राजनीति

उदयपुर १ (ख) मा काँग्रेसका हिमाल कार्की विजयी

उदयपुर १ ख) मा विजयी काँग्रेसका हिमाल कार्की। तस्विरः महेश्वर

उदयपुर १ (ख) मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका हिमाल कार्की विजयी भएका छन्। शुक्रबार साँझ ६ः१० बजेको परिणाम अनुसार कार्कीले २ सय १५ मत बढी ल्याएर एमालेका इश्वरमणि राउतलाई हराउँदै प्रदेशसभाको यात्रा दोहो¥याए।  

कार्कीले १४ हजार ९ सय ७९ मत ल्याएर विजयी हुँदा राउतले १४ हजार ७ सय ६४ मत पाएका छन्। ६३ हजार ४ सय ८१ मतदाता रहेको यो प्रदेश क्षेत्रमा ३७ हजार २ सय ६७ मत खसेको थियो। खसेकोमध्ये १ हजार ४ सय ५३ मत बदर भएको छ।  

एमालेभन्दा सत्तारुढ दलीय गठबन्धनको भारी मतान्तर हुनुपर्नेमा झिनो मतले मात्र कार्की विजयी भए। यसो हुनुमा पार्टीभित्रको अन्तर संघर्ष नै मुख्य कारण मानिएको छ। गत सोमबार मध्यान्हदेखि सुरु भएको मतगणनामा सुरुवाती चरणदेखि नै कार्कीले अग्रता लिदै आएका थिए। सत्तारुढ दलीय गठबन्धनका कारण कार्कीको अवस्था धेरै मजबुत हुनुपर्नेमा अपेक्षाभन्दा धेरै कम मत आएकाले झिनो मतान्तरले विजयी हुनुमा काँग्रेसभित्र आन्तरिक धोकाधडी भएको प्रमाणित भएको छ।

यो सँगै उदयपुरमा प्रदेशसभातर्फ ४ वटै सीटमा गठबन्धको जित भएको छ। २ (क) र (ख) मा क्रमशः माओवादीका नारायण बुर्जामगर र काँग्रेसका रामकुमार खत्री विजयी भएका छन्। १ (क) मा बिहीबार दिउसोको परिणाम अनुसार माओवादीका राजन किराती (बासु) विजयी भएका छन् भने कार्की ख) बाट जितेका छन्।

प्रतिनिधिसभातर्फ २ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजबादीका जगन्नाथ खतिवडालाई एमालेका अम्मर रायमाझीले पराजित गरेका छन्। १ नं. मा गठबन्धनकै उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का झण्डै २ हजार मतान्तरले अगाडि छन्। दिउसो ४ः४० सम्मको परिणाम अनुसार खड्काले १८ हजार ७ सय ७७ मत पाउँदा चौधरीले १६ हजार ८ सय ६१ मत पाईरहेकी छिन्। उनीहरुबीच १ हजार ९ सय १६ मतको फरक छ।  

७६ हजार ५ सय ७६ मत खसेको १ नं. मा हालसम्म ४५ हजार ४७ मत गणना भइसकेको छ। जसमा २ हजार ८ सय ७० मत बदर भएको छ। प्रतिनिधिसभातर्फको मत परिणाम पाउन शनिबार रातिसम्म कुर्नुपर्ने गणनामा खटिएका कर्मचारीहरुको अनुमान छ।  

अन्तरघात गर्ने दर्जन कार्यकर्ता ५ वर्षका लागि निस्कासन

यसैबीच चुनावमा अन्तरघात गरेको भन्दै पार्टी जिल्ला सभापतिसमेत रहेका कार्कीले दर्जन कार्यकर्तालाई निस्कासनको कारबाही गरेका छन्। चु्नावमा अन्तरघात गरेको प्रमाणित भएको भन्दै बिहीबार साँझ कार्कीले एक विज्ञप्ती प्रकाशित गरी १२ नेता कार्यकर्तालाई ५ वर्षसम्मका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको जनाएका छ्न।  

बिहीबार दिउँसो भएको मत गणनामा काँग्रेसको ‘पकेट क्षेत्र’ मानिएको त्रियुगा ५ र ४ को मत एमालेको पक्षमा खसेको पाइएपछि जिल्ला, नगर, क्षेत्र र वडा समितिका विभिन्न तहका कार्यकर्तालाई कारबाही गरेका हुन्।  

मंसिर ४ को चुनावमा पार्टीलाई अन्तरघात गरेको प्रमाणित भएको भन्दै सभापति कार्कीले नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ९, धारा ३४ (४) बमोजिम ५ वर्षका लागि पार्टी सदस्यबाट निस्कासन गरिएको बेहोरा उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।  

प्रकाशित: ९ मंसिर २०७९ १३:१७ शुक्रबार

हिमाल कार्की Election 2079