फोटो फिचर

मनमोहक खयर बाराही

नीलो आकास मुनि सुन्दर ताल। शिख गाविस, म्याग्दीको खयर बराहीमा हिमालसँग लुकामारी खेल्न पाइन्छ। तालमा हिमालको छायाँ झलमल्ल देखिन्छ।
अन्नपूर्ण हिमालको फेदिमा छ हिमताल खयर बराही। खोप्रा लेक (३६६० मिटर)मा धेरै पर्यटक पुग्छन्। खयर बराही ताल जान खोप्राबाट थप एक हजार मिटर उचाइको यात्रा तय गर्नु पर्छ। त्यहाँ होटल सुविधा पनि छैन।

जनै पूर्णिमामा ताल र ताल परिसरको मन्दिरमा मेला लाग्छ। त्यस बखत स्थानियले चौरी गोठ, भेडिगोठ र पुराना सत्तलमा पर्यटकलाई बास दिन्छन्। 
खयरबराही (४६०० मिटर)बाट चारैतिर हिम शृङखला देख्न सकिन्छ। बिषेशतः अन्नपूर्ण, धौलागीरी, माछापुच्छे्रे, मनास्लु हिमसृङखला। तालमा दन्तलहरझै देखिने हिमालको छायाँले पनि मन लोभ्याउँछ।


बिहानी समय आकाश सफा हुन्छ। घाँसे मैदानको पृष्ठभूमिका हिमाल हेरिरहुँ झैं लाग्छ। मध्यान्ह पछि प्रायः हिमाल घुम्टोभित्र लुक्छन्। बादलसँग लुकामारी खेल्छन्। 
सफा र शान्त ताल करिब पाँच हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। छेवैमा मन्दिर। मन्दिरको मुलद्धार अगि चढाइएका घन्ट व्यवस्थित गरिएको छ। 
मन्दिरमा एउटी महिला भन्दै थिइन्, ‘म तेहौं पटक यहाँ आएकि हुँ। मागेको बर पुरा हुन्छ त्यसैले।'


म यति उचाइमा पहिलोपटक आइपुगेको। ताल र मन्दिरमा नरिवल र साँडेले पुजा गर्ने परम्परा छ। प्रसादका लागि भेटि चढाई धजा लिने चलन पनि नौलो लाग्यो। 
किंवदन्ति अनुसार बराही भाईका नौ बहिनी मध्ये जेठी खयर बराही हुन भने फेवाताल बीचकी बाराही माइली। उच्च धार्मिक आस्था र स्वर्गीय आनन्द अनुभव हुने ठाउँ भए पनि त्यहाँ सोचे जति पर्यटक पुगेका छैनन्। राम्रो प्रचार अभावमा ओझेलमै छ खयर बराह।


मन्दिरबाट चारैतिर आँखा डुलाउँदा हिम दृष्य, हरियाली पाखा, रंग विरंगका फुल, भेडाका बथान र स्वच्छन्द पंक्षि देखिन्छन्। 
खोप्रा लेक पनि मनमोहक छ। अन्नपूर्ण धौलागिरि सामुदायीक पदमार्ग र अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएको खोप्रा लेकले थुप्रै पर्यटक मोहित तुल्याइसकेको छ। खोप्रा लेकबाट बिहान खर्कमा चरी रहेका चौंरी गाई, केहि तल लस्करै उभिएका गुराँसे जंगल र पहाडी भुगोललाई सहजै नियाल्न सकिन्छ। खोप्राबाट पनि हिम छटा आमने सामने देखिन्छन्। 
खोप्रा भन्दा तल खोचबाट जहाज र हेलिकोप्टर जोमसोम ओहोर दोहोर गरेका दृश्य लोभलाग्दो हुन्छ। खोप्रासम्म पुग्न नाकै ठोसिने उकालो छ। तल हेर्दा रिंगटा लाग्ने अक्करे भिर भए पनि प्राकृतिक सौन्दर्यले उकालो थकाई बाटोमै मेटिन्छ।


खोप्रामा राम्चेको हिमाञ्चल उच्च मावि र शिखको पाउद्धार मावि चलाउन आर्थिक संकलन गर्ने २४ बेड क्षमताको सामुदायिक लज चलाइएको छ। 
खोप्रा लेकको रिपीटर टावरबाट सामाजिक कार्यकर्ता महाबिर पुनले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङका दुर्गम बस्तीमा तार रहित इन्टरनेटको सञ्जाल फिँजाएका छन्। 
दुर्गम ठाउँमा पनि सूचना प्रबिधिमा रमाउन पाइन्छ। लजमा खान, बस्न सुविधा छ। साउन महिनामा यहि क्षेत्रमा चौंरी गाइको आलो रगत खाने मेला लाग्छ। 
खोप्रा र खयर बराहीको पर्यटन विकासका लागि शिख पाउद्धार गाउँका बासिन्दा क्रियाशिल छन्। पाउद्धारमा कसैको स्वर्गारोहण भएमा खोप्रा जाने पदमार्ग बनाउने चलन छ। अहिलेसम्म तीस जना मृतकका स्मृतिमा तिनका आफन्तले तीन किलोमिटर पदमार्ग बनाइसकेका छन्।


दश बर्षे गुरुयोजना तयारी गरि दातासंग सहयोग जुटाएर पदमार्ग बनाउने काम भैरहेको छ। भिरको बाटो भएकाले दुर्घटना जोखिम न्युनीकरणका लागि ढुंगा सहितको सिंढी राखिँदैछ। ठाउँ ठाउँमा चौतारी चिनिएको छ।