चितवन–लोथर चितवनको विकट पहाडी गाविस हो। सो गाविसको तापाङ, स्यामराङ र वासवाङ झनै विकट गाउँहरु हुन्। समुन्द्र सतहदेखि एक हजार मिटर उचाइभन्दा माथिका यी गाउँहरुमा यो बेलामा चिसो अत्याधिक छ।
भूकम्पले नराम्ररी प्रभावित भएका यहाँ कष्ट थपिएको छ। नेपालका सीमान्तकृत अल्प संख्यक आदिवासी चेपाङ समुदाको मुख्य बसोबास यसै क्षेत्रमा छ। खोरिया फाँडेर गरिने खेती चेपाङ समुदायको खाने कुरा जुटाउने मुख्य आधार हो। खोरियाको उब्जनीले धेरै नपुग्ने हुँनाले गिठ्ठा भ्याकुर तरुल जस्ता कन्दमुल र सिस्नोको तरकारीको भर पर्नु पर्ने बाध्यता छ। कम उमेरमै बिहे गर्ने चेपाङ समुदायमा परिवार नियोजनको ज्ञान पनि छैन। त्यसैले धेरै बच्चा बच्ची जन्मेका हुन्छन्।
यो जाडोमा साना बालबालिकालाई न्यानो कपडा, प्रसस्त पोषिलो खाने कुरा, उचित रेखदेखको आवश्यकता पर्छ। तर लोथर क्षेत्रमा यस्ता कुराको कल्पना पनि गर्न सकिन् । जाडोमा लगाउने राम्रो लुगाको अभाव छ। छाक टार्न धौ हुने अभिभावकले कोदोको ढिडो नै केटाकेटीलाई खाना वा खाजाको रुपमा दिने गर्छन्।
झिसमिसेमै काममा जानु पर्ने भएपछि स्यामराङकी विमला चेपाङ आफ्ना तीन वर्षकी छोरी सलिना र डेढ वर्षको छोरा सविनलाई बल्दै गरेको अगेनामा छाडेर घरबाट निस्किन । उनीहरुका अगाडी कटौरामा थोरै साँझको कोदाको बासी ढिडो पनि थियो । सलिना र सविन त्यही ढिडोमा भुलिएका थिए ।
बा आमा काममा हिडेपछि भाइ बैनी बोक्ने भुलाउने जिम्मा साना साना केटाकेटीकै थियो । उनीहरु सकि नसकि साना भाइ बैनीको स्याहारमा थिए । पाखा पखेराका केटाकेटीले पोषण र मनोरञ्जन यसरी नै पाइरहेका छन् ।
सबै तस्बिर रमेशकुमार पाैडेल