राजनीति

कुपन दिएर खानाखाजा खुवाउनेमाथि कारबाही

विगतका निर्वाचनहरुमा मतदानको दिन मतदाताहरुलाई प्रभावित पार्न मतदानमा आउँंदा खानाखाजाको कुपन दिने गरेको भन्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने चेतावनी दिइएको छ।  

जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन आचारसंहिता विपरित गर्ने जोसुकैमाथि कडा कारबाही हुने चेतावनी दिइन्।  

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित सम्मेलनमा शर्माले जिल्लामा सम्पूर्ण तयारी पूरा भएको पनि जनाइन्। दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको उनले जनाइन्।  

निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी आवश्यक निर्वाचन सामग्रीसहित सम्बन्धित मतदानस्थल पठाइएको शर्माले बताइन्। चार नगरपालिका रहेको भक्तपुरमा दुई सय २२ मतदान केन्द्रहरु छन्।  

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, नेपाल र म्यादी गरी दुई हजार भन्दा बढी  सुरक्षाकर्मी परिचालन गरिने जनाइयो। जिल्लामा एक लाख ९४ हजार चार सय ३९ जना मतदाता रहेका छन् । यीमध्ये महिलाको संख्या बढी छ।  

प्रकाशित: २ मंसिर २०७९ १३:३४ शुक्रबार

मतदाता