फोटो फिचर

यसरी मनाइयाे छठ (फाेटाेफिचर)

विराटनगरमा गरिएको छठ पूजा। तस्बिरः चुमन/नागरिक

तराई क्षेत्रको महत्वपूर्ण पर्वमध्ये छठ पर्व (पूजा)लाई विशेष रुपमा मनाउने गरिन्छ। बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै ४ दिनदेखि मनाउँदै आएको छठ पर्व सम्पन्न भएको छ।

बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन्। प्रकृतिको पूजा गर्ने पर्वको रुपमा परिचित छठका लागि झिलिमिलि पारिएका नदी, खोला र पोखरीस्थित छठ घाटमा व्रतालुहरु बिहान उज्यालो नहुँदै पुग्ने गर्छछन्। छठ पर्वमा खोला, पोखरी, तलाउलगायतका किनारमा पूजा स्थाल (घाट)विशेष रुपमा श्रृंगारेर पूजाआजा गर्ने चलन रहेको छ।  

यसरी श्रृंगारेका घाटमा कतिपय व्रतालुहरु राति भरि जाग्राम बस्ने गर्छन्। छठ पर्वमा व्रत गरे दुःख, दरिद्रता, चर्म रोगबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक आस्था रहिआएको छ। पछिल्लो समय छठ पर्व तराईमा मात्रै नभई पहाडी क्षेत्रमा समेत भव्य रुपमा मनाउन थालिएको छ। विराटनगरको सिंघिया खोला, केसलिया खोला, नहर र पोखरी तलाउमा  छठको रौनक देखिएको छ। कतिपयले भाकल पूरा भएपछि छठको व्रत बस्ने गरेका छन् भने कतिपयले मनोकांक्षा पूरा होस् भनेर ‘छठी’ माता र सूर्यको आराधना गर्दछन्।  

कोभिडको महामारी फैलिएसँगै बाहिर छठ पूजा गर्न नपाएपछि घर आगानमै खाल्डो खनेर पानी जमाए पूजाआजा गरेका व्रतालुहरुले यस पटक भने खोला, पोखरीहरुमा गएर धुमधामका साथ छठ पूजा गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०७८ ०४:४७ बिहीबार