फोटो फिचर

काठमाडौं : न सहर, न सुविधा

प्राचीन कालमा मञ्जुश्रीले चोभारको चुनढुंगा तरबारले काटेर काठमाडौं उपत्यकामा जमेको पानी निकास गरेको इतिहास अहिले पुरानो भैसक्यो । पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौं उपत्यकामा हमला गरेर कब्जा गरेपछि नेपालको राजधानी कहलिएको यो खाल्डोको राजनीतिक पहिचान बदलिँदै गएको छ । केही वर्ष अघिसम्म काठमाडौं नेपाल अधिराज्यको राजधानी थियो । राजाहरू यही काठमाडौंमा बसेर अधिराज्यभर शासन गर्थे ।

काठमाडौं जर्मनको चना, बर्माको कालोदाल र फिलिपिन्सको खोर्सानी उपभोग गरिरहेको छ । काठमाडौंमा अहिले पनि सम्पत्ति थुप्रिएको चर्चा हुुन्छ ।

करिब २५० वर्ष राज गरेका श्रीपेचधारी राजा छैनन् अहिले । तर पनि काठमाडौंले राजधानीको ओज छोडेको छैन । केही वर्षअघि यो लोकतान्त्रिक गणतन्त्रको राजधानी बन्यो र भर्खरै मुलुक संघीय संरचनामा गएपछि काठमाडौं खाल्डो संघीय राजधानीमा रूपान्तरण भएको छ । पछिल्लो परिवर्तन राजनीतिमा एकपछि अर्को गर्दै ‘राजा’हरू उदाउने, सिंहदरबारबाट शासन गर्ने क्रम जारी छ, जारी रहनेछ । प्रत्येक एक–एक दसकमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने नेपालको राजधानी काठमाडांै जहिल्यै पनि शक्ति र सत्ताको केन्द्रमा रहँदै आएको छ । बूढापाकाहरू राजा र देउता बस्ने ठाउँ भन्छन् काठमाडौंलाई । यही राजधानी भएकाले हुनसक्छ पशुपतिनाथले आराध्यदेवको पदवी पाएका छन् । स्वयम्भूका दुई आँखाले पनि यही खाल्डोलाई शताब्दीदेखि नियाल्दै आएका छन्  । हो, काठमाडौंमा एक किसिमको आशक्ति छ, सम्मोहन छ– सत्ता र शक्तिका लागि ।  शिक्षा र स्वास्थ्यका लागि यहाँ आकर्षण छ । उद्यमधन्दा सबैका हिसाबले यो खाल्डोमा रजगज छ, वर्षौंदेखिको र अझै जारी रहने देखिँदैछ ।

चारैतिर अग्ला पडाडले वेष्ठित मलिलो उपत्यका कंक्रिटको छायाँमा परेको छ । कोलाहल अनुभव हुन्छ जताततै । नदीहरु ढल बनाइएका छन् । सार्वजनिक चौर, चौबाटाहरु मासिँदै छन् । सडक पेटीहरु पैदल यात्रुका लागि होइन व्यापारीको हो ।

