फोटो फिचर

पाल्पामा भगवती जात्रा मनाइयो (फोटो फिचर)

पाल्पा- पाल्पामा आज भगवती जात्रा मनाइएको छ। सदरमुकाम तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो। अपरान्ह १ बजेदेखि भगवती मन्दिरबाट सुरु रथयात्रा तानसेन दरबार परिसर हुँदै मुल ढोकाबाट निकालेर नारायणस्थान, बसपार्क, टक्सार, बसन्तपुर, कैलाशनगर हुँदै टुंडिखेल स्थित नेपाली सेनाको ब्यारेकमा पुर्यापइएको थियो। त्यहाँ सेनाको विशेष पूजा र पञ्चवली पश्चात पुनः बजार क्षेत्र घुमाएर मन्दिर परिसरमा पुगेर यात्रा विसर्जन गरिएको थियो। सो अवसरमा नेपाली सेनाले राष्ट्रिय धुनसहित तोप पड्काएर सलामी गारद टक्राएको थियो।

भगवती मन्दिर व्यवस्थापन समितिका सचिव राजेश्वर उदयका अनुसार भगवती जात्रा यहाँ मनाइने दर्जन बढी जात्रामध्येकै महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो। जिल्लाका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थामा स्थानीय विदा दिइएको थियो। जात्रा व्यवस्थित गर्न र सुरक्षा प्रवन्ध मिलाउन रुपन्देहीबाट थप प्रहरी तानसेन ल्याइएको पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले बताए। 

नेपाली सेनाको ब्याण्डसहित सैन्य पोषाकमा तीन सयको संख्यामा जवान एवं अधिकृतहरु रथ यात्रामा सहभागी थिए। उत्तिकै संख्यामा प्रहरी र सरकारी कर्मचारी पनि सहभागी थिए। वर्षेनि हुने यो जात्रा हेर्न हजारौंको संख्यामा दर्शनार्थी जिल्ला र जिल्ला बाहिरबाट समेत तानसेन आउने गर्छन्।
पाल्पाका तात्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले वि. सं १८७१–७२ मा भएको नेपाल–अंग्रेज युद्धमा जितगढीको किल्लामा विजय प्राप्त गरेको उपलक्ष्यमा उल्लास स्वरुप वि. सं १८७२ मा तीनतले भगवती मन्दिर निर्माण गरेका थिए र रथ यात्राको सुरुवात गराएका थिए। मन्दिर व्यवस्थापन समिति अध्यक्ष केदारलाल श्रेष्ठका अनुसार उतिबेलादेखि जात्रा निकाल्ने प्रचलन तचल्दै आएको छ। उनका अनुसार यो जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने पर्वको रुपमा समेत लिइन्छ।
यहाँको भगवती मन्दिरमा नेपाली सेनाका प्रधानसेनापती समेत बेलाबेला आएर पुजा गर्ने गर्छन् भने शाही कालमा राजाहरुसमेत यहाँ आएर पूजा गर्ने गर्थे। 
८ वर्षपछि दरबारमा विगुल बज्यो
द्वन्द्व कालमा ध्वस्त तानसेन दरबार पुनःनिर्माण पछि ८ वर्षमा दरबारमा नेपाली सेनाको विगुल बजेको छ। दरबारको बुर्जा (छत) बाट नेपाली सेनाले विगुल बजाएपछि भगवतीको रथ उठाइएको थियो। यो परम्पराले दरबार ध्वस्त भएपछि निरन्तरता पाएको थिएन। भगवती मन्दिर परिसरमा नेपाली सेनाले तोप पड्काएर सलामी गारद टक्राउने र दरबारको बुर्जाबाट विगुल फुक्नेसँगै गरिएको थियो।
सरकारी कार्यालयहरु सञ्चालनमा रहेको भन्दै २०६२ साल माघ १८ गते तात्कालीन विद्रोही माओवादीको आक्रमणमा ऐतिहासिक दरबार ध्वस्त भएको थियो। शान्ति तथा पुनःनिर्माण मन्त्रालयको ६ करोड लगानीमा दरबारको हालसालै पुनःनिर्माण सम्पन्न गरिएको छ।
विरताको प्रतिकको रुपमा मनाइने पाल्पाको भगवती जात्राका झलकहरु तस्विरमा