राजनीति

सर्लाहीबाट प्रतिनिधि सभामा दुई र प्रदेश सभामा चार जना पुनः निर्वाचित

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सर्लाहीबाट प्रतिनिधि सभाका लागि दुई जना र प्रदेश सभाका लागि चार जना सदस्य पुनः निर्वाचित भएका छन्।

प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ निर्वाचन क्षेत्र रहेको सर्लाहीबाट प्रत्यक्षतर्फ दुवैतिर पचास प्रतिशत अनुहार दोहोरिएका छन् भने पचास प्रतिशत नयाँ अनुहार अनुमोदित भएका छन्।

सर्लाही क्षेत्र नम्बर १ बाट लोकतान्त्रि समाजवादी पार्टीका रामप्रकाश चौधरी निर्वाचित भएका छन्। यसै गरी सर्लाही क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव निर्वाचित भएका छन् भने क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरि उप्रेती निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ बाट डा. अमरेशकुमार सिंह निर्वाचित भएका छन्। सर्लाहीबाट प्रतिनिधि सभामा नेकपा एमालेका हरि उप्रेती तथा लोसपाका रामप्रकाश चौधरी पहिलोपटक निर्वाचित भएका हुन्।

प्रतिनिधि सभाका चार जनामध्ये दुई जना नयाँ र दुई जना पुराना रहेका छन्। महिन्द्र राय यादव र डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभामा आफ्नो जितलाई निरन्तरता दिएका छन्। डा. सिंह २०७४ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए भने यसपटक स्वतन्त्र साँसदको रुपमा प्रतिनिधि सभामा प्रवेश पाउँदै छन्।

सर्लाहीबाट प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (क) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उपेन्द्र महतो र १ (ख) मा नेकपा (एकीकृत समाजवादी) पार्टीकी बेची लुङ्गेली निर्वाचित भएका छन्। दुवै जनाले दोस्रोपटक प्रदेश सभा प्रतिनिधित्व गर्ने मौका पाएका हुन्।

क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यतर्फ भने दुवै जना नयाँ अनुहार निर्वाचित भएका छन्। २ (क) मा नेपाली कांग्रेसका जङ्गिलाल राय यादव, २ को (ख) मा नेपाली कांग्रेसका कौशलकिशोर राय विजयी भएका छन्।

क्षेत्र नम्बर ३ र ४ मा एक एक जना नयाँ तथा एक एक जना पुराना अनुहार अनुमोदित भएका छन्। ३ (क) मा स्वतन्त्र उम्मेदवार जवाहारलाल कुशवाहा पहिलोपटक निर्वाचित भएका छन् भने ३ (ख) मा भने जनता समाजवादी पार्टीका सञ्जय कुमार यादव पुनः निर्वाचित भएका छन्। 

यसै गरी ४ (क) मा पुरानै अनुहारका रुपमा नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह विजयी भएका छन् भने ४ (ख) मा नयाँ अनुहारका रुपमा नेकपा माओवादी केन्द्रका फकिरा महतो निर्वाचित भएका छन्।

सर्लाहीका मतदाताले आफ्ना पुराना प्रतिनिधिमाथि आधा विश्वास गरेको देखिएको बुद्धिजीवीहरुको भनाइ छ।

प्रकाशित: १२ मंसिर २०७९ १५:५६ सोमबार