काठमाडौंको शासकीय परिचय समयक्रममा बदलिँदै छ ।  सत्ता बदलिएजस्तो सबै बदलिएको छ त ? यो प्रश्न खाल्डोमा बस्ने आम नागरिकको दैनिकीसँग सम्बन्धित छ । जहाँ सिंहदरबारमा बस्नेहरूले बोलीबाट सम्बोधन गर्छन्, व्यवहारमा केही गर्दैनन् । यो वर्षौंदेखिको परम्पराले सबैखाले व्यवस्थामा निरन्तरता पाउँदै आएको छ । काठमाडौं उपत्यकामा मल्लकालमा तीनवटा राज्य थिए, काठमाडांै, पाटन र भादगाउँ । अहिले पनि तीनवटै शासकीय किल्ला कायम छन्, काठमाडांै, ललितपुर र भक्तपुर । तीन जिल्लामा विभाजित यो उपत्यकामा २ वटा महानगर छन्, काठमाडौं र पाटन । काठमाडौं, ललितपुर, भक्तपुरमा गरेर १६ वटा नगरपालिका छन् । ललितपुरका पहाडी खोचमा ३ वटा गाउँपालिका छन् । अर्थात् उपत्यकामा सबै स्थानीय तह गाउँबाट उकालो लाग्दै नगर महानगरको यात्रामा छन् । करिब ४० लाख जनसंख्याले भरिएको अनुमान गरिएको उपत्यका समग्रमा काठमाडौं भनेर चिनिन्छ । नगर भन्नुको अर्थ त्यहाँ सहरी जीवनशैलीको प्रधानता हुनु हो । काठमाडौंको दरबारमार्ग, न्युरोडले कस्मोपोलिटन सहरको झलक पस्कन्छन् । कोर सहर भनिने सीमित क्षेत्रबाहेक महानगरको परिधिको बसोबासमा ग्रामीण जीवनमा बाँच्दै, फरक–फरक भूगोलले महानगरको  पहिचान पाएका छन् ।

सहरी जीवन भनेको सेवा सुविधाका दृष्टिले सम्पन्न हुनुपर्ने हो ।  भौतिक सम्पन्नता र चोक चौबाटा बस्तीहरू सौन्दर्यले भरिभराउ हुनुपर्ने हो । सहर भनेका अवसर हुन् । अवसरको खोजी भइरहेको छ यहाँ । यहाँ अवसर छन् कि छैनन् ? धरातलीय यथार्थता त्रिभुवन विमानस्थलबाट प्रत्येक महिना करिब ५० हजार युवा कामका लागि विदेशिन बाध्य छन् । पाखुरी चलाएर परिवारको दानापानी जुटाउने र पढेर बुद्धि खेलाउन चाहने दुवै खाले मुलुकका अधिकांश युवा देशमा बस्न चाहँदैनन् । पासपोर्ट लिन चाहनेहरूको भीड र कोरियाको कामदार बन्न महिनौं तयारी गरेर भाषा परीक्षामा सामेल हुन किलोमिटर लामो लाम लाग्नेहरू पनि काठमाडौंमै देखिन्छन् । काठमाडांैमा आकर्षण छ वा विकर्षण ? खुट्याउन सहज छैन ।

चुनाव भयो, जनताले भोट हाले, आफ्ना प्रतिनिधि चुने । चुनिएकाहरु सत्ता चलाउँछन् । तर, मन दिएर संघीय राजनीति संस्थागत गर्न योगदान गर्ने जनताले महँगी उपहार प्राप्त गरेका छन् ।

नगर नै नगरले भरिएको उपत्यकाका आम जनताको हालत कस्तो छ त ? काठमाडौंका अधिकांश मानिस हतासमा देखिन्छन्, हतारमा छन् उनीहरू । सहरिया हुनुको अर्थ बेफुर्सदी छन् उनीहरू । आम मानिस कसरी प्रताडित छन् लेखाजोखा आवश्यक ठानिँदैन । भौतिक पूर्वाधारको गरिबी जताततै छर्लङ्ग छ । गाउँबाट सहर बन्ने दौडमा रहेका बस्तीहरूमा खानेपानी, बिजुली, बाटोजस्ता आधारभूत पूर्वाधारकै न्यूनता खड्किन्छ । मूल सडक नै हिउँदमा धुलेश्वर र वर्षामा हिलेश्वरमा परिणत हुन्छन् । यो नियति वर्षौंदेखिको हो । अझै वर्षौंसम्म जारी रहने देखिन्छ ।

चारैतिर अग्ला पहाडले वेष्ठित मलिलो उपत्यका कंक्रिटको छायाँमा परेको छ । कोलाहल अनुभव हुन्छ जताततै । नदीहरू ढल बनाइएका छन् । सार्वजनिक चौर, चौबाटाहरू मासिँदै छन् । सडक पेटीहरू पैदल यात्रुका लागि होइन व्यापारीको हो । सडकको पीच पार्किङ बनाइएको हुन्छ । योजनाविहीन निर्माणको गति तीव्र छ ।

