राजनीति

मुस्ताङका २९ वर्षिय योगेश प्रतिनिधि सभामा निर्वाचित

नेपाली काँग्रेसका २९ वर्षिय योगेश गौचन मुस्ताङबाट प्रतिनिधिa सभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार मतगणनाको परिणाम अनुुसार उनले ६९ वर्षिय एमालेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका हुन्।

गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका जिल्ला निर्वाचन अधिकारी मदन अर्यालले जानकारी दिए । तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । तुलाचनले २०७४ सालको निर्वाचनमा भने रोमी गौचनलाई पराजित गर्दै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।  

२०७४ सालमा आफना बुवा रोमी गौचनलाई पराजित गरेका प्रेमप्रसादलाई पाँचवर्षपछि(२०७९) प्रतिनिधि सभाको निर्वाचनमा पराजित गरेका हुन् । उनी नेपाली काँग्रेसका पूर्व मन्त्री रोमी गौचनका पुत्र हुन् । रोमी गौचनले प्रतिनिधि सभाको उम्मेदवारको रुपमा छोरालाई उठाएका थिए ।  

मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित गौचन मुस्ताङको नेपाली काँग्रेसको जिल्ला सदस्य हुदैं गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि समेत हुन् । गौचन लेतेस्थित होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक समेत हुन् । प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याए ।  

प्रकाशित: ५ मंसिर २०७९ ०७:२१ सोमबार

मुस्ताङ योगेश गौचन थकाली