काठमाडाैं- नेपालमाथि नाकाबन्दी लादेर भारतले पारवाहन हक उल्लंघन गरेको अवस्थामा बुधबार काठमाडौंमा फरक किसिमको विरोध कार्यक्रम भयो। जो चोर उसैको ठूलो स्वर भनेझैँ भारतले अाफैँ पेट्रोलियम पदार्थको अापूर्ति रोकेका बेला नेपाल अायल निगमसँग काठमाडौं स्थित भारतीय दूवातावसले तेल मागेपछि ट्विटरमा त्यसको चर्को विरोध सुरु भयो।
दूतावासले तेल अभाव भएकाे भनेर तेल मागेपछि ‘ए हो? हामी दिन्छाैं तिमीलाइ तेल’ भन्दै ट्विटर प्रयोगकर्ताले व्यंग्य र अालोचना थाले। ट्विटर प्रयोगकर्ता युवा जमात् ‘इँटाको जवाफ फूलले’ दिन तयार भयो। ट्विटरबाट उनीहरु बुधबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि तेल लिएर प्रदर्शनमै उत्रिए। नेपाली ट्विटर प्रयोगकर्ताहरु भारतीय दूतावासलाई पेट्रोल दान गर्न लैनचौरमा भेला भइरहँदा बुधबार दिनभर ट्विटरमा ह्यासट्याग #DonateOilToIndianEmbassy ट्रेन्डिङ भइरह्यो।
पानी खाने मिनरल वाटरका बोतलमा पेट्रोल लिएर दूतावास अगाडि पुगेका युवाले व्यंग्यात्म शैलीमा ‘भारत हामी तिमीलाइ तेल दिन तयार छाैं’ भने। ‘तेल चाहिन्छ लैजाउ, स्वाभिमान दिदैनाैं‘ भन्दै युवाहरूले नाराबाजी गरे। 'ब्याकअफ इन्डिया', 'गोर्खाली हामी उदार छाैं’ जस्ता सन्देश लेखिएका पम्पलेट बोकेर युवाहरू दूतावास अगाडि सडकमै धर्ना बसेका थिए।
युवाहरुले संकेतिक विरोधस्वरूप भारतीय दूताबासलाइ तेल दिन जोड गरेका भएपनि लिन अस्वीकार गरेपछि विभिन्न सन्देश लेखिएका प्लेकार्ड दूतावासलाई बुझाइएको थियो।