फोटो फिचर

‘वन्डरफुल वालिङ’ (फोटो फिचर)

तस्बिर सौजन्य: भूपालकुमार गुरुङ

स्याङ्जा–सन् २०१९ फेब्रुअरी (अगामी माघ) मा हुने अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिताका लागि ‘वन्डरफुल वालिङ’ नामक भिडियो छायांकन सुरु गरिएको छ । वालिङ नगरपालिकाको ‘कल्चर, नेचर र एडभेन्चर’ लाई विश्वमा प्रचार–प्रसार गर्नुका साथै आगामी माघमा हुने अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङको प्रचार–प्रसार गर्ने उद्देश्यले भिडियो छायांकन गरिएको हो । छायांकन करिब दश दिनसम्म चल्नेछ ।

भिडियोमा वालिङ नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, संस्कृतिक, पर्यटन, कृषि, मनोरम दृश्य लगायत पर्यटन सम्भावना बोकेका क्षेत्रको छायांकन हुनेछ । जक्सन डट कम र पोखरा माउन्टेन बाइक एडभेन्चर प्रालिको सहयोगमा भिडियो छायांकन भइरहेको छ । भिडियो सुटिङ ‘वालिङ हन्ड्रेड अल्टिमेट एमटिबी च्यालेन्ज’ ग्रुपको नेतृत्वमा भइरहेको छ ।‘

प्याराग्लाइडिङसँगै माउन्टेन बाइकिङ वालिङको पर्यटन सम्भावना हो, दुवैलाई समानान्तररूपमा अगाडि बढाउनेछौं ।’

करिब एक हप्तादेखि सुरु भएको छायांकन वालिङ नगरपालिका–११ मा पर्ने बाहुनथान     (खाँणदेवी), वालिङ–३ मा गुरुङ संस्कृतिमा आधारित घाटु (राम्चे), सोरठी (बुढाकोट) र झोरा (माझकोट), वालिङ–४ (बस्यानी र च्यारे) मा माउन्टेन बाइकिङ, वालिङ–५ पित्लेक होमस्टेमा मारुनी, खेली नाच साथै माउन्टेन बाइकिङ (मिनाङकोट), वालिङ–१३ गाहाखोला र चिउरी, वालिङ–९ भुम्रेमा लाखे नाच र आँधीखोला किनारमा माउन्टेन बाइकिङ छायांकन भएको छ । यसैगरी वालिङ–७ केवरेमा गुरुङ र मगर जातिको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, स्वरेक मैदानको मनोरम वातावरणलाई कैद गरिएको छ ।

माउन्टेन बाइकिङका लागि आँधीखोला भ्याली दक्षिण एसियाकै उत्कृष्ट गन्तव्य हुन सक्ने बताउँछन् पोखरा माउन्टेन बाइक एडभेन्चर प्रालिका म्यानेजिङ डाइरेक्टर जगन विश्वकर्मा । ‘साइकल गन्तव्यको सम्भावना प्रचुर मात्रामा छ,’ विश्वकर्माले भने, ‘प्रचार प्रसार र प्रवर्धनको खाँचो छ ।’ माउन्टेन बाइकिङ ट्रेलले स्थानीयको जीवनमा पनि धेरै परिवर्तन आउने हुँदा सम्भावनाको पहिचान गरी स्थानीयलाई जागरुक बनाउनु पर्ने उनको तर्कछ । आँधीखोला भ्यालीमा विशेषगरी स्काइलाइन ट्रेलको सम्भावना बढी भएकाले एकदेखि दुई हप्तासम्मको क्याम्पिङ टुर चलाउन सक्ने प्याकेज बनाउन सकिने उनी बताउँछन् । क्याम्पिङ टुर चलाउन सकिन्छ । पोखरा र काठमाडौंमा रहेका विभिन्न क्लब र राइडर ग्रुपलाई बोलाएर यहाँको प्रचारप्रसार गर्नुपर्ने उनले बताए । साहसिक पर्यटन फस्टाउन समय लाग्ने तर दिगो हुने उनको दाबी छ ।

