राजनीति

मतदान गर्दै मेयर हर्क साम्पाङले भने, धरानको लागि असल अभिभावक प्राप्त होस्

धरान १८ स्थित कार्मेल स्कुलको मतदान केन्द्रमा मतदान गर्दै मेयर हर्क साम्पाङ। तस्बिर: रोहित राई

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा धरानका मेयर हर्कराज राई (साम्पाङ) ले आज मतदान गरेका छन्।

उनले धरान १८ स्थित कार्मेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। वडा नं १८ मेयर साम्पाङको घर भएको वडा हो। 

मतदान शान्तिपुर्ण रुपमा सम्पन्न होस् भन्ने कामना गर्दै मेयर साम्पाङले कुनै पनि मत बदर नहोस् भन्ने पनि कामना गरेका छन्। सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने,‘आफ्नो मताधिकार प्रयोग गर्न पाउनु ठुलो कुरा हो। सबैले आफुलाई मन पर्ने उम्मेद्वार चुन्ने दिन हो। शान्तिपुर्ण भइरहेको छ, शान्तिपुर्ण वातावरणमा सकियोस् भन्ने कामना गर्छु।’

मेयर साम्पाङले निर्वाचनबाट धरानले असल अभिभावक प्राप्त हुने अपेक्षा पनि गरे। जसले जिते पनि प्रदेश र संघमा पार्टीगत स्वार्थभन्दा माथि रहेर सर्वाङ्गिण किवासको लागि, सुशासनको लागि भुमिका खेलिदिऊन् भन्ने आफ्नो अपेक्षा रहेको पनि मेयर साम्पाङले बताए। ‘धरानको सुशासन र विकासको लाग असल अभिभावक प्राप्त होस्, त्यो अभिभावकले धरानको समस्या, आधारभुत आवश्यकता समाधानमा पार्टीको स्वार्थभन्दा माथि रहेर सर्वाङ्गिण विकासमा संघ र प्रदेशमा भुमिका खेलिदिऊन् भन्ने चाहना राख्छुँ,’उनले भने।

मेयर साम्पाङले मूलुकको उज्जल भविष्यको आशा र कल्पना गर्नुपर्ने धारणा राख्दै जे हुन्छ, राम्रै हुन्छ भन्ने प्रतिक्रिया दिए। साथै उनले सर्वभौम नेपाली जनताले जसलाई जुन स्थानमा राखे पनि त्यसलाई सहर्ष स्वीकार गर्नुको विकल्प नरहेको पनि बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०८:२४ आइतबार