काठमाडौं–साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधि जित्दै नेपालले उमेर समूहमा महत्वपूर्ण फड्को मारेको छ ।
दक्षिण एसियामा सबै खाले फुटबल (उमेर समूह र राष्ट्रिय टोली) मा बलियो मानिएको भारतलाई शनिबार टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
दुई पटकको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको नेपालले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको यो पहिलो पटक हो ।
२२ बर्ष यता राष्ट्रिय टोलीले दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जित्न सकेको छैन। पछिल्लो पटक बंगलादेशमा सन् १९९३ मा भएको छैटौं साफमा नेपालको सिनियर टोली च्याम्पियन बनेको थियो । संयोग नै मान्नुपर्छ त्यति बेला र अहिले यू–१९ दुवैको फाइनल प्रतिद्वन्द्वी भारत नै थियो र दुवै खेल नेपालले टाइब्रेकरमा पुगेर जितेको थियो । २२ बर्ष अघि २–२ को बराबरीपछि र यसपटक १–१ को बराबरीपछि पेनाल्टी सुट आउटमा नेपालले बाजी मारेको थियो ।
३१ औं मिनेटमा तेज तामाङको गोलबाट सुरुआती अग्रता लिएपनि अन्तिम सयममा सम्हालिन नसक्दा नेपालले नतिजाका लागि टाइब्रेकर सम्म कुर्नुपरेको थियो । दीनेश राजवंशीले पेनाल्टी बक्समा बल 'ह्यान्ड' गरेपछि भारतले पेनाल्टी पाएको थियो । ८७ औं मिनेटमा सहबाजले पेनाल्टीमा बराबरी गोल गरे। पेनाल्टी सुट आउटका नायक रहे नेपाली टोलीका गोलरक्षक सोजित गुरुङ। उनले मोइनुद्दिनको पहिलो पेनाल्टी रोक्दै नेपाललाई जित उन्मुख बनाएका थिए। यता नेपालका लागि सबै पाँच जनाले गोल गरे । सोजितले जोगाएको पेनाल्टीकै कारण नेपाल क्षेत्रीय च्याम्पियन बन्न सफल भयो ।
पछिल्लो पटक नेपालले स्वर्ण पदक जित्दा टोलीको महत्वपूर्ण सदस्य रहेका बालगोपाल महर्जन यसपटक यू–१९ को मुख्य प्रशिक्षक थिए । टोलीको जितपछि उनले २२ वर्षअघिको सफलतालाई स्मरण गरे । 'त्यति बेला खेलाडी थिए । अहिले प्रशिक्षक छु । एउटा खेलाडी र प्रशिक्षकका रुपमा सफलता प्राप्त गर्दा त्यसको खुसी बयान गर्न सकिन्न,' समर्थकमाझ घेरिएका महर्जनले सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरको एस्ट्रोटर्फमा उभिएर भने,'यो खुसीका लागि हामीले निकै लामो प्रतिक्षा गर्नुपर्यो । यो जितको श्रेय खेलाडी, मेरो प्रशिक्षण टोली, व्यवस्थापन र दर्शकलाई जान्छ । सबैले हामीप्रति देखाएको विश्वासमा हामी खरो उत्रन सक्यौं।'
महर्जनले प्रयास गर्दा सफलता सम्भव भएको यो च्याम्प्यिनसिपले प्रमाणित गरेको बताए। 'मैले पछिल्लो झन्डै ४ बर्षदेखि यो टोली सम्हालिरहेको छु। लगातारको अभ्यास मेहनत र निरन्तरताकै कारण आज सफलता प्राप्त भएको हो,' उनले थपे,' यसपटक हामीले अलगअलग चार टोलीलाई हराएर उपाधि जितेका छौं। यो सानो सफलता होइन।' समूह चरणमा भुटान र बंगलादेशलाई हराएको नेपालले सेमिफाइनल सेमिफाइनललाई पन्छाएको थियो। केही साताअघि यू–१६ को सेमिफाइनलमा भारतसँग पराजित भएको नेपालले घरेलु मैदानको यू–१९ उपाधि भिडन्तमा भने खेर जान दिएन्।
फोटो फिचरः
सबै तस्विरः विजय गजमेर