राजनीति

‘नयाँ’ रोज्दै नयाँ मतदाता

काठमाडौं चन्द्रागिरीका विशाल महर्जन पहिलो पटक आइतबार (आज) आम निर्वाचनमा सहभागी हुँदै छन्। कक्षा ११ मा पढ्ने उनले निर्वाचनमा नयाँ उम्मेदवारलाई रोज्दै गरेको सुनाए। ‘नयाँको मतलब अनुभवहीन र कोरा मात्र होइनन्,’ उनले भने, ‘नवीन सोच र समृद्ध विचार बोकेका उम्मेदवार रोज्न खोजेका हौं।’

उनको जस्तै विचार राख्छन्, काठमाडौं क्षेत्र नम्बर २ स्थित शखरापुर नगरपालिकाका पुरुषोत्तम अर्याल पनि। कक्षा १२ मा पढ्दै गरेका उनले पहिलो पटक मत खसाल्न आफू आतुर रहेको सुनाए। ‘पहिला हामीले भोट हाल्न नपाए पनि बाआमाहरूले भोट हालेको र कुरा गरेको सुनेका छौं,’ उनी भन्छन्, ‘विकास भएन भनेर गाली गर्नुभन्दा पनि योग्य उम्मेदवारलाई जिताउन चाहन्छौं।’

त्यस्तै धारणा राख्छन्, टोखाका जितेन्द्र श्रेष्ठ पनि। उनी जित्ने हार्नेभन्दा पनि योग्यलाई भोट दिने सुनाउँछन्। ‘जित्ने उम्मेदवारलाई भोट दिने होइन,’ उनले भने, ‘बरु भोट दिएर योग्य उम्मेदवार जिताउने सोचमा छु।’

मनोसामाजिक परामर्शदाता डा. नम्रता पाण्डे नयाँ मतदातालाई संयमित भएर मत खसाल्न सुझाउँछिन्। ‘युवाहरूले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट उम्मेदवारबारे धेरै कुरा बुझ्ने अवसर पाएका छन्,’ उनी भन्छन्, ‘कसैको लहैलहैमा भन्दा पनि मुलुकका लागि को योग्य छ भनेर रोज्नु बुद्धिमानी हुन्छ।’ आयोगका अनुसार गत स्थानीय तह निर्वाचनको तुलनामा यसपालि करिब ५ लाख नयाँ मतदाता थपिएका छन्। ६ महिनाको अवधिमा पुराना मतदातामा २ लाख जति हटेका र नयाँ ५ लाखको हाराहारीमा थपिएको आयोगले जनाएको हो।

पुरानालाई पनि नयाँले सम्झाउँदै

नयाँ मतदाताले आफू मात्र होइन, घरमा बाआमालाई पनि सम्झाइरहेको देखिन्छ। ललितपुर सानागाउँकी ७२ वर्षीया चिरिमाया महर्जनले भोट खसाल्न थालेको थुप्रै भइसक्यो। मुलुकका विभिन्न खाले परिवर्तनमा आफ्नै विचारले भोट खसालेकी उनी यसपटक सन्तानको खुसीका लागि मत खसाल्ने सुनाउँछिन्। ‘यस पटक सन्तानको सल्लाहमा मत खसाल्ने निर्णय गरेकी छु,’ उनले भनिन्, ‘उनीहरूको भविष्य राम्रो होस् भन्ने चाहना छ।’

उनको जस्तै धारणा राख्छिन् बुंगमतीका लीला महर्जन पनि। ‘आफ्नो सुरले धेरैपटक भोट हालियो,’ उनी भन्छिन्, ‘तर सोचे जस्तो प्रगति भएन।’ पढेका सन्तानले देशको बारे बुझेका होलान् भन्ने ठानेर आफूले पनि छोराछोरीको कुरा सुन्न थालेको उनले बताइन्।

प्रकाशित: ४ मंसिर २०७९ ०२:०२ आइतबार

‘नयाँ’ रोज्दै नयाँ मतदाता पुरानालाई पनि नयाँले सम्झाउँदै