फोटो फिचर

फेवापारिबाट पोखरा हेर्दा

पोखरा घुम्न आउने पर्यटकमध्ये कमैमात्र फेवातालपारि अनदु गाउँ पुग्छन्। डुंगा चढेर जानुपर्ने भएकाले पनि हत्तपत्ती जोकोही जाँदैनन्। डुंगा सयर गर्नुपर्दा कतिपयले झन्झट मान्छन्।

ताल पल्लो किनारको गाउँमा के छ भन्ने कौतुहलता बाँकी राखेर अधिकांशले पोखरा यात्रा टुंग्याउँछन्। के छ त तालपारि गाउँमा? जवाफ दिइसाध्य छैन। वारिबाट झट्ट हेर्दा पारि सानो गाउँमात्र देखिन्छ। केही ढुंगे घरमात्र देखिन्छन्।

फेवापारि पुम्दीभुम्दीको अनदु गाउँमा मनले शान्त र शीतल अनुभव गर्छ। वर्षामा हरियालीले ढपक्कै ढाक्छ। हिउँदमा पनि सुन्दर हुन्छ। बिहानी घामले हिउँदमा गाउँलाई टलक्क टल्काउँछ। लेकसाइडबाट हेर्दा तालको पल्लोछेउ किनारसँगैको गाउँमा स–साना घरसहित बस्तीमात्र देखिन्छ। त्यहाँ पुगेर पोखरा बजार हेर्ने हो भने गजबै देखिन्छ।

फेवामा डुंगा सयर गरेर होस् वा विश्व शान्ति स्तुपाको बाटो हुँदै हिँडेर अनदु पुगिन्छ। ढुंगाले छाएका घर, तालको माथिल्लो भागका घरबाट पोखरा बजार नियाल्दा समय बितेको पत्तै हुन्न। वर्षायाममा त कोदो र धानखेतले हरियाली थपेको हुन्छ। अनदु हेर्दा नजिक देखिए पनि आउजाउ गर्न अलि झन्झट छ। ताल पार गरेर वा शान्ति स्तुपाबाट हिँडेर आउजाउ गर्नुपर्दा केही कठिनाइ छ।

त्यहाँका बासिन्दाले पोखरा बजार आउजाउ गर्ने डुंगा व्यवस्थित गरेका छन्। विद्यार्थीदेखि गाउँले दिनहुँ तालबाटै वारपार गर्छन्। त्यहाँका होटल र रेस्टुरेन्टले पाहुनाको सुविधाका लागि डुंगा राखेका छन्। पाहुनालाई डुंगा चढाएर लैजाने र फर्काउने गर्छन्। भाडामा डंुगा लिएर रमाउन पुग्ने पनि प्रशस्तै हुन्छन्।

अनदुमा शान्त मनले आराम गर्न जानेहरू बढ्न थालेका छन्। प्रकृतिमा रमाउनेहरूका लागि त्यहाँ होटल र रेस्टुरेन्ट खुलिरहेका छन्। लिची गार्डेन, अनदु पार्क र लेकहाउस पर्यटक लक्षित होटल हुन्। अरू रेस्टुरेन्ट पनि छन्। केहीले घरमा होमस्टे चलाएका छन्।

फेवामा आधा घन्टा डुंगा सयरपछि गाउँमा पुगिन्छ। त्यहाँका घर र होटलमा बसेर फेवातालको दृश्यमा रमाउँदै प्रकृतिको आनन्द लिन सकिन्छ। गर्मी समयमा चर्काे घाममा डुंगा पार गरेर खलखली पसिना चुहाउँदै पारि पुगेपछि शीतल छहारीमा बसेको अनुभव हुन्छ। त्यही ताल किनारमा हालैमात्र लेकहाउस रेस्टुरेन्ट खोलेका वैभव पौडेल शान्त प्रकृतिमा रमाउन खोज्नेलाई अनदु उपयोगी हुने बताउँछन्। उनले करिब ५० लाख रुपैयाँ लगानी गरेर रेस्टुरेन्ट खोलेका हुन्।

'पोखरामा बस्दा दिक्क मान्ने पाहुनालाई बजारिया होहल्लाबाट मुक्त दिलाउन पल्लो गाउँ लैजान सकिन्छ। पारि पुगेपछि शान्त अनुभव गर्छन्,' उनी भन्छन्, 'आराम गर्ने गतिलो ठाउँ अनदु बनिरहेको छ।' तालपारि रेस्टुरेन्टका ग्राहकले आफैं माछा मार्न पनि पाउँछन्। फिसिङ, डाइभिङ, स्वीमिङ र क्याम्पिङ सुविधा छ। करिब ४५ मिनेट ठाडो उकालो हिँडेपछि तालको शिरमा विश्व शान्ति स्तुपा पुग्न सकिन्छ।

अनुसन्धानमा एकचित्त भएर काम गर्न रुचाउने, फोटोग्राफी, योगा गर्ने, थेसिस लेखेर बस्नेका लागि यी होटल बढी उपयुक्त छन्। अनदु जाँदा दुई वटा अनुभव एकैपटक लिन पाइन्छ। तालमा डुंगा सयरसँगै शान्त गाउँको शीतलता। हिँडेर जाँदा रानीवनको यात्रा रमाइलो हुन्छ।

गाउँबाट राति लेकसाइड झलमल्ल देखिन्छ। लेकहाउसमा डुंगा चलाएर पाहुना वारपार गराउने टीकाराम सापकोटाका अनुसार बिहान र बेलुकीको दृश्य लोभलाग्दो हुन्छ। सूर्याेदय र माछापुच्छ्रे हिमालको छाया, अनि मडारिएको बादलको तालमा देखिन्छ। अनदु गाउँको हरियाली छाया पानीमा टल्किएको पनि देख्न सकिन्छ।

राति लेकसाइडको झिलिमिली तालको मध्यसम्म फैलिँदा मनै रमाउँछ। 'आधाजति ताल त झलमल देखिन्छ,' सापकोटाले भने।

बच्चालाई गाउँको अनुभव दिलाउन पनि अनदु उपयुक्त छ। तालछेउका खेतमा क्याम्पिङ सुविधा छ। रातको समयमा अरू होहल्ला बन्द भइसकेपछि लेकसाइडका होटल रेस्टुरेन्टबाट आएको आवाजले अनदुमा झनै रौनकता थप्छ। 'राति गाउँ सुनसान हुन्छ। तर लेकसाइडको म्युजिकको आवाजले कान गुन्जिन्छन्,' सापकोटा भन्छन्, 'अनदुमा दिनभरको थकान मेटाउन सजिलो छ।'