राजनीति

राजनीतिमा बर्षमानको छलाङ्ग

रोल्पा नगरपालिका ७ माडिचौरका ५१ वर्षीय बर्षमान पुन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। स्नातक गरेर राजनीतिमा लाग्नु अघि शिक्षक पेशामा रहेका उनी कानुनका विद्यार्थी हुन्। १ छोरा र १ छोरीका बाबु पुनका श्रीमती पुर्ब सभामुख ओनसरी घर्ती हुन्। बिरामी शरिर बोकेर चुनावी प्रचारमा हिडेका बर्षमान मतगणना सुरु भए पछि आराम र उपचारका लागी राजधानी हिडिसकेका छन्।

बर्षमानले २०५० सालदेखि २०६३ सम्मको शान्ति प्रकृया सम्म भूमिगत राजनीतिक जीवन बिताएका थिए। राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा परे। उनले दुई महिना बन्दी जीवन पनि बिताएका छन्। २०४२ सालबाट राजनीतिमा आवद्ध बर्षमान जनयुद्धको सुरुवातसँगै तत्कालीन नेकपा माओवादीमा सक्रिय थिए। २०५३ मालमा रोल्पा जिल्ला सेक्रेटरी बनेका उनि २०५५ सालमा केन्द्रीय सदस्य चुनिए।

तत्कालिन जनमुक्ति सेनाको डेपुटी कमाण्डर हुदै वैकल्पिक पोलिटब्यूरो सदस्य २०५७ र २०५९ देखि पोलिटब्यूरो सदस्य रहे। रोल्पा प्यूठानको ईन्चार्ज, रुकुम सल्यानको ईन्चार्ज र जाजरकोटको ईन्चार्ज भएपछि २०५५ देखि ५९ जेठसम्म बर्षमानले पश्चिम कमाण्डको सैन्य हेड्क्वाटरको जिम्मा लिए। 

घर्तिगाउँ, घोराही व्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महतलगायतमा माओवादीले गरेको ठूला कारबाहीहरुमा त्यसक्रममा उनी कमाण्डर रहे। २०६२ को चुनावपछि बर्षमान जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने। सँगसँगै काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लालाई समावेश गरेर बनाइएको विशेष कमाण्डको राजनीतिक ईन्चार्ज बने। उनी एकसाथ सैन्य कमाण्डर र राजनीतिक ईन्चार्ज बनेका थिए।  

२०६३ सालमा माओवादीको सचिवालय सदस्य बने संगै उनको राजनितिक उचाई चुलियो। हेटौँडा महाधिवेशनबाट एमाओवादी सचिव हुदै २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य चुनिए।

पुन २०६४ सालमा ललितपुर १ बाट संविधानसभा सदस्यका रुपमा निर्वाचित भएका थिए भने दोस्रो संविधान सभा निर्वाचनमा उनी मोरङमा पराजित भए। २०७४ सालमा रोल्पाबाट  प्रतिनिधिसभा सदस्य निर्वाचित भएका बर्षमानले २०६७ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री, २०६८ सालमा अर्थमन्त्री र २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी संम्हाली सकेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ १०:२० शुक्रबार

बर्षमान पुन Election 2079