सार्वजनिक यातायातको कुरा गरिसाध्य छैन । मिलोमतो प्रणालीको ‘आदर्श’ बाट प्रेरित व्यवसायीहरू कुन कतिवटा र कसकसका गाडी सडकमा निकाल्ने योजना बुनिरहेका हुन्छन् । अखबारमा सिन्डिकेट प्रथा उन्मुलन भएको हेडलाइनहरू छाइरहेका छन् । व्यवहारमा यातायात व्यवस्था कार्यालयका हाकिमहरू जो रुट परमिटको हतियार लिएर बसेका हुन्छन्, उनीहरूनै सिन्डिकेटको शिरमा छन् । सडकमा सिठी मार्ने ट्राफिकहरू र राजनीति गर्र्नेहरू सबैलाई रिझाएको देखिन्छ व्यवसायीहरूले । त्यसैले  सकेसम्म धेरै यात्रु कोच्न पाउने छुट पाएका छन् व्यवसायीले । एक दर्जन यात्रु सिट भएको माइक्रोले दुई दर्जन यात्रु कोच्नु सामान्य मानिन्छ । बस, मिनीबसहरूमा मानिसलाई मानिसजस्तो व्यवहार गरिँदैन । उभिएर यात्रा गर्न पनि पाइँदैन । यात्रु कसरी बस्ने, कता फर्कने, कता समाउने, त्यो खलाँसीको निर्देशनमा हुन्छ । त्यहाँ महिला, युवती, बुढाबुढी, केटाकेटी कुनैको मतलब हुँदैन । बसवालाहरूको नजरमा प्रत्येक अनुहारमा उसले असुल्ने भाडा मात्र हुन्छ सायद । नेपालले उदार अर्थतन्त्रको प्रयोग गरेको पञ्चायतको आखिरी समयदेखि हो । प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संघीय गणतन्त्रमा उदारवाद अझ मौलाउनुपर्ने हो । उदारवादमा बजार प्रभावशाली हुन्छ र उपभोक्ता अधिकार सम्पन्न हुन्छन् । यहाँ दुवै कुराको चरम अभाव देखिन्छ । जनता निरीह छन् । यातायातको सिन्डिकेट, उपभोक्ता र निर्माण सामग्रीमा कार्टेलिङ उदार अर्थतन्त्रका बाइप्रोडक्टजस्तै अनुभव हुन्छ । संविधानले अख्तियार गरेको समाजवाद उन्मुख यात्रामा अहिले मुलुक र काठमाडौं त्यसको केन्द्रमा छ । राजनीतिमा  कमरेडहरू उदय भएको अहिलेको समयमा सिन्डिकेट र कार्टेलिङले छहारी पाउने हुन् वा ‘शक्तिशाली’ सरकारको साँच्चिकै कारबाहीमा पर्ने हुन् ? यसै भन्न सकिने स्थिति छैन । राजनीतिकर्मी र व्यापारीहरूको सौदाबाजीको मूल्य कतिञ्जेल चुकाउनुपर्ने हो नेपालीहरूले आँकलन गर्न सहज छैन ।

उपभोक्ता र निर्माण सामग्रीको भाउ अकासिएको छ । अन्तर्राष्ट्रिय कारणले त्यस्तो भएको होइन भन्छन् अर्थशास्त्रीहरू । स्थानीय, प्रदेश र संघीय संसदको चुनावका बेला बगेको पैसाको मूल्य अहिले उपभोक्ता अर्थात् आम नागरिकको थाप्लोमा परेको अर्थ लाग्दैछ । चुनाव भयो, जनताले भोट हाले, आफ्ना प्रतिनिधि चुने । चुनिएकाहरू सत्ता चलाउँछन् । तर, आफ्नो मन दिएर संघीय राजनीति संस्थागत गर्न योगदान गर्ने जनताले महँगी उपहार प्राप्त गरