फोटो फिचर

पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी सुरु (फाेटाे फिचर)

काठमाडौं - २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेस्राे वर्ष पुरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनीको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुभारम्भ गरे। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब नेपाल (पिजे क्लव) को सहकार्यमा आयोजित फोटो प्रदर्शनी पौष १३ गते साँझ ५ बजेसम्म चल्नेछ। भूकम्पले पुर्‍याएको क्षतिको स्मरण, पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी भएका गतिविधि तथा कार्यहरू झल्काउन र ती कार्यबाट प्रभावितहरुले कसरी लाभ लिन सकेका छन् भन्ने देखाउनु यो फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।

प्रदर्शनीको शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले फोटो प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रहरुमा भइरहेका वास्तविक कामहरु जनतासमक्ष पुर्‍याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका करिब १०० फोटोहरु राखिएको छ। फोटो प्रदर्शनीको संयोजन प्राधिकरणका तर्फबाट कुलप्रकाश न्यौपाने र पिजे क्लबका बिकास कार्की, अमूल थापा, बिक्रम राई लगायतका प्रतिनिधिहरुले गरेका थिए।

फोटो_प्रदर्शनी पुनर्निर्माण भूकम्प