फोटो फिचर

नेपालमा क्रिसमस पर्वको बढ्दो आकर्षण

काठमाडौँ-स्कुल कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले 'हेप्पी क्रिसमस डे' भन्दै शुभकामना साटासाट गरेको देखिन्छ ।

नेपालमा २०६२–६३ को आन्दोलन अघिसम्म चर्चमा सीमित रहने क्रिसमस मुलुक धर्म निरपेक्ष भएसँगै सार्वजनिक रुपमा विस्तार भएको हो । नेपालको अन्तरिम संविधान, २०६३ र हालै जारी भएको नयाँ संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेको छ । धर्म निरपेक्षतासँगै सबै धर्मालम्बीले सम्मानपूर्वक आ–आफ्ना धर्म मान्नुका साथै चाडवाड मान्न थालेका छन् ।



क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउन थालिएको छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिन थालेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा १.४२ प्रतिशत क्रिश्चियन धर्मालम्बी रहेका छन् ।

क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृति सद्भाव विस्तार गर्न मद्दत पुर्याउँछ । पर्वका बेला हुने चहलपहलले व्यापारमा समेत टेवा पुर्याउने गरेको ठमेलस्थित होटल मस्र्याङ्दीका वित्त प्रबन्धक गणेश रेग्मी बताउँछन्। उनी भन्छन् 'पर्व मनाउन आउने व्यक्तिले गर्ने खर्चबाट होटल व्यवसायको आम्दानीमा वृद्धि हुन्छ ।'



बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा 'क्रिसमस इभ' भन्दै सबै धर्मालम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । विश्वव्यापीकरणसँगै विविध संस्कृति विश्वभर फैलने क्रम तीव्र छ ।

क्रिसमसप्रति बढ्दो आकषर्णका बारेमा राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालका महासचिव सिबी गहतराज भन्छन् 'केही युवाले फेसनका रुपमा यो पर्व मनाएको देखिएपनि मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रिष्टियन धर्मालम्बी खुल्न थालेका हुन् ।'

क्रिसमस धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन विश्वभर क्रिसमस पर्व विविध कार्यक्रम आयोजना गरी धुमधामका साथ मनाइन्छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो ।

मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको धार्मिक किंवदन्ति छ । सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैँ क्रस चिन्हमा झुण्डिएको उहाँका अनुयायीको भनाइ छ ।

येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा ४०० वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय महासङ्घका अध्यक्ष डा. सुन्दर थापा बताउँछन् ।

यस पर्वमा येशू ख्रिष्टको जन्मदिनको अवसरमा देशभरका विभिन्न मण्डलीहरु र ख्रिष्टियन सङ्घ संस्थाले क्रिसमस पर्वलाई उत्सवको रुपमा मण्डलीभित्र वा सार्वजनिकस्थलमा हर्षोउल्लासका साथ मनाउने गरेको अध्यक्ष डा. थापा बताउछन् ।

मुलुकमा धर्म निरपेक्षताका सम्बन्धमा विभिन्न कोणबाट फरकफरक बहस जारी रहेपनि सम्पूर्ण धर्मालम्बीबीचमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम गर्न धर्म निरपेक्षताले मद्दत पुर्याउने आम मानिसको बुझाई छ । रासस

तस्विरः केशव थोकर/दिनेश गोले/नागरिक