालेबाट तीन महिलाले प्रत्यक्षतर्फबाट चुनाव जितेका छन्। एमालेका तर्फबाट सुनसरी ३ मा उम्मेदवार बनेकी भगवती चौधरीको जित्ने सम्भावना देखिएको छ। सोमबारसम्मको तथ्यांक हेर्दा त्यस क्षेत्रमा कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारभन्दा चौधरी करिब ५ हजार मतान्तरले अघि छिन्। मतगणना अन्तिम चरणमा पुगेको छ।

एमालेले देशभरि ११ महिला उम्मेदवार उठाएको थियो। तीमध्ये कास्की २ बाट विद्या भट्टराई, धनुषा ३ बाट जुलीकुमारी महतो, बारा ३ बाट ज्वालाकुमारी साह गरी हालसम्म तीनजनाले चुनाव जितेका छन्। उदयपुर १ बाट मन्जुकुमारी चौधरीको पनि परिणाम आउन बाँकी छ। उनी परराष्ट्रमन्त्री नारायण खड्कासँग चुनावी प्रतिस्पर्धामा छिन्। सोमबारसम्म चौधरी २ हजार मतान्तरले पछाडि छिन्। स्याङ्जा २ मा पूर्वमन्त्री पद्माकुमारी अर्यालको मत परिणाम आउन बाँकी छ। त्यस क्षेत्रमा विवाद भएका कारण मतगणना नै स्थगित भएको छ। बागलुङ २ बाट मन्जु शर्मा, दाङ १ बाट शान्ता चौधरी, दाङ ३ बाट कोमल वली, डोटी १ बाट गौरीकुमारी ओली र कञ्चनपुर ३ बाट निरुदेवी पाल उम्मेदवार बनेका भए पनि सबैले हार बेहोरेका छन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रले आठ महिला उम्मेदवार बनाएको थियो। तीमध्ये जम्मा एकजनाले मात्रै चुनाव जितेकी छन्। दाङ २ बाट रेखा शर्मा मात्रै चुनाव जित्न सफल भएकी हुन्। उनले एमालेका महासचिव एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई चुनावमा जितेकी हुन्। काठमाडौं २ बाट पूर्वसभामुख ओनसरी घर्ती, ललितपुर ३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, काठमाडौं १० बाट अन्जना विशंखे, काठमाडौं ७ अस्मिता सिंह (मानुषी), काठमाडौं ९ बाट कल्पना धमला, जुम्लाबाट गोमा गौतम, कञ्चनपुर १ बाट पूर्वमन्त्री बीना मगरले चुनाव हारेका छन्।

त्यसैगरी गठबन्धन दलबाट नेकपा एसका तर्फबाट एक मात्रै महिला उम्मेदवार रामकुमारी झाँकीले हार बेहोरेकी छन्। गुल्मी २ बाट उम्मेदवार बनेकी पूर्वमन्त्री झाँक्री नेकपा एमालेका गोकर्ण विष्टसँग हारेकी हुन्। उनी यसअघि एमालेबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी थिइन्। २०७४ सालमा प्रत्यक्षतर्फ चुनाव जितेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि यसपटक हारेकी छन्। गठबन्धन दलका तर्फबाट प्युठान १ बाट उम्मेदवार बनेकी पौडेल एमालेका उम्मेदवार सूर्य थापासँग प्रतिस्पर्धामा थिइन्। २०७४ सालमा चुनाव जितेका पम्फा भुसाल, दुर्गा पौडेल, बिना मगरले यसपटक हार बेहोरे। देशभरिबाट प्रतिनिधिसभातर्फ जम्मा उम्मेदवार २ हजार ४१२ उम्मेदवारमध्ये २२५ जना महिला प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। तीमध्ये साना दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। यसपटकको चुनावमा ७७ जना महिला स्वतन्त्रबाट उम्मेदवार बनेका कसैले पनि चुनाव जित्न सकेनन्। राजनीतिक दलले संघीय संसद्मा ३३ प्रतिशत पु¥याउनैपर्ने कानुनी बाध्यता भने यथावत् छ। प्रत्यक्षतर्फ महिलाले चुनाव जित्न नसक्दा यता समानुपातिकबाट भने अन्य महिलाले मौका पाउने भएका छन्। 

प्रकाशित: १३ मंसिर २०७९ ०१:२८ मंगलबार

Election 2079