राजनीति

आचारसंहितालाई छल्ने प्रयास नगर्नूस्ः आयुक्त भण्डारी

फाइल तस्बिर।

निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ। आयोगले निर्वाचन आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गराउँदा विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्।

‘विगतको तुलनामा धेरै कम आचारसंहिता उल्लंघन भएको छ, ’उनले भने ‘आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नुहुन्छ, त्यो सबैले बुझेका छौँ।’

शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारका क्रममा कम मात्रै आचारसंहिता उल्लंघन भएको तर स्थिर समयमा बढी आचारसंहिता उल्लंघन हुनसक्ने बताए। 

‘अहिले हामी स्थिर अवधिमा छौँ। स्थिर अवधिमा अझै कडाईका साथ लागू गर्नुपर्छ’ उनले भने ‘किनभने यो बेलामा बढी भन्दा बढी आचारसंहीता उल्लंघन हुन्छ भनेर प्रतिनिधिहरुले भनिरहनुभएको छ।’

उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए। उनले निर्वाचन आचारसंहितालाई स्थिर समयमा हुनसक्ने उल्लंघनलाई मध्यनजर गरी निगरानीमा कडाइ गरेको बताए। निर्वाचन आयोग निर्वाचन आचारसंहिता उल्लंघन नगर्न र नगराउनका लागि गौंडा गौंडामा बिना बर्दीमा खटिएको भन्दै निर्वाचन आयुक्त भण्डारीले बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्न पनि चेतावनी दिए। 

‘आयोग यो समयावधिमा गौंडागौंडामा बसेर हेरिरहेको छ। उहाँहरु बर्दीमा नहुनुहोला तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ। तर बर्दीमा कोही छैन भनेर आचारसंहीतालाई छल्ने प्रयोजनलाई चिहाउने प्रयास नगर्नुहोला।’ उनले भने।

निर्वाचन आयुक्त भण्डारीले आयोगलाई आचारसंहिता कडा गरेन भन्ने आरोप लाग्दै आएकाले त्यसलाई चिर्न र कानूनको कार्यान्वयन गराउन यस पटकको निर्वाचनमा आयोगले आचारसंहिततामा कडाइ गरिरहेको बताए। उनले भने ‘आयोगप्रति हेर्ने दृष्टिकोण दुई वटा छ। कडाई ग¥यो, आयोग निर्मम भयो भन्ने छ, नरम ग¥यो, आयोगले आचारसंहीता कार्यान्वयन गर्न खुट्टा कमायो भन्ने गरिन्छ।’

उनले आयोगले आचारसंहीता कडाईबारे विभिन्न राजनीतिक दल र नेताहरुसँगको छलफलपछि नै निर्णय लिएको बताए। निर्वाचन आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहीता लागू गरेको स्मरण गराए। ‘विगतको निर्वाचनको विषयलाई विश्लेषण गरेर हेर्दापनि हामीले आचारसंहीता वास्तवमा अलिकति कडाई गरेर नै लागू गर्नुपर्छ नत्र कार्यान्वयन हुँदैन भन्ने आायेगको ठहर रह्यो, उनले भने ‘त्यो भइसकेपछि हामीले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र नेताहरु बोलाएर छलफलमा सहभागी गरायौँ।’

उनले आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सुसम्पन्न गर्न आयोग हरक्षण लागेको बताए। आयोगले गरेको कामलाई अहिले आम जनताले साथ र सहयोग गरेको भन्दै आचारसंहीता उल्लंघन गर्नेलाई कानून अनुसार कारबाही गर्न आयोगले खुट्टा नकमाउने उनको दाबी छ।

उनले भने, ‘आयोग अहिले कडा ढंगले प्रश्तुत भएको आयोगको स्वविवेकले मात्रै होइन, दल र नेताहरुको आग्रहमा दलले यसरी कडाई गरन भने स्वच्छ, निष्पक्ष, भयरहीत निर्वाचन हुन सक्दैन भनेपछि हामी अहिले आचारसंहीता कार्यान्वयनमा कडाईका साथ पेस भएका हौँ। पहिला हामी आचारसंहीता कार्यान्वयन गर्न सुधारात्मक पक्षमा थियौँ। सचेत मात्रै गराइरहेका थियौँ। अहिले हामी थोरै भएपनि दण्डात्मक रुपमा पेस भएका छौँ।’

प्रकाशित: ३ मंसिर २०७९ ०७:४८ शनिबार

आम निर्वाचन २०७९