राजनीति

समानुपातिकमा कति मत खस्यो?

निर्वाचन भएको एक साता बितिसक्दा पनि निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ खसेको कुल मत संख्या सार्वजनिक गर्न सकेको छैन। मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभामा खसेको समानुपातिक मतको कुल तथ्यांक आयोगले सार्वजनिक गर्न नसकेको हो। देशभरिबाट प्राप्त समानुपातिक मतका आधारमा राजनीतिक दलको सिट निर्धारण हुने भएकाले कति मत खस्यो भन्ने विषयमा धेरैको चासो बढेको छ। कुल सदर मतका आधारमा ३ प्रतिशतभन्दा कम ल्याउने राजनीतिक दलको मत खेर जाने भएकाले पनि समानुपातिक मतबारे आम चासो बढेको हो।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ ६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ तर समानुपातिकतर्फ कति मत खस्यो भनेर केही पनि बताएको छैन। आइतबार साँझसम्म समानुपातिकतर्फको ९० लाखभन्दा बढी मत गनिसक्दा खसेको कुल मतबारे आयोगले कुनै तथ्यांक सार्वजनिक गरेको छैन।

यसपटक कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ७५० भएको आयोगले जनाएको छ। कुल मतदाताको ६१ प्रतिशत १ करोड ९ लाख ७३ हजार एक सय ३७ हुन आउँछ। समानुपातिकमा भने प्रत्यक्षतर्फभन्दा बढी मत खसेको छ। किनकि निर्वाचनमा खटिएका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेलमा रहेका कैदीबन्दीले समेत समानुपातिकमा मत खसाल्ने मौका पाएका थिए। त्यसकारण पनि समानुपातिकमा प्रत्यक्षतर्फ भन्दा बढी मत खसेको हो। तर अहिलेसम्म यति मत खस्यो भनेर आयोगले तथ्यांक सार्वजनिक गरिसकेको छैन।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले सबै मतगणना नभएसम्म तथ्यांक सार्वजनिक गर्न सम्भव नहुने बताए। ‘यकिन तथ्यांक सबै मतगणना भइसकेपछि मात्रै आउँछ। कुनै पनि जिल्लाको परिणाम तलमाथि भएको हुन सक्ने भएकाले समानुपातिकतर्फ खसेको मत तथ्यांक सार्वजनिक नगरिएको हो,’ उनले भने, ‘अपडेट भइरहेको छ। गणना भएका जिल्लाको मात्रै तथ्यांक सार्वजनिक गर्नुले कुनै अर्थ पनि राख्दैन।’ उनका अनुसार प्रत्यक्षतर्फ र समानुपातिकमा ६१ प्रतिशत अनुमानित हो। सबै मतगणना भइसकेपछि मात्रै कुल खसेको मतको तथ्यांक आयोगले सार्वजनिक गर्ने उनले स्पष्ट पारे।

निर्वाचन आयोगले आइतबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार समानुपातिकतर्फ देशभरिबाट एमालेले २४ लाख ८८ हजार बढी मत प्राप्त गरेको छ। दोस्रोमा रहेको कांग्रेसले २३ लाख ६३ हजार बढी मत ल्याएको छ। समानुपातिकतर्फ तेस्रो स्थानमा माओवादी केन्द्रले १० लाख ३८ हजार बढी मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ५० हजार बढी मत ल्याएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ३८ हजार बढी मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ३ लाख ११ हजार बढी समानुपातिक मत ल्याएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समानुपातिकतर्फ २ लाख ४५ हजार बढी मत ल्याएको छ। प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एसले समानुपातिकतर्फ हालसम्म गणना भएको सदर मतको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएको छैन । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना हुन सकेको छैन।

कसको कति सिट आउला?

