फोटो फिचर

पञ्चेबाजासहित गजुरीमा रोपाइँ महोत्सव (फोटोफिचर)

धादिङको गजुरीमा आयोजना गरिएको रोपाइँ महोत्सवमा रमाउँदै । तस्बिर : सरिता/नागरिक

आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस। आजको दिनलाई ‘मानो रोपेर, मुरी फलाउने’ दिनको रुपमा लिइन्छ। दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिका वडा नं १ सोतीखोलामा पन्चेबाजासहित धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ। 

गजुरी गाउँपालिकाको सहयोगमा सुनदेबी अर्गानिक कृषि सहकारी संस्थाले रोपाइँ महोत्सव आयोजना गरेको हो। कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरे लगायतको सहभागिता रहेको थियो। 

 असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। असार महिनामा किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। धादिङमा करिव १३ हजार ६ सय हेक्टरमा धान खेती लगाइँदै आएको छ । वार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । 

धादिङका किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् । ब्यवसायिक र आधुनिक खेतीतर्फ आकर्षण बढ्दै जादा धान उत्पादनमा भने कमि आएको छ । जिल्लामा कुल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिँदै आएको कृषि ज्ञानकेन्द्र धादिङले जानकारी दिएको छ ।  

जिल्लालाई धान खेतीमा आत्मनिर्भर बनाउनका लागि अभियान पनि सञ्चालन गरेको छ । कृषि ज्ञान केन्द्रले किसानले लगाएको बालीलाई उत्पादनको आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । धादिङमा उत्पादन भएको धान छिमेकी जिल्ला काठमाडौ, रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।

 

प्रकाशित: १५ असार २०७८ १२:०८ मंगलबार

पञ्चेबाजा गजुरीमा रोपाइँ फोटोफिचर