फोटो फिचर

स्वर्गकै टुक्रा बडिमालिका

सुदूरपश्चिममा सात बहिनी देवी भनेर डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बाजुराको बडिमालिका, बैतडीका निंगलाशैनी, त्रिपुरा सुन्दरी, डिलाशैनी र मेलौली भगवती पुजिन्छन्।
सबैभन्दा जेठी बडिमालिका। शक्ति पीठ। बडादसैंमा देवीका मन्दिरमा मेला लाग्छ। मालिकामा भने त्यति बेला तीर्थालु पुग्दैनन्। सायद बस्तीबाहिरको चिसो डाँडामा देवी बसेकाले होला।

मालिकाभन्दा मुन्तिर नाट्यश्वरीमा भने सयौंको बलि चढ्छ। बडिमालिकामा जनैपूर्णिमा मेला धुमधामसँग लाग्छ। त्यति बेला तीन दिन त्यहाँ पुजारी बस्छन्। कैलाशमाण्डु गाविस, बाजुरास्थित नाट्यश्वरी निमाविका शिक्षक गोपीराज पाध्याय भन्छन्, ‘जनैपूर्णिमामा भारतको कुमाउ गढवालदेखिका आउँछन्। हजारौं तीर्थालु हुन्छन्।' 
बडिमालिका दर्शन गरे मनले चिताएको पूरा हुन्छ। रोगव्याध नाश हुन्छ र पदोन्नति हुने विश्वास छ। शुद्ध मनले दर्शन गरे मनोकांक्षा पूरा हुन्छ। त्यसैले सुस्वास्थ्य, धनलाभ र सुयोग्य वरबधुको कामना गर्दै पूजा गरिन्छ।


मालिकाको पूर्वमा अवस्थित त्रिवेणीमा दुइटा खोला छन्, गंगा र जमुना। जहाँ नुहाउँदा रोग र पाप पखालिन्छ। अस्तु विसर्जन गर्दा पितृ स्वर्गमा पुग्छन् भन्ने विश्वास छ। 
धार्मिक ग्रन्थ, स्वस्थानी व्रतकथाअनुसार दक्ष प्रजापतिको यज्ञमा सतिदेवीले आत्मदाह गरिन्। महादेवले उनको शव बोकेर हिँड्ने क्रममा मलयागिरि पर्वतमा आइपुगेपछि पार्वतीको कुम पतन भयो। त्यही देवी उत्पन्न भई बडिमालिकाका रूपमा रहिन्।

 
उचाइमा भएकाले बडिमालिका (४,२१९ मिटर) मा वर्षैभरि जाडो हुन्छ। चिसोमा मालिका, नवदुर्गा, कालिका, ढलपुरा, शिव, कुमारलगायत देवदेवीको बास छ। तिनका मूर्ति छन्। घन्ट र त्रिशूल पनि। तत्कालीन शाही पाश्ववर्ती भरतकेशर सिंहले चढाएको घन्टको तौल १३० केजी छ। नाट्यश्वरीमा योगी नरहरिनाथले ०५७ सालमा कोटी होम लगाएका थिए। त्यहाँ यज्ञमण्डप, नाट्यश्वरी, कालिका, शिव र ढलपुराका मूर्ति छन्। त्यहाँ बडादसैं र चैतेदसैंमा बलि चढाइन्छ।


सांस्कृतिक रूपले मात्र होइन, प्राकृतिक सौन्दर्यका दृष्टिले पनि बडिमालिका मनमोहक छ। सुकुमारी छ। त्यहाँबाट अपिशैपाल हिमशुंखलाको लामो रेन्ज देखिन्छ। घमाइलो दिन चाँदीझैं टलक्क टल्केका हिमचुली देख्दा मन पागल बन्छ। हेरेर आँखा थाक्दै थाक्दैनन्। जति हेर्योब उति हेरिरहूँ लाग्छ। स्वर्गकै टुक्रा रहेछ बडिमालिका। यति रमाइलो ठाउँ पर्यटन गन्तव्य बनिसकेको छैन। नेपाली र विदेशी रमाउन सक्ने राम्रो पर्यटनधाम बन्न सक्छ, मालिका धुरी।


सौन्दर्य छ, तर प्रचार छैन। पर्यटकलाई चाहिने आधारभूत पूर्वाधार विकास भइसकेको छैन। बडिमालिकामा भवनको नाउँमा एउटा धर्मशाला मात्रै छ। त्यसमा सय जना बस्न सक्छन्। 
धनगढीको पर्यटन विकास समाज (टिडिएस) ले पर्यटन प्रवर्द्धन गर्न डोटी, बझाङ, बाजुरा र अछाम सीमाको खप्तडदेखि बडिमालिका (बाजुरा) हुँदै अछामको रामारोशन जोड्ने पदमार्ग एक्सप्लोर गरेको छ। उसले पदमार्गको वृत्तचित्र बनाइसक्यो। नक्सा र पोस्टरलगायतका प्रचारात्मक सामग्री बनाउँदै छ।


पदमार्ग एक्सप्लोर अभियानमा सँगै हिँडेका धनगढीका सुमित कार्की प्राकृतिक र सांस्कृतिक विविधताको सौन्दर्यले लठ्ठै परे। साइकलबाट नेपाल र भारतका धेरै पर्यटकीयस्थल घुमिसकेका उनी भन्दै थिए, ‘धार्मिक हिसाबले मात्रै होइन, प्राकृतिक हिसाबले पनि निकै धनी रहेछन् खप्तड, बडिमालिका र रामारोशन।'
बडिमालिका घुम्ने सिजन असोजदेखि मंसिर र चैतदेखि भदौसम्म। जाडोमा हिउँले ढपक्कै ढाकिन्छ डाँडा। पदमार्गमा झारल, कस्तुरी, चितुवा र बाघसँग जम्का भेट हुन सक्छ। रङबिरङका हिमाली चराले स्वागत गर्छन्।


खप्तड, बडिमालिका र रामारोशन छुट्टाछुट्टै पदयात्रा गर्न पनि सकिन्छ। आध्यात्मिक थलो खप्तड हुँदै पदयात्रा गर्ने हो भने चार दिनमा बडिमालिका पुगिन्छ। बडिमालिका पुग्दा हामी सबै गद्गद् भयौं। टिडिएसका आशिष चौधरी र हिमालयन म्याप हाउसका प्राविधिक निरञ्जन महर्जन सबै जनाले बडिमालिका पुगेको दिनलाई स्वर्णिम क्षण मान्यौं। 
कालिकोट, जुम्ला, अछाम र बाजुराको सीमामा बडिमालिका। चारै जिल्लाको गौरव भएकाले सरोकारवाला पर्यटन प्रवर्द्धनमा जुट्नुपर्छ। पदमार्ग स्तरोन्नति, खानेपानी सुविधा, संकेत बोर्डको व्यवस्था, ठाउँठाउँमा धर्मशाला जरुरी छ।

Badiimalika7
खप्तड र बडिमालिकामा ठूल्ठुला पाटन (चौर) छन्, रामारोशनमा ठूला ताल। जता पुग्यो उतै रमाइलो। मनको शान्ति खोज्नेलाई यो नयाँ पदमार्ग उपयुक्त छ। 
सजिलो छैन यात्रा, बस्तीबाहिरको गन्तव्यमा। बाजुराको मौरेतिरबाट जाँदा नाट्यश्वरीभन्दा माथि क्याम्पिङ गर्नुको विकल्प छैन। त्यसैले बन्दोबस्तीका सामान बोकेर जानुपर्छ।
भर्खरै एक्सप्लोर गरिएको ‘फारवेस्ट हेरिटेज ट्रेल'को प्रचार र पूर्वाधार विकासपछि यो क्षेत्रमा पर्यटन चहलपहल बढ्नेमा आशावादी हुन सकिन्छ। खप्तड राष्ट्रिय निकुञ्ज हो। बडिमालिका र रामारोशन क्षेत्रलाई समेत निकुञ्ज बनाउन सके जैविक विविधता संरक्षणसँगै पर्यटन विकास गर्न सजिलो हुन्थ्यो कि! 

 

कसरी पुग्ने : धनगढीबाट बाजुराको कैलाशमाण्डु गाविसको मौरेसम्म बस यात्रा। धनगढीबाट साँझ चार बजे छुटेको गाडी भोलिपल्ट बिहान छ बजे मौरे पुग्छ। मौरेबाट कस्सिएर हिँडे पहिलो बास नाट्यश्वरीमा, दोस्रो दिन बडिमालिका।