राजनीति

मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्छः अध्यक्ष ओली

मतदान गर्दै केपी शर्मा ओली।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन्।

अध्यक्ष ओलीले आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे। उनले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए। ‘निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु’, उनले भने, ‘मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदि भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौँ। ’

उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने उनको भनाइ छ। उनले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताए।  

उनले भने, निर्वाचनको कार्य भइरहहाँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ। निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ। छिटफुट अप्रिय घटना भएपनि आम रुपमा राम्रो तरिकाले निर्वाचन भएको छ। साथै अप्रिय घटना भएका ठाउँमा मतदान दोहो¥याएर गर्नुपर्ने हुन्छ।’

प्रकाशित: ४ मंसिर २०७९ ०७:३५ आइतबार

आम निर्वाचन २०७९