सिनामंगलस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका विमानहरुमा इन्धन भर्न लैजाने ट्याङकरमा जडित उपकरणमा आगलागी भएको छ। विमानस्थल प्रशासनले भने आगलागी तत्काल नियन्त्रणमा लिइएको बताएको छ।
मंगलबार बिहान तेल भर्ने क्रममा ट्याङकरमा आगलागी भएको हो। तेल भर्न जाने ट्याङकरमा कम गुणस्तरका उपकरणहरु जडान भएकाले आगलागी भएको त्यहीका एक कर्मचारीले नागरिकन्यूजलाई जानकारी दिए।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने सामान्य आगलागी भएको र तुरुन्त निभाइएको बताउँछन। ‘ट्याङकरमा सामान्य आगो देखिएको थियो, हामीले तुरुन्त निभायौं’, उनले नागरिकन्यूजसँग भने। नेपाल आयल निगमको सिनामंगलस्थित केन्द्रले ती ट्यांकरहरु सञ्चालन गर्दै आएको छ।
प्रकाशित: ६ मंसिर २०७९ ०६:३३ मंगलबार