प्रतिनिधिसभामा ११० सिट समानुपातिकतर्फबाट निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ। दलहरूले समानुपातिकका लागि यसअघि नै निर्वाचन आयोगमा बन्दसूची बुझाइसकेका छन्। सोही बन्दसूचीका आधारमा समानुपातिक पद्धतिबाट ३३ प्रतिशत महिला पुग्नेगरी दलहरूले संसद्मा प्रतिनिधित्व गराउनुपर्नेछ।

कुन दलले कति सिट ल्याउँछन् भनेर धेरैका लागि चासोको विषय बनेको छ। समानुपातिकतर्फ आइतबारसम्म गणना भएकोे मत हेर्दा ६ दलले ३ प्रतिशत कटाएका छन्। ६ वटा दलले पाएको मतलाई शतप्रतिशत मान्दा प्रतिनिधिसभामा एमालेले ३५, नेपाली कांग्रेसले ३४, माओवादी केन्द्रले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले १५ सिट पाउने अनुमान गरिएको छ। त्यसैगरी राप्रपाले ८ र जनता समाजवादीले ४ सिट समानुपातिकतर्फ ल्याउन सक्ने देखिन्छ।

सिट बाँडफाँट आधार

दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रका माध्यमबाट सिट संख्या निर्धारण हुनेछ। राजनीतिक दलहरूले प्राप्त गर्ने समानुपातिकतर्फको मतबाट प्रतिनिधिसभामा ११० जना सदस्य निर्वाचित हुन्छन्। समानुपातिकतर्फ दलले ल्याएको सदर मतको अनुपातमा सिट बाँडफाँट हुने व्यवस्था छ। समानुपातिक प्रणालीमा देशको कुल भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ। त्यसअन्तर्गत मतदाताले देशभरिबाट राजनीतिक दललाई मत दिन्छन्। दलले ल्याएको कुल सदर मतमध्ये तोकिएको सूत्रको माध्यमबाट समानुपातिक उम्मेदवारका लागि दलको सिट संख्या निर्धारण हुन्छ। कुल सदर मतको ३ प्रतिशत कटाउने दलहरूले प्राप्त गरेको सबै मतलाई शतप्रतिशत मानेर ११० ले भाग गर्दा कुन दलको भागमा जति प्रतिशत हुन आउँछ, सोही आधारमा सिट संख्या निर्धारण हुन्छ।

प्रतिनिधिसभाका लागि कुनै ‘क’ दलले प्रत्यक्षतर्फबाट कम्तीमा एउटा सिट जितेको र समानुपातिकमा ३ प्रतिशतभन्दा कम मत प्राप्त गरेको खण्डमा उसले संसद्मा प्रवेश पाए पनि राष्ट्रिय दलको मान्यता भने पाउन सक्दैन। त्यस्तो स्थितिमा समानुपातिकमा ‘क’ दलले पाएको ३ प्रतिशतभन्दा कम मतको कुनै गणना हुँदैन। कुनै ‘ख’ दलले प्रत्यक्षतर्फ एक सिट पनि नजितेको तर समानुपातिकमा ३ प्रतिशतभन्दा बढी मत ल्याएको खण्डमा पनि राष्ट्रिय दलको मान्यता दिइन्न। तथापि समानुपातिकबाट  भागमा परेको संख्यामा सिट लिएर संसद् प्रवेशको अवसर भने प्राप्त हुन्छ।

कुनै ‘ग’ दलले प्रत्यक्षतर्फ एक सिट पनि जितेन र समानुपातिकतर्फ पनि ३ प्रतिशतभन्दा कम मत ल्याएको अवस्थामा उक्त दलको सबै मत खेर जान्छ। अर्थात्, उसले पाएको मतको सिट बाँडफाँटका लागि कुनै गणना हुँदैन। प्रदेशसभामा भने समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्न दलले ३ प्रतिशतको आधा अर्थात् १.५ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । कुल सदर मतका आधारमा समानुपातिकतर्फको सिट बाँडफाँट हुने व्यवस्था छ। २०७४ सालमा समानुपातिकतर्फ ९५ लाख ८ हजार १४४ मत सदर भएको थियो। खसेको मत र दलहरूले ल्याएको मतलाई हेर्दा १० प्रतिशत मत बदर भएको थियो।

प्रकाशित: १२ मंसिर २०७९ ००:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App