रेष्टुरेन्ट छिर्दा देखिन्थ्यो अधिकांश कुर्सी–टेबल ग्राहकको प्रतिक्षामा खालिखालि थिए।
किचनमा कुकहरु दाउराको चुलोबाट पुत्ताएको घुँवा झेल्दै परिकार तयार पार्दै थिए।
'इन्धन अभाव त सबैको साझा समस्या हो, तर हाम्रोजस्तो व्यवसाय त चौपट नै हुनेभयो' रेष्टुरेन्टका धनी रमन श्रेष्ठले भने, 'समयमै परिकार तयार पारेर दिन सकिदैन, त्यसमाथि परिकारको स्वादमै फरक पर्ने रहेछ।' उनले अनुभव सुनाए। उनी मात्रै हैन राजधानीका अधिकांश रेष्टुरेन्टको अवस्था यस्तै छ।
इन्धन अभावका कारण झम्सिखेलको टामारिन्ड रेष्टुरेन्टमा बार्बीक्यु आइटम मात्रै तयार हुँदै आएको छ। रेष्टुरेन्टमा अहिले दाउरा, इन्डक्सन चुलो र कोइलाको प्रयोग गरिँदै आइएको छ।
दरबारमार्ग चोकमा रहेको मुस्ताङ थकाली रेष्टुरेन्टकी घनकुमारी थकाली एकमहिना अघिदेखि नै छ सय रुपैयाँ हालेर किनेको चुलोमै खानेकुरा तयार गर्दै आएकी छिन्। 'नाकाबन्दीले चुलो अड्किनुभन्दा त यसैमा पकाउन पाउँदा पनि राहत मिलेको छ।' थकालीले सुनाइन्। उनले रेष्टुरेन्टको छतमा दाउराकै चुल्होमा परिकारहरु तयार गरेर पछि हिटरमा तताउँदै ग्राहकलाई दिँदै आएकी छिन्। चाउमनि, थुक्पा अनि धेरैथरि आइटम बन्ने उनकोमा आजभोली मासु, चिउराले ग्राहयता पाएको छ।
ठमेलको बिग बेली रेष्टुरेन्टमा नाकाबन्दीसँगै हिटरमा र अलिकति मात्र बचेको ग्यासमा आलो पालो गर्दै खानेकुरा पाकिरहेको छ। सेफ धनबहादुर श्रेष्ठ रेष्टुरेन्टको चुल्हो चिसिदै गर्दा उनको माथा भने तातेको छ । 'हेर्नुस्, नाकाबन्दीले मजदुरी मार्यो, बिहान बेलुका काम गरेर हात मुख जोर्ने मजस्तालाई त साह्रै सकस भ'को छ।' श्रेष्ठले आफूभित्र गुम्सिएर रहेको पीडा पोख्दै भने 'जुन सरकार आए पनि कानै चिरेको, पैसा तिरेर पनि समान नपाउने यो के चाला हो ?' उनले दिनभरी काम गरेर हात मुख जोड्ने निम्नवर्गलाई इन्धन अभावले घाउमा नुन चुक छर्कने काम गरेको बताए।
इन्धन अभावसँगै ठूला भनिएका रेष्टुरेन्टहरुले आधाभन्दा धेरै मेनु घटाएर नाकाबन्दी मेनु बनाएका छन्। पहिला जति आइटम पाक्थ्यो अहिले त्यसको पच्चिस प्रतिशत मात्र पाक्छ। दश–बीस रुपैयाँ सबै आइटममा बढाएका छन्। अधिकांश रेष्टुरेन्टमा दाउराको प्रयोग गरिरहेका छन्। दाउरा बाल्ने ठाउँ नभएका रेष्टुराहरुले भने हिटर, इन्डक्सन चुलो, स्टोभ, ब्रिकेट र कोइलाको प्रयोग गरिरहेका छन्।
धेरै रेष्टुरेन्टमा 'नाकाबन्दी मेनु' मात्र पाक्छ। धेरै आगो लाग्ने खानाहरु पाक्दैन। कार्यालय क्षेत्रका खाजा घरहरुमा नियमित ग्राहक हुने भएकाले ति खाजा घरहरु भन्दा अरुमा खासै चहलपहल नै छैन। कामदारलाई खाना डढ्ला कि ? मिठो होला नहोला कि भन्ने चिन्ता छ भने ग्राहकहरुलाई कतिखेर पाकी आउला र खाउँला भन्ने छ।
काठमाडौंको ठमेल, नयाँ बानेश्वर, दरबारमार्ग, ललितपुरको झम्सिखेलका स्वदेशी र विदेशी परिकार पाइने रेष्टुरेन्टमा यतिबेला वैकल्पिक चुल्होमा खाना पाकिरहेका छन्। अरुबेला खचाखच ग्राहक र थरीथरीका परिकार पाक्ने रेष्टुरेन्टहरु सेलाएका छन्।
नाकाबन्दी पछि काठमाडौंका रेष्टुरेन्टहरुमा कसरी पाकिरहेका छन् परिकार? तस्विरमा हेरौंः
सबै तस्विरः क्रान्ति पाण्डे