जाऔं चुम उपत्यका
हामी धेरैलाई नेपालमा चुम उपत्यका भन्ने ठाँउ पनि छ भन्ने कुरा थाहै छैन होला। हामी काठमाडौँबाट उत्तरमा दिनहुँ गणेश हिमाल देख्छौँ। तर त्यस हिमाल पारी पनि नेपाल छ भन्ने कुरा विरलै थाहा होला। हो, त्यही हिमाल पारी नेपालीहरु बसोबास् गर्ने एउटा चुम उपत्यका छ जुन गोर्खा जिल्लाको उत्तरी सिमामा पर्छ र तिन तिरबाट तिव्वतले घेरिएको छ।
चुम उपत्यका पुग्न मनाश्लु हिमाल पर्यटकिय मार्गबाटै शुरु गर्नुपर्छ। हाम्रो चुमको भ्रमण कुल १५ दिनको रह्यो। गोर्खा-धादिङको सिमानामा रहेको अारुघाट बजारबाट शुरु गरेका हामीले केही दिन द्रुत गतिमा बगेकी बुढी गण्डकी नदीको तिरैतिर हिँडय़ौँ। हाम्रो कुल खर्च भने कुनै पनि विदेश भ्रमण गर्दा लाग्ने हवाई टिकट खर्च जति पनि परेन। समुद्री सतहबाट १३ सय मिटर माथीको सतहबाट शुरु गरेका हामी हिँउ नै हिँउले भरिएको ३७०० मिटर सम्मको उचाँईमा पुग्यौँ। चुमका बासी जसलाई 'चुम्बा' भनिदो रहेछ, हामी दुई नेपाली पर्यटक देखेर छक्क परेका थिए। हामी घुम्न अाएको भन्ने कुरा नपत्याउदैँ 'होईन होला', ‘प्रोजेक्टबाट अाउनु भा होला' वा 'पत्रकार हुनुहुन्छ होला?' वा 'विदेशीको ग्रुप लिएर अाउनु भा होला' भन्थे। यी सबै होईन भन्दा केहि नलागेर 'अमेरिका बस्नु हुन्छ होला - घुम्न अा होला' भनि अाफ्नै मन बुझाउँथे।
हाम्रो लागि यो भ्रमण अध्यात्मिक अनुभवले भरिपुर्ण रह्यो। चुममा बस्दा हामीले चुम्बाहरुका कला, संस्कृति र परिवर्तन नजिकबाट हेर्न पायौँ। चुमको एउटा अचम्मको विशेष संस्कारबारे थाहा पाउँदा मेरो मनमा त्यस विकट क्षेत्रप्रति श्रद्धा जागेर अायो। यहाँ झण्डै १०० बर्षदेखि कुनै पनि जनावारलाई मार्न मनाही रहेछ। मासु नै खानु परे पनि जनावार मरेपछि मात्र खाने व्यवस्था रहेछ। अनि अर्को कुरा यहाँ यार्सागुम्बाको व्यापारले पनि अाम जीवनमा अामुल परिवर्तन ल्याएको रहेछ। अहिले चुम्बाहरु पर्यटनदेखि धेरै अाकर्शित भएका पायौँ र यार्सागुम्बाले ल्याएको अाम्दानी पनि यता तिरै खन्याएका पनि देख्यौं। त्यहाँ कतिपय गाँउमा त हामी भर्खर बनीसक्दै गरेका होटेल-लजमा बस्ने मौका पायौँ। एक बोरा सिमेन्टको ३,१५० रुपैयाँ पर्ने ठाँउमा पनि पर्यटनले गर्दा स्थानियहरुले धमाधम पर्यटकलाई बस्न लायक व्यवास्थाहरुमा लगानी गरेका देखियो। खुशी लाग्यो! चुम उपत्यका र जाने मार्गहरुमा भैरहेको तिव्र पर्यटकिय विकास हेर्दा मनले छर्लङ्ग बुझ्यो कि पर्यटनले कसरी नेपालको समतामुलक विकासलाई फड्को मार्न मद्दत गर्दो रहेछ भनेर।
चुम्बाहरुका प्रमुख व्यापार तिव्वतसँग हुँदो रहेछ। अाफ्ना याक र घोडाहरु लिएर उनीहरु सजिलै ५००० मिटरको पास कटी एक दिनमै तिव्वत पुग्दा रहेछन् अनि किनबेच गरि भोलीपल्ट फर्कन्छन्। तर नजिकैका नेपालका सहर धादिंगवेसी वा गोर्खा बजार अाउनु पर्यो भने एक हफ्तासम्म लाग्छ।
यस् हिडाँइले हामीलाई नेपालको विविधताको बारेमा अझ श्रद्धा जाग्यो। हामीभित्र विवेकशील परिवर्तन ल्याउनको लागि एउटा उत्तम उपाय भनेको शायद हरेक बर्ष अाफ्नै देशका विकट क्षेत्रमा भ्रमण गर्ने संस्कार हुन सक्छ।
'नेपाल सुन्दर छ। यसको सुन्दरता अनुभव गर्न हामी अाफैलाई परिवर्तन गर्नु जरुरी छ।'
उज्वल थापा