फोटो फिचर

धुमधाम तमु ल्होछार

काठमाडौ-घोडा वर्षलाई बिदाइ तथा भेंडा वर्षको स्वागतका रुपमा मंगलबार गुरुङ समुदायले तमु ल्होछार पर्व हर्षोलाससाथ मनाएका छन्।

मुलुकका विभिन्न भागबाट काठमाडौंमा बसोबास गर्दा आएका गुरुङ समुदाय मंगलबार टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सहभागी भए। ल्होछार मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रममा परम्परागत भेेषभुषमा सजिएका गुरुङ समुदायको बाक्लो जमघट रह्यो। निलो चौबन्दी चोलो, रातो धलेक र हरियो लुङ्गीमा सजिएर आएकी आशा गुरुङले टुँडिखेलमा पर्व मनाउन पाउँदा रमाइलो लागेको सुनाइन्।


अर्घाखाँचीको धोखन्दामा आफन्तमाझ ल्होछार मनाउँदै आएकी उनले राजधानीमा मुलुकभरका गुरुङ समुदायसँगै रमाएकी थिइन्। ‘नयाँ चिनजानको अवसर पनि हो यो,' उनले भनिन्।

 
उनीजस्तै देशका विभिन्न भागबाट आएका गुरुङ समुदायको बाक्लो जमघट रहयो। परम्परागत गुरुङ पहिरनमा सजिएर आएका महिला, पुरुष तथा बालबालिकाले नाचगान गर्दै टुँडिखेलको रौनक बढाए। ल्होछार हेर्न अन्य समुदायका युवायुवतीको पनि बाक्लो भीड थियो। टुँडिखेलमा कार्यक्रम सुरु हुनुअगाडि गुरुङ समुदायको जीवनशैली झल्काउने झाँकी निस्केको थियो।

हरेक वर्ष ल्होछारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ। तमु समुदायको मौलिक पहिरनमा सजिएका प्रधानमन्त्री सुशील कोइरालाले कार्यक्रम उद्घाटन गर्दै शुभकामना दिए। हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलको प्रतीकका रुपमा लिइन्छ।


नयाँ वर्षका रुपमा ल्होछार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङवा, लेप्चा लगायत जातिले मनाउँछन्। घोडा वर्षलाई बिदाइ तथा भेंडा वर्षको स्वागतका रुपमा मंगलबार गुरुङ समुदायले ल्होछार मनाएका हुन्। तमु ल्होछारका अवसरमा सरकारले यो दिन सार्वजनिक बिदा दिएको छ।


कार्यक्रममा गुरुङ समुदायसँगै अन्य समुदायका मानिस पनि सहभागी थिए। गुरुङ पहिरनमा सजिएर आएकी मैतीदेवीकी अस्मिता पौडेलले चाडपर्वमा सहभागी हुँदा रमाइलो अनुभव हुने सुनाइन्। ‘मेरो मिल्ने साथी रन्जु गुरुङको पर्व हो यो,' उनले भनिन्, ‘उनीसँंगै मिलेर मैले पनि मनाएँ।'

तस्बिरहरु : विजय राई, दिपेश श्रेष्ठ, उपेन्द्र लामिछाने।