राजनीति

उदयपुर १ को मत गणना फेरि स्थगित

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि अघिल्लो बिहानदेखि रोकिएको उदयपुर निर्वाचन क्षेत्र नं. १ को गणना अझै सुरु हुन सकेको छैन्। गणना सुचारु गर्ने उदेश्यले २४ घण्टादेखि छलफलमा रहेको सर्वदलीय सहमति भाँडिने गरी दलहरु अघि बढेपछि गणना कार्य सुचारु हुन नसकेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान १०ः०० बजे जारी गरेको सूचना अनुसार दिउँसो १ः०० बजेसम्मका लागि गणना पुनः स्थगित गरिएको उल्लेख छ। कार्यालयले आइतबार बिहान ११ः०० बजे एक सूचना जारी गर्दै दिउँसो ४ः०० बजेदेखि गणना सुचारु गर्ने जानकारी दिएको थियो।  

तर, ४ः०० बजेसम्म बैठकले निश्कर्ष निकाल्न नसकेपछि पुनः ७ः०० बजे अर्को बैठक बसेर टुंग्याउने सूचना जारी गरेको थियो। तर, ७ः०० बज्नुअगावै नेकपा (एमाले)लगायत दलहरुले पुन मतदान गनुर््पर्ने तथा नेपाली काँग्रेसलगायत दलहरुले मतगणना तत्काल सुचारु गर्न बेग्लाबेग्लै माग गरेकाले अन्तिम निश्कर्षका लागि आयोगलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ।  

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुबेदीले पुनः मतगणना रोक्नुको कारणसहितको एउटा र दिउसो १ः०० बजेसम्म गणना पुनः स्थगित गरिएको अर्को गरी बेग्लाबेग्लै दुईवटा सूचना जारी गर्दैे मतगणना सुचारु गर्न बसेको पटकपटकको सर्वदलीय बैठक निश्कर्षमा पुग्न नसकेको बताएका छन्। आफुले गरेको प्रयास असफल भएपछि अन्तिम निर्णयका लागि निर्वाचन आयोगमा पत्राचार गरेको तर, आयोगबाट कुनै आदेश नआएकाले तत्काल गणना गर्न नसकिएको उनको सूचनामा उल्लेख छ।  

‘दलहरुको बेग्लाबेग्लै प्रकृतिका निवेदनहरुको प्रतिलिपि संलग्न राखी यस कार्यालयबाट रोकिएको गणना सुचारु गर्ने सम्बन्धमा निर्देशनका लागि सम्मानित निर्वाचन आयोगमा अनुरोध गर्दै पत्र पठाएर निदेर्शनको पर्खाइमा १२ गते बिहान १०ः०० बजेसम्मका लागि गणना स्थागित गर्ने सूचना टाँस गरिएकोमा’ सुबेदीद्वारा जारी सूचनामा उल्लेख छ ‘तर, १२ गते बिहान १०ः०० बजेसम्म आयोगबाट कुनै निकासा प्राप्त नभएकाले निकासा प्राप्त हुने अर्को समय अन्जाम गरी १२ गते दिनको १ः०० बजेसम्मका लागि गणना कार्य पुनः स्थगित गरिएको छ।’

जिल्लाका २ नं. क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा क) र ख) तथा १ मा प्रदेशसभातर्फ क) र ख) दुवैको अन्तिम नतिजा ३ दिनअघि नै आइसक्दा उदयपुर १ मा भने यस्तो लफडा आइलागेको हो। १ नं. मा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। गणनाको सुरुवाती चरणदेखि अग्रता लिदै आएका गठबन्धनका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का पछिल्लो परिणाम अनुसार झण्डै २ हजार मतान्तरले अघि छन्।  

आइतबार बिहान ६ः५० बजेसम्मको गणना परिणाम अनुसार खड्काले २७ हजार ४ सय ८४ मत पाएका छन् भने एमालेकी मञ्जुकुमारी चौधरीले २६ हजार ६ सय ५९ मत पाएकी छिन्। ७६ हजार ५ सय ३८ मत खसेको सो क्षेत्रमा ६७ हजार ८२ मत गणना भइसकेको छ। प्रदेशसभातर्फ क) मा माओबादीका राजन किराती (बासु) र ख) मा काँग्रेसका हिमाल कार्की विजयी भइसकेका छन्।  

गणना पुनः स्थगित गरिएको सूचना। 

 

प्रकाशित: १२ मंसिर २०७९ ०६:०२ सोमबार

मतपत्र Election 2079