राजनीति

हार निश्चित् भएपछि सञ्चारमन्त्रीले मतगणना कार्य अवरुद्ध पारे: एमाले उम्मेदवार कुसियत

सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले)का उम्मेदवार जगदिश कुसियतले आफूले हार्ने निश्चित् भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन्।  

मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित् भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकीर थियो। उनले भने, ‘हामीले कानुनलाई हातमा लिन खोजेका छैनौं। एमालेले स्पष्ट के भनेको छ भने कानुनमा के भन्छ? जो मतगणना भयो। त्यसलाई छोडौं। बाँकी रहेको मतगणना सुरु गरौं। उहाँले सायद मानसिक रुपमा हार स्विकार गरिसक्नु भएको छ। म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नु भएको मात्रै हो।’

सञ्चारमन्त्री कार्कीले शनिबार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमती जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आइतबार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढन सकेको छैन। एमाले उम्मेदवार कुसियतले भने बाँकी रहेको मत गणना कार्य तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए।  

यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमती जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भईरहेको जनाएको छ।

प्रकाशित: ११ मंसिर २०७९ ०८:५३ आइतबार

Election 2079