फोटो फिचर

रौतहटमा छठ पर्वको रौनकता (फोटो फिचर)

तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्वले अहिले रौतहटमा रौनकता ल्याएको छ। प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लामा छठपर्वको रौनक धुमधामका साथ देखिएको हो। पवित्र मनले छठपर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

परम्पराअनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। यस पर्वमा विभिन्न समुदायका व्यक्ति पनि सहभागी हुन्छन् र पर्व मनाउँछन्।

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेषरूपले तराई–मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ। यस पर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खिर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ।

विशेषगरी नेपालका विभिन्न स्थानसँगै नेपालको पूर्वी तराईका जिल्लामा विशेष उल्लासका साथ यो पर्व मनाइने गरिन्छ। यस पर्व चार दिनसम्म मनाइने गरिन्छ। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरवा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्वको समापन हुने गर्दछ।

जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ। सूर्यलाई आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छ। पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठपर्व पछिल्लो समय राजधानीसहित पहाडी क्षेत्र र तराईका विभिन्न जिल्लामा पनि लोकप्रिय हुँदै गएको छ।

केही तस्बिरहरुः

प्रकाशित: २४ कार्तिक २०७८ १४:१६ बुधबार

तराई–मधेस