बौद्धनाथ स्तुपाको जिर्णोद्धार (फाेटाे फिचर)
काठमाडौं – गत वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बौद्धनाथ स्तुपाको जिर्णोद्धारको काम धमाधम भइरहेको छ। स्थानीय र बौद्धनाथ क्षेत्र विकास समितिको सहभागिमा बौद्धनाथ स्तुपाको जिर्णोद्धारको काम भइरहेको हो।
'भूकम्पपछि युनेस्को विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपाको माथिल्लो भाग पूर्नरुपमा क्षतिग्रस्त भएको थियो। बौद्धनाथ स्तुपाको १३ भागसम्म क्षति भएपछि हामीले विभिन्न स्रोतहरु जुटाएर स्थानीयको सहयोगमा जिर्णोद्धार सुरु गरेका हौं,'बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले भने,'आगामी वर्षको बुद्ध पूर्णिमामा समेत जिर्णोद्धारको कामले निरन्तरता पाउने हुँदा माघसम्म जिर्णोद्धारको काम सम्पन्न हुनेछ। बौद्धनाथ स्तुपाको कुनैपनि आकारमा परिवर्तन हुने छैन।'
बौद्धनाथ स्तुपाको माथिल्लो भागलाई आकार दिनका लागि पातामा सुनको लेपन लगाउन कर्मा लामाको टोली दिनरात खटिरहेका छन्। उनको टोलीले पातालाई धोइ पखाली गरेर ट्युव, मर्करी, नुन, चुक लगायतको मिक्षणलाई पाता सफा गरिसकेपछि अन्तमा सुनको जलप लगाउने प्रक्रियाबारे जानकारी गराए।
'हामीले पाता सफा गरिसकेपछि ट्युब, मर्करी, नुन, चुक लगायतको मिक्षणलाई लगाउने गरेका छौं। यसले पातामा रहेको फोहोर निकाल्न सहयोग गर्ने गरेको छ। सुनको जलप लगाएपछि केहीबेर सुकाएर बल्ल बौद्धनाथ स्तुपाको माथिल्लो भागमा प्रयोग गर्न योग्य हुन्छ,' उनले भने, 'हामीले १३ औं भागसम्मको लागि सुनको जलप लगाएको पाताहरु तयार गरिसकेका छौं।'
भूकम्पले क्षतिग्रस्त बौद्धनाथ स्तुपाको जिर्णोद्धार काममा बौद्धनाथ क्षेत्र विकास समितिले झण्डै ५० जनाको हाराहानीमा कामदारहरु खटाएको छ। कामदारहरुको बौद्धनाथ स्तुपाको भित्ताहरुमा गरो लगाउने र पलास्टर गर्ने लगायत काम गरिरहेका छन्। त्यसबाहेक स्थानीयहरुले भने उनीहरुको सहयोगीको रुपमा काम गरिरहेका छन्।
आत्तरखेलकी कक्की ग्याल्मो बौद्धनाथ स्तुपाको माथिल्लो भागबाट निस्किएको फोहोरहरु धुपार्न व्यस्त छिन्। 'बौद्धनाथ स्तुपाको जिर्णोद्धारको काममा सहभागि हुँदा आनन्द लागेको छ । धर्मपनि हुने दिनभर फुर्सदमा भएकाले सरसफाईपनि हुने हुँदा हरेक दिन यहाँको फोहोरहरु उठाएर फाल्न लागिपरेका छौं,'उनले भनिन्,'सुरुमा एक्लै आउने गरेपनि अहिले साथीहरु समेत भएकाले काम गर्न सहज भएको छ।'
एक अप्सराले चार छोराहरुलाई जमिन उपलब्ध गराए हात्ती, घोडा र गधालाई माटो, ढुङगा र इँटा लगायत सामाग्री बोकाएर सात वर्षमा तयार भएको बौद्धनाथ स्तुपाको माथिल्लो भागमा भने महिलाहरुलाई चड्न रोक लगाइएको छ।
बौद्धनाथ क्षेत्र विकास समितिले स्तुपाको जिर्णोद्धार अवधीभरको लागि बहुमूल्य पुरातात्विक सामाग्रीहरुसँगको गुम्बा राखेको छ।
'हामीहरुले गजुर र स्तुप बाहिरको भागलाई जिर्णोद्धार र फिनिसिङ गर्न जुटेका छौं,'जिर्णोद्धारमा सक्रिय कामदार रत्नमान प्रजापतिले भने,'बल्ल आँखासम्मको भाग तयार हुँदैछ। त्यसबाहेक वरपरको भागहरुको निर्माणमा समेत जुटेका छौं।'
तस्बिरहरूः प्रबिन काेइराला