राजनीति

सर्लाही र रौतहटमा पुनः मतदान हुन नदिन सुरक्षा व्यवस्था कडा

सर्लाही र रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको भन्दा हरेक मतदान स्थलमा करिब पचास प्रतिशत सुरक्षाकर्मी वृद्धि गरेर सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको हो।

सर्लाही र रौतहटमा गत स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा विवाद भएको थियो। सर्लाहीमा गोली चलेको थियो भने रौतहटमा मतपेटिका नै लुटेर भागका थिए। दुवै जिल्लामा कपितय ठाउँमा पुनः मतदान भएको थियो।

मतदान केन्द्रमा कुनै विवाद नहोस् र सानोतिनो विवादमा मतदान स्थगित नहोेस् भन्ने पूर्व तयारीका साथ बुथस्थललाई अत्यन्त सुरक्षित पारिएको सर्लाही र रौतहटका सुरक्षा अधिकारीहरुले जनाएका छन्। सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलले गत स्थानीय तहको निर्वाचनको भन्दा करिब पचास प्रतिशत सुरक्षाकर्मी हरेक बुथमा परिचालन गरिसकिएको बताएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्लाहीको धनकौल र बरहथवामा एउटा एउटा बुथको चुनाव रद्द भएर पुनः मतदान भएको थियो। यसै गरी सर्लाही प्रहरीले बसबरिया गाउँपालिकाको मोतिपुर मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले गम्भीरताका साथ लिएको छ।

सर्लाही प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्पेशल कमान्डो प्रहरी परिचालन भएको जनाएको छ। हरेक मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनु अहिलेको मुख्य कर्तव्य भएकोले हरेक मतदानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको एसपी पोखरेलको दाबी छ।

रौतहटमा सुरक्षा व्यवस्था अत्यन्त चुस्त बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जानकारी गराएका छन्।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहटमा ११ वटा मतदान स्थलको मतदान स्थगित भएको थियो।  यमुनामाई गाउँपालिकाको भेडियाहीमा मतपेटिका नै लिएर भागेको देखिएको थियो। यसै गरी बौधिमाई नपाको इनर्वा, सरमुजवा, देवाही गोनाही नपाको करुनिया, गरुडा नपाको पिपरिया, गढीमाई नपाको लक्ष्मीपुर लगायत ११ स्थानमा पुनः मतदान भएको थियो।

सुरक्षाको दृष्टिकोणले अति संम्वेदनशील, संम्वेदनशील र सामान्य गरी तिन वर्गमा मतदान केन्द्रलाई विभाजन गरी सोही अनुसार पहिलेको निर्वाचनभन्दा निकै बढी संख्यामा सुरक्षाकर्मी परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी गराएका छन्।

निर्वाचनको अवधिभर हरेक मतदानस्थलमा सुरक्षा निकायको नियमित गस्ती भइरहने तथा आवश्यक पर्नासाथ ५ मिनेटभित्र मतदानस्थलमा थप बल पुग्ने गरी व्यवस्था मिलाइएको प्रजिअ शाहीको भनाइ छ।

नागरिक समाजका अगुवा विजय किशोर झाले सबै मतदान केन्द्रमा मतदान कर्मचारी तथा सुरक्षाकर्मी परिचालन भइसकेको र शान्तिपूर्ण वातावरणमा सर्वसाधारणले मतदान गर्न पाउने आशा राखेको बताएका छन्। गत स्थानीय तहको निर्वाचनमा मतपेटिका लुटेर भाग्नेसम्मको गतिविधि देखिएकोले नागरिक समाजको पनि शिर झुकेको भन्दै मतदानजस्तो लोकतान्त्रिक प्रक्रियामा सबैलाई सकारात्मक सहयोग गर्न आग्रह गरेका छन्। सुरक्षा निकायले सम्पूर्ण रुपले शान्तिपूर्ण तथा स्वतन्त्र वातावरणमा मताधिकारको प्रयोग गर्न पाउने वातावरण सिर्जना गरेको विश्वास पनि झाले व्यक्त गरेका छन्।

सुरक्षा व्यवस्था कडा बनाइएपछि सर्वसाधारण मतदाताको भने शान्तिपूर्ण मतदान हुनेमा आशा पलाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ०७:४७ शुक्रबार

सुरक्षा