राजनीति

निर्वाचनपिच्छे मतदाताको रोजाइमा फरक दल

गणतन्त्र स्थापनापछि संविधानसभायता भएका चुनावमा मतदाताले फरकफरक दल छान्दै आएका छन्। देश शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि २०६४ सालयताका निर्वाचन परिणाम हेर्दा चुनावैपिच्छे जनताले विकल्पका रूपमा नयाँ र फरक दल खोजी गरेको देखिएको हो। निर्वाचनका बेला उम्मेदवारहरूले ठुला आश्वासन बाँड्ने तर परिणाम आफ्नो पक्षमा पारेपछि जनहितमा अपेक्षित काम नगर्ने भएकाले असन्तुष्ट मतदाताले नयाँनयाँ विकल्प र पार्टीहरूलाई स्थापित गर्ने र फेरि पुरानै दलमा फर्कने गरेको विगतको मतपरिणामले देखाएको छ।

आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम हेर्दा मतदाताले मतपत्र मार्फत एकखालको आक्रोश व्यक्त गरेको देखिन्छ। सबैभन्दा कम मत खसेको यो निर्वाचनमा मतदाताले नयाँ अनुहार, नयाँ दल खोज्न थालेको प्रारम्भिक नतिजाले देखाउन खोजेको हो। सत्तामा रहेका ठुला भनिएका दलले गरेको गठबन्धनलाई जनताले सहज रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाले देखाएको छ।

यसपटकको चुनावमा पनि मतदाताले व्यक्ति हेरेर, नयाँ अनुहार र देशमा केही गर्न सक्ने उम्मेदवारको पक्षमा मत दिएको देखिन्छ। यद्यपि निर्वाचन परिणाम आउन अझै एक साता लाग्ने देखिन्छ। देशमा भ्रष्टाचार मौलाउँदै गएको, ठुला भनिएका राजनीतिक दलहरूले जनअपेक्षित काम गर्न नसक्दा चुनावका बेला मतदाताले नयाँ अनुहार खोज्न थालेको स्पष्ट संकेत देखिएको छ। यसअघिका चुनावमा पनि मतदाताको मन स्थिर देखिँदैन।

मतदाताले कहिले नेपाली कांग्रेसलाई पहिलो दल, कहिले नेकपा एमाले त कहिले नेकपा माओवादी केन्द्रलाई पहिलो दल बनाउँदै आएका छन्। यसले मतदाताले विकल्प खोजिरहेको आकलन गर्न सकिन्छ। २०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा युवा र स्वतन्त्र उम्मेदवारको हाबी थियो।

२०६४ सालअघि देशमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस थियो। पहिलो संविधानसभाको चुनावमा पनि दलहरूले आकलन गरेभन्दा विपरीत अर्थात् अनपेक्षित खालको मत परिणाम आएको थियो। भर्खर शान्तिसम्झौतापछि चुनावमा आएको तत्कालीन नेकपा माओवादीबाट जनताले छुट्टै खालको आशा गरेका थिए। त्यही आशामा २०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादीलाई ठुलो जिम्मेवारी दिए। तर चार वर्षमा माओवादीभित्रको विभाजन र विग्रहसँगै संविधानसभाबाट संविधान जारी गर्न नसक्दा २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा मतदाताको रोजाइमा फेरि पुरानै दल कांग्रेस र एमाले बन्न पुगे। सोही निर्वाचनले मधेसमा मधेसी जनअधिकार फोरम नेपालसहित दलहरू स्थापित भए।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र (वाम गठबन्धन) को पक्षमा जनमत प्रकट भएको थियो। दुई पार्टी एकीकरणको काम नसकिँदै विभाजन हुन पुग्दा जनतामा थप निराशा र आक्रोश बढेको थियो। राजनीतिक स्थिरताको जनचाहना पूरा नभएका बेला कांग्रेस र एमालेको नेतृत्वमा दुई अलग चुनावी गठबन्धन निर्माण भए पनि जनताले त्यसलाई नरुचाएको देखिन्छ। त्यसको विकल्पमा सहरी क्षेत्रमा नयाँ दलका रूपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका साथै पूर्वी तराईमा जनमत पार्टी र पश्चिमी तराईमा नागरिक उन्मुक्ति पार्टी मतदाताको रोजाइमा परेको प्रारम्भिक मतपरिणामले देखाएको छ। पुराना दलका साथै राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई यो निर्वाचनले नयाँ दलका रूपमा स्थापित गराउने देखिन्छ।

पहिलो संविधानसभामा माओवादी

गणतन्त्र स्थापनापछिका चुनाव हेर्दा २०६४ सालमा तत्कालीन नेकपा माओवादीलाई जनताले निकै ठुलो विश्वास गरेका थिए।

पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीले प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ देशभरबाट ३१ लाख ५४ हजार ५ सय १९ (३०.५२ प्रतिशत) मत प्राप्त गरी पहिलो दल बनेको थियो। देशभरका २२० निर्वाचन क्षेत्रबाट माओवादीले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा विजय हासिल गरेको थियो।

यो तत्कालीन समयमा माओवादीका लागि पनि अनपेक्षित विजय थियो। त्यतिबेला माओवादीले १२० सिट जितेको थियो। पहिलोपटक समानुपातिक पद्धति लागु भएको २०६४ सालमा पहिलो बनेको माओवादीले ३१ लाख ४४ हजार २०४ मत पाएको थियो। यो देशभरिबाट आएको समानुपातिक मतमध्ये २९.२८ प्रतिशत मत हो। सम्पूर्ण भूगोललाई एक क्षेत्र मानिएको समानुपातिक तर्फबाट माओवादीले १०० सिट प्राप्त गरेको थियो। यो कुल मतमध्ये २९.८५ प्रतिशत थियो।

त्यसैगरी दोस्रो स्थानमा झरेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ लाख ४८ हजार ८ सय ९० मत प्राप्त गरेको थियो। कुल खसेको मत हेर्दा जुन २२.७९ प्रतिशत मत हो। कांग्रेसले प्रत्यक्षमा ३७ सिट जितेको थियो। त्यसैगरी समानुपातिकमा २२ लाख ६९ हजार ८ सय ८३ मत प्राप्त गरेको थियो। समानुपातिकमा कांग्रेसले ७३ सिट जितेको थियो।

तेस्रो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फ २२ लाख २९ हजार ६४ मत प्राप्त गरेको थियो। २१.६३ प्रतिशत मत पाएको एमालेले ३३ सिट जितेको थियो। समानुपातिकमा २१ लाख ८३ हजार ३ सय ७० मत प्राप्त गरी ७० सिट जितेको थियो। तत्कालीन समयमा राजनीतिक दलहरू एक्लाएक्लै चुनाव लडेका थिए।

दोस्रो संविधानसभा २०७० मा कांग्रेस

२०६४ सालको पहिलो संविधानसभा चुनावमा दोस्रो बनेको नेपाली कांग्रेस दोस्रो संविधानसभा चुनाव २०७० सालमा पहिलो दल बन्यो। कांग्रेसले प्रत्यक्षतर्फ २६ लाख ९४ हजार ९८३ (२९.८ प्रतिशत) मत पाएको थियो। देशभर २४० निर्वाचन क्षेत्रबाट कांग्रेसले १०५ सिट प्रत्यक्षतर्फ जितेको थियो। त्यसैगरी समानुपातिकमा २४ लाख १८ हजार ३७० मत पाएको थियो। यो देशभरबाट खसेमध्ये २५.५५ प्रतिशत मत हो। समानुपातिकमा ९१ सिट जितेको थियो। यो सिट प्रतिशतको हिसाबले २७.१६ प्रतिशत हो।

दोस्रो बनेको एमालेले प्रत्यक्षतर्फ २४ लाख ९२ हजार ९० (२७.५५ प्रतिशत) मतसहित ९१ सिट जितेको थियो। समानुपातिकतर्फ २२ लाख ३९ हजार ६०९ अर्थात् २६.७७ प्रतिशत मत प्राप्त गरेको थियो। एमालेले ८४ सिट समानुपातिकतर्फ जितेको थियो। नेकपा माओवादी केन्द्रले २६ सिट प्राप्त गरेको थियो। माओवादीले १६ लाख ९ हजार १४५ (१७.७९ प्रतिशत) मतसहित २६ सिट जितेको थियो।

 त्यसैगरी समानुपातिकतर्फ १४ लाख ३९ हजार ६०९ (१५.२१ प्रतिशत) मत प्राप्त गरेको थियो भने समानुपातिकतर्फ ५४ सिट जितेको थियो। यसपटक पनि राजनीतिक दलहरू एक्लाएक्लै चुनावमा गएका थिए।

२०७४ को चुनावमा एमाले

नेकपा एमाले संघीयता कार्यान्वयनपछिको पहिलो चुनावमा पहिलो दल बन्न सफल भयो। १६५ निर्वाचन क्षेत्रबाट एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो। समानुपातिकतर्फ एमालेले ४१ सिट जितेको थियो। एमालेले जम्मा ४०.३४ प्रतिशत मत ल्याएको थियो। दोस्रो बनेको कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो।

त्यसैगरी कांगे्रसले समानुपातिकतर्फ ४० स्थान गरी ६३ सिट जितेको थियो। कांग्रेसले ३२.४२ प्रतिशत मत ल्याएको थियो। तेस्रो बनेको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो। समानुपातिकमा १७ सिट पाएको थियो। माओवादीले १५.६३ प्रतिशत मत प्राप्त गरेको थियो। यसअघिको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच वाम तालमेल थियो।

प्रकाशित: ६ मंसिर २०७९ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App