राजनीति

मधेसमा मिलीजुली सरकार

२०७४ सालको प्रदेशसभा निर्वाचनमा तालमेल गरेर चुनाव लडेका मधेस केन्द्रित दल संघीय समाजवादी फोरम (ससफो) र राष्ट्रिय जनता पार्टी (राजपा) ले मधेस प्रदेशमा बहुमतको सरकार बनाएका थिए। यसपालि दुवै दल अलगअलग गठबन्धनबाट चुनाव लडेपछि नराम्ररी पछारिएका छन्। ती दुई दलमध्ये कुनैको पनि बहुमत नआउँदा मधेस प्रदेश सरकार गठन सकसपूर्ण हुने देखिएको छ।

प्रदेशसभामा प्रत्यक्षतर्फको मत परिणामले मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच धुव्रीकरण हुने देखिन्छ। यस प्रदेशमा आगामी सत्ता संघर्ष निकै चर्को हुने संकत देखिएको छ। विगतमा मधेस सरकार राजपा र ससफो मिलेर बनाए पनि पछि दुवै दल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार चलायो। जसपा विभाजनपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकार टिकाइदिए। यसपालि मधेसमा जसपा वा जसपाबाट फुटेर बनेको लोसपाले सरकार बनाउन सक्ने अवस्था छैन। ती दुई दलले एक्लै वा मिलेर बहुमत पु¥याउने सम्भावना पनि देखिँदैन।

संघीयतापछिको पहिलो पाँच वर्ष मधेस सरकारको नेतृत्व गरेको जसपाले हालसम्मको चुनावी मतपरिणामअनुसार नयाँ सरकार गठनका लागि आवश्यक सिट संख्या पु¥याउन सकेको छैन। त्यसैले अब गठन हुने मधेस प्रदेश सरकार जसपाले नभई कांग्रेस वा एमालेको नेतृत्वमा बन्ने संकेत मतपरिणामले देखाएको छ। मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ वटा सिट छन्। ४३ सिट समानुपातिक जोड्दा मधेस प्रदेशसभा १०७ सदस्यीय हुन्छ। सरकार बनाउन कम्तीमा ५४ सिट आवश्यक पर्छ। अहिलेसम्मको मतपरिणामले कुनै पनि दलले एकल बहुमत ल्याउने देखिएको छैन। त्यसकारण मधेस प्रदेशमा गठबन्धन (मिलिजुली) सरकार बन्ने पक्का छ। तर त्यो गठबन्धन सरकार जसपा वा लोसपाले नभई मधेसइतर दलको नेतृत्वमा बन्ने प्रबल सम्भावना छ। मधेस प्रदेशमा प्रत्यक्षतर्फ सात दलको प्रतिनिधित्व हुने भएको छ।

किनकि कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमत, जसपा, एकीकृत समाजवादी र लोसपाले प्रत्यक्षतर्फ चुनाव जितिसकेका छन्। शुक्रबार साँझसम्म आएको मतपरिणामले मधेस प्रदेशमा एमाले पहिलो पार्टी बन्ने देखिन्छ। अहिलेसम्म एमालेले प्रदेशसभाका ११ सिटमा विजयी भएको छ। उसले तीन स्थानमा अग्रता कायम गरिरहेको छ। कांग्रेसले ११ क्षेत्रमा विजयी भएको कांग्रेसले एक क्षेत्रमा अग्रता कायम राखेको छ। जसपाले १० र लोसपा ७ सिटमा विजयी भएका छन्। माओवादी केन्द्र चारवटा सिटमा विजयी भएको छ। जनमत पार्टीले ६ सिट जितेको छ। स्वतन्त्रले पनि ६ स्थानमा जित निकालेको छ। त्यसैगरी पार्टीले पाउने समानुपातिक मतमा पनि मधेस प्रदेशमा मधेस केन्द्रित दलभन्दा कांग्रेस र एमालेलाई बढी मत परेको प्रारम्भिक मतपरिणामले देखाएको छ।  

यस्तो अवस्थामा मधेस सरकारको नेतृत्व सत्तारूढ गठबन्धन दल कांग्रेस वा विपक्षी गठबन्धन दल एमालेको साथ र समर्थन आवश्यक हुन जान्छ। कांग्रेस र एमालेको साथ र समर्थनले बन्ने सरकार संघीय सरकारको जस्तै अस्थिर बन्ने सम्भावना अहिलेको मतपरिणामले देखाएको छ। राष्ट्रिय राजनीति वा संघीय सरकारमा कुनै उथलपुथल भएको खण्डमा त्यसको प्रभाव प्रदेश सरकारमा पर्ने निश्चत छ। किनकि कुनै एक दल वा दुई दलको समर्थनमा सरकार बन्ने अवस्था मधेस प्रदेशमा छैन।

चुनावी परिणामले मधेस प्रदेशमा मिलिजुली सरकारकै पक्षमा जनमत आएको मधेस मामिलाका जानकारहरू बताउँछन्। मधेस प्रदेशमा सरकार गठनका लागि दुई सम्भावना छन्। पहिलो सम्भावना अहिलेकै सत्ता गठबन्धनले चाहेको खण्डमा सजिलै सरकार बनाउँछ। दोस्रो सम्भावनामा एमाले–जसपा गठबन्धनले स्वतन्त्र र जनमतलाई सहभागी गराएर सरकार गठन गर्न सक्छ। एमाले मधेस प्रदेशका सहइन्चार्जसमेत रहेको सिरहा ३ का प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठले भने, ‘मधेस प्रदेशमा हाम्रो गठबन्धनले जनमत र अन्य पार्टीसँग सहकार्य गरेर सरकार बनाउन पहल गर्छ। यसमा एमाले, जसपा, जनमत र अन्य पार्टी सहभागी हुने सम्भावना रहन्छ,’ उनले भने।

एमाले, जसपा, जनमत, स्वतन्त्र तथा साना दलहरू मिलेर बनेको सरकार वा सत्ता गठबन्धन दल मिलेर बनेको सरकार कति टिकाउ र स्थिर हुन्छ भन्नेमा भने व्यापक आशंका छ। अर्कातर्फ सत्ता गठबन्धनबीच चुनावमा अन्तरघातको विषय उठिरहेको छ। जसका कारण गठबन्धनबीच अविश्वासको वातावरण सिर्जना भएको छ। त्यसको प्रभाव सत्ता समीकरणमा पनि पर्ने विश्लेषकहरू बताउँछन्। सत्ता र इतर गठबन्धनमा देखिएको अविश्वासको जगमा बन्ने मधेस प्रदेश सरकार बलियो बन्ने सम्भावना कम छ।

अहिले मधेस प्रदेशमा जसपाको नेतृत्वमा माओवादी केन्द्र, नेकपा एसको संयुक्त सरकार छ। तत्कालीन जसपा विभाजित भएर लोसपा अलग भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मधेस सरकारलाई टिकाएका थिए। निर्वाचनमा सिट बाँडफाँटका विषयमा सत्तारूढ गठबन्धन दलसँग कुरा नमिलेपछि जसपा अध्यक्ष उपेन्द्र यादव एमालेसँग गठबन्धन गरेर चुनावमा होमिएपछि संघीय सरकारमा सहभागी जसपाका चार मन्त्री हटाइए। जसको प्रतिक्रियास्वरूप जसपाले पनि प्रदेश सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीलाई हटाइदियो। पाँच वर्षसम्म सरकारको नेतृत्व सम्हालेको जसपाले पुनः दोस्रोपटक नेतृत्व गर्न भन्दै बढी सिट लिएर एमालेसँग चुनावी तालमेल गरेको थियो। तर यादवलाई एमालेसँगको चुनावी तालमेल अफाप सिद्ध भयो। अन्ततः मधेस सरकारको नेतृत्व पनि गुमाउने अवस्थामा जसपा पुगेको छ। अब जसपाको नेतृत्वमा सरकार बने त्यो अहिले लालबाबु राउत नेतृत्वको मधेस सरकारभन्दा पनि कमजोर हुने देखिन्छ।

२०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम र राजपा संयुक्त रूपमा चुनावमा गएर बहुमत ल्याए र संयुक्त सरकार बनाए। त्यो सरकार पछि फोरम र राजपा एक भएर जसपा बनेपछि एक दलीय भयो। तर एउटै दल जसपाको नेतृत्वमा रहेको बलियो सरकार झन्डै तीन वर्षपछि कमजोर भयो। जसपा  

विभाजन र राष्ट्रिय राजनीतिमा आएको उथलफुथलको प्रभाव मधेस प्रदेश सरकारमा पनि प¥यो। नेकपा विभाजन, जसपा विभाजनको मात्र नभई संघीय सरकारमा हुने हलचलको कम्पन प्रदेश सरकारमा पर्न गएको विगतले अब बन्ने मिलीजुली सरकारलाई प्रभाव पार्ने देखिँदैन।

प्रकाशित: १० मंसिर २०७९ ०२:०९ शनिबार

मधेस प्रदेश