फोटो फिचर

इतिहास रचेको दिन

हिजो लोकतन्त्र दिवस। लगभग एक दशकको लोकतन्त्र। तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि सुरु भएको आन्दोलनले अन्ततः देशबाट राजतन्त्र नै फालिदियो। माओवादीको समर्थनसहित आठ दलले गरेको आन्दोलनले देशमा चलिरहेको माओवादी जनयुद्धलाई बिट मारिदियो। उनीहरू शान्ति प्रक्रियामा आए। २०४६ सालको आन्दोलनले देशमा प्रजातन्त्र ल्यायो भने ०६२/०६३ को आन्दोलनले गणतन्त्र भित्र्यायो।

२४० वर्षदेखि जरा गाडेर बसेको राजतन्त्रलाई यही आन्दोलनले उखेलेर फालिदियो। देशलाई गणतन्त्रमा लैजान माओवादीले मात्र होइन कांग्रेस र एमालेको पनि त्यत्तिकै योगदान गरेका छन्। अझ भन्ने हो भने ०६२/०६३ को आन्दोलन गणतन्त्रका लागि जनताको अभिमत पनि हो। तर नेताहरूले जनताको अभिमतलाई संस्थागत गर्न सकेनन्।

दस वर्ष भनेको थोरै समय होइन। यो एक दशकमा दुईपटक संविधानसभाको चुनाव भयो। अझै जनताले संविधान पाउन सकेका छैनन्। बितेका वर्षहरूमा राजनीतिक दलहरू सत्तामै केन्द्रित भए, अहिलेसम्म सात जना त प्रधानमन्त्री नै बनाइसके। तैपनि केही दिनअगाडि एमाओवादीले गरेको निर्णयले बन्ला कि भन्ने अलिकति आशा देखाएको छ।

यी तस्बिरहरू १९ दिने दोस्रो जनआन्दोलनका बेला लिइएका हुन्। निरंकुशतालाई कुल्चेर लोकतान्त्रिक स्वतन्त्रताको फूल फुलाउन जनताले कसरी रगत बगाएका थिए! यो दृश्यले एकपटक राजनीतिक दलका नेताहरूलाई झस्काइदिन्छ कि!

लोकतन्त्रको शुभकामना।