‘वालिङमा अनेकतामा एकता पाइएको छ,’ जक्सन डटकमका प्रमुख भूपालकुमार गुरुङले भने, ‘वालिङ हरेक कोणबाट धनी छ।’ नगरपालिकाभित्रको मौलिक पहिचान भनेको संस्कृति र संस्कार भएकाले संस्कृति र संस्कारलाई संरक्षण र सम्वद्र्धन गर्नुका साथै प्रचारप्रसार गर्न सके वालिङको पहिचान पृृथक हुने गुरुङ बताउँछन् । भिडियो सुटिङका क्रममा वालिङका धार्मिक, ऐतिहासिक, सांस्कृतिक, मनोरम, कृषि लगायत विविध क्षेत्रले संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार खोजिरहेको बताए । ‘यहाँको मनोरम दृश्य छायांकन गरिरहँदा वालिङको वास्तविक अझै बुझ्ने अवसर मिलेको छ,’ गुरुङले भने ।

जक्सन डटकमका सम्पादक अरुण गिरीले वालिङ नगरपालिकाका डाँडाकाँडा, वनजंगल, पहाड, छहरासँगै लुकामारी खेल्दै सालैजो, मारुनी, खेली, झोरा, लाखेसँगै नाच्दै गरिएको छायांकनको भिडियोले कोसेढुंगा सावित गर्ने दाबी गर्छन् । ‘वालिङको मौलिक संस्कृति र संस्कार, होमस्टे र साहसिक पर्यटन गन्तव्यले पर्यटन बोलाइरहेछ,’ गिरीले भने, ‘वन्डरफुल वालिङ भिडियोले वालिङलाई अझै विश्वमा चिनाउनेछ ।’ भिडियोलाई गिरीले निर्देशन गरिरहेका छन् ।

वालिङ नगरपालिका ग्रामीण भेकले बनेको नगरपालिका हो । जहाँ विभिन्न भाषाभाषी, जातजाति, धर्ममा आस्था राख्ने, संस्कृति र संस्कारलाई मान्ने मानिस बस्छन् । वालिङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक धरोहरलाई पहिचान गरी संरक्षण सम्वद्र्धन गर्न सकेमा पर्यटनबाट वालिङको समृद्धिको सम्भावना छ । नगरपालिकाले नगरभित्रका पर्यटकीय गन्तव्यलाई संरक्षण र सम्वद्र्धन गरी पर्यटकीय गन्तव्य बनाउन लागिपरेको नगरप्रमुख दिलीपप्रताप खाँण बताउँछन् । वालिङमा पर्यटकीय सम्भावना भएको क्षेत्र भनेको साहसिक पर्यटन नै भएको उनको तर्क छ । साहसिक पर्यटनले पर्यटकलाई लोभ्याउने उनको भनाइ छ । ‘प्याराग्लाइडिङसँगै माउन्टेन बाइकिङ वालिङको पर्यटन सम्भावना हो,’ खाँणले भने, ‘दुवैलाई समानान्तररूपमा अगाडि बढाउनेछौं ।’ माउन्टेन बाइकिङका लागि नगरभित्र बन्ने सडकका छुट्टै रुट बनाउने बताए । आगामी माघमा हुने प्रतियोगिताका लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सबैखाले सहयोग गर्न तयार रहेको समेत बताए । ‘प्रतियोगिताका लागि के सहयोग खाँचो पर्छ सहयोग गर्न तयार छु,’ खाँणले भने, ‘आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा समेत सम्बोधन गर्नेछु ।’

वालिङलाई साइकल सिटीको रूपमा विकसित गर्ने उद्देश्यले केही युवालाई स्वतः स्फूर्तरूपमा लागेका छन् । वालिङ बहस ग्रुपबाट अहिले ‘वालिङ हान्ड्रेड अल्टिमेट एमटिबी च्यालेन्ज’ नामक ग्रुप र गह्रौंसुर धार्मिक पर्यटन विकास समितिको आयोजनामा अन्तर्राष्ट्रियस्तरको माउन्टेन बाइकिङ प्रतियोगिता हुँदैछ । तस्बिर सबै भूपालकुमार गुरुङ 

वन्डरफुल वालिङ फोटो फिचर