काठमाडाैं-भारतीय सीमा नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन रोकिएपछि त्यसको असर मुलकभर देखिएको छ। पेट्रोल र डिजलको अभावमा राजधानी काठमाडाैंको जनजीवन नराम्ररी प्रभावित बनेको छ। सडकमा निकै कम सवारीसाधन चलेका छन्। गन्तव्यमा पुग्न सार्वजनिक सवारी साधन कुरेका पैदल यात्रीको भीड कुनै जुलुस वा सभाका लागि जुटेका जस्तो देखिन्छ। बिहान कार्यालय र काममा निस्कने र बेलुका घर फर्कनेहरू फुटपाथमा पैदल हिड्दा र्याली जस्तै देखिन्छ।
राजधानीको कोटेश्वर चोकमा गाडी पर्खेर बसेको भीड बढ्दै गएपछि त्यहाँ एकाएक नाराजुलुस सुरू भयो। भीडमा नारा गुञ्जियो– ‘भारतीय हस्तक्षेप मुर्दाबाद’, ’नेपाल सरकार विकलप दे’ ‘सार्वजनिक सवारी नियमित गर’।
केही यात्रु गाडी कुरेर कोटेश्वरमै अडिए, केही नारा लगाउँदै तीनकुनेतर्फ अघि बढे। सडक किनारामा सार्वजनिक गाडी कुर्नेहरूको ठूलो जमात देखिन्थ्यो। थोरै चलेका सार्बजनिक बस, टेम्पो र माइक्रोमा यात्रु कोचाकोच छन्। यात्रुले नीजि सवारी रोकाएर गन्तव्यसम्म पुग्नका लागि सहायता माग्ने गरेका दृश्य देखिन्थे।
अघिपछि स्कुल बसमा जाने विद्यार्थी पैदल हिडेका देखिए। विद्यालयले तेल नभएको कारण दर्शाउँदै गाडी लिन र छोड्न नअाउने भनेपछि विद्यार्थी र अभिभावकलाई अर्को समस्या थपिएको छ। टाढाको स्कुल हुने विद्यार्थी विहानै घरबाट निस्केका छन् भने कतिपय स्कुल नगएर बस्नुपर्ने बाध्यतामा छन्।
नाकाबन्दीको सबैभन्दा चर्को प्रभाव पेट्रोल पम्पहरूमा देखिन्छ। दिनरात नभनेर डिजेल र पेट्रोलको लाइनमा बस्नेहरूले पेट्रोलियम अभावको नमज्जा भोगेका छन्।
बस पार्क र माइक्रो स्ट्यान्डमा यात्रु खचाखच देखिन्छन् तर सवारी साधन छैनन्। भएका सवारीमा चढ्न मानिसहरुको रस्साकस्सी थामि नसक्नु छ। तेल नभएर सडक किनारामै गाडीहरू थन्किएर राखेका दृश्य देखिन्छ।
चाडपर्वको चहलपहल देखिनु पर्ने बेला नाकाबन्दीको सास्तीमा परेपछि धेरैलाई उकुसमुकुस भएको छ। सरकारले जोर गतेमा जोर नम्बरका र बिजोर गतेमा बिजोर नम्बरका सवारीमात्रै चलाउन पाइने नियम बनाएपनि समस्या घटेको देखिदैन।
पेट्रोलियम पदार्थको विकल्प
अहिले नेपालमा देखिएको पेट्रोलियम पदार्थको हाहाकारको मुख्य कारण हाम्रो यातायात क्षेत्र पूर्णतया पेट्रोलियम पदार्थमा मात्रै निर्भर हुनु हो। जानकारहरूको भनाइ छ– पेट्रोल र डिजेलको विकल्पमा विद्युतीय वा साैर्य उर्जा प्रयोग गर्न जोड पुगेन।
पूर्ण रूपमा परनिर्भर रहेर पेट्रोलियम पदार्थमात्रै एक्लो विकल्प देख्नु सरकार, यो क्षेत्रका नीति निर्माता र अगुवाहरूको कमजोर दृष्टी हो। राष्ट्रीय हैसियत सुहाउँदो नीति यातायात क्षेत्रमा नहुँदा यस्तो दिन भोग्नु परेको जानकारहरूको तर्क छ। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई मात्रै ख्याल गरेर सडक व्यवस्था गरिएको छ। पैदल यात्री र साइकल चालकहरूलाई निरूत्साहित गर्ने सडक संरचना समस्याको अर्को जड कारण हो।
उपत्यकामा नीजि सवारीसाधनको प्रयोग अनियन्त्रित रूपमा बढेको छ। सार्वजनिक यातायात क्षेत्र कमजोर हुँदै गएको छ। सार्वजनिक सवारी साधानको प्रयोगमा जोड दिने नीति र अभियान कमजोर देखिन्छ। ट्रली बस, विद्युतीय बस र टेम्पो जस्ता पेट्रोलियम पदार्थको विकल्पमा अाएका सार्वजनिक सवारीको प्रयोग बढाउनेमा सरकारको ध्यान छैन।
मंगलबार राजधानीमा ‘विद्युतीय पारिवाहन हाम्रो स्वाभिमान’ भन्दै सडकमा र्याली गरिएको छ। साइकल, विद्युतीय सवारी सफा ट्याम्पो, स्कुटर र्यालीमा प्रदर्शन गरेका थिए।
हेराैं र्यालीको फोटो र भिडियोः