फोटो फिचर

नौ महिनापछि चम्किएको लेकसाइड (तस्बिरसहित)

धेरै होटलका ५० प्रतिशत कोठामा पर्यटक

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको बुधबार साँझको रमझम । तस्बिरः उमेश पुन÷नागरिक

सन् २०२० को आज अन्तिम दिन । मध्यरातदेखि २०२१ सुरु हुँदैछ । पोखराको पर्यटन क्षेत्रमा पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्ष स्वागतले विशेष अर्थ राख्छ । कारण–पुरानो वर्ष बिदाई र नयाँ वर्षको स्वागतार्थ यहाँको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव आयोजना हुन्छ । महोत्सवले पर्यटन क्षेत्र झकिझकाउ हुने गरेको छ भने पाहुनाको चहलपहल पनि बाक्लै हुने गरेको थियो ।

तर, कोरोना भाइरस संक्रमणले गर्दा यो वर्ष सडक महोत्सव अघिल्ला वर्षजस्तो पाहुनाको आगमनको दृष्टिकोणले उल्लासमय भने हुन सकेन । पाहुनाको आगमनको हिसाबले लेकसाइड उल्लासमय नबनेपनि महोत्सवका कारण लेकसाइड राती केही अबेरसम्म चम्किन भने पाएको छ । झन्डै नौमहिनापछि लेकसाइड राती अबेरसम्म जागा बस्न पाएको छ ।  

महोत्सव आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पाहुनाको आगमनको हिसाबले अघिल्ला वर्षजस्तो उल्लासमय हुन नसकेपनि कोरोनाको यो महामारी रहिरहँदा आन्तरिक पाहुनाको आगमनले केही उत्साही भने बनाएको बताएको छ । घुम्न आएका उनै सिमित आन्तरिक पाहुनाकै कारण लेकसाइड राती अबेरसम्म चम्किन पाएको उनीहरुको भनाई छ ।

‘अघिल्ला वर्षजस्तो आकारमा आन्तरिक पाहुना आउँछन भनेर हामीले महोत्सव आयोजना गरेका पनि होईनौ,’ आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले भने, ‘तर, अहिलेको अप्ठेरोका बाबजुत पनि केही पाहुना आउँदा हामी व्यवसायी आशावादी भने भएका छौ । कम्तिमा लेकसाइड राती अबेरसम्म निदाउन पाएको छैन ।’ कोरोना कहर सुरु भएपछि साँझ पर्न नपाउँदै सुस्ताउने गरेको लेकसाइड अहिले केहीदिनका लागि भने राती अबेरसम्म जागै रहने माहोल महोत्सवले ल्याइदिएको उनले बताए ।  

अघिल्ला वर्षजस्तो आकारमा पाहुना आउलान र कमाई गरौला भनेर यो पटक महोत्सव आयोजना गरेको नभई निरन्तरताका लागि मात्र २२ औं संस्करण गरेको उनले बताए । ‘विगत नौ महिनादेखि थलिएको पर्यटन क्षेत्रलाई केही भएपनि राहत मिलेको छ । व्यवसायीले कमाउने भन्दा पनि व्यवसायको ढोका खोल्ने आधार यो महोत्सव भएको छ,’ उनले भने, ‘राती अबेरसम्म व्यवसायको ढोका खोल्न व्यवसायी बाध्य भएका छन् । किनकी सिमित पाहुना यो बेला पोखरा आएका छन् ।’

अध्यक्ष बरालका अनुसार बुधबार सुरु भएको महोत्सव शुक्रबार सकिँदैछ । सधैं पाँचदिन आयोजना हुने महोत्सव यो वर्ष घटाएर तीनदिनमा झारिएको छ । तीनदिनमा झरेको महोत्सवमा पनि केही आन्तरिक पाहुना पोखरामा भित्रिँदा व्यवसायीले भविश्यका लागि आशावादी भएका छन् । ‘मेरै होटलमा ५० प्रतिशत कोठामा पाहुना छन् । जबकी यसअघि त्यत्ति धेरै पाहुना कोरोना कहर सुरु भएपछि कहिल्यै पाएको थिइन,’ बरालले भने, ‘त्यस्तै रेस्टुरेन्टले पनि केही व्यापार गरेको छ । सानो आकारको यो आम्दानी पनि व्यवसायीलाई उत्साही बनाउने आधार बनेको छ ।’ कोरोना कहर सकिने हो भने आन्तरिक पाहुना आउनेमा व्यवसायी आशावादी भएको उनले बताए ।  

महोत्सवका कारण लेकसाइडमा केही चमक थपिएको छ । महोत्सवको पहिलो रात बुधबार अबेरसम्म लेकसाइडमा आन्तरिक पाहुनाको चहलपहल देखिन्थ्यो । चल्तीका धेरै होटलले ५० प्रतिशत भन्दा बढी कोठामा पाहुना पाएका छन् । ती सबै पाहुना आन्तरिक हुन् ।  

‘कोरोनाको अरु कहर नथपिने हो भने आन्तरिक पाहुनाबाट व्यवसाय धानिन्छ भन्ने पुष्टि भएको छ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि भट्टराइले भने, ‘यो बेला पनि आन्तरिक पाहुनाले पोखरालाई माया गरेका छन् । कमाउनका लागि विदेशी पाहुना अवश्य चाहिन्छ, तर, व्यवसाय थेग्नका लागि आन्तरिक पाहुना नै काफि हुन्छन् ।’ पोखराभित्रै र आसापसका क्षेत्रका थोरै पाहुनाको भरमा पनि व्यवसाय खोल्ने आँट गरेका व्यवसायी अहिले विभिन्न सहरबाट आन्तरिक पाहुना आउँदा आशावादी भएको उनले सुनाए ।

लामो समय पाहुनाविहीन भएका होटल तथा रेस्टुरेन्ट सडक महोत्सवकै निहुँमा व्यवसाय सुचारु गरेका छन् । सडक छेउँमा रेस्टुरेन्ट निकालेर पाहुनालाई सेवा दिइरहेका छन् । ‘अघिल्ला वर्षजस्तो तामझामपूर्ण महोत्सव गर्ने अवस्था पनि छैन । तर, निरन्तरताका लागि मात्र यो प्रयास गरेका हौ,’ भट्टराइले भने, ‘तर व्यवसायी उत्साही बन्न पाएका छन् । नौमहिना सुस्ताएका व्यवसायीलाई ब्यूताउँने प्रयास महोत्सवले गरेको छ ।’

प्रकाशित: १६ पुस २०७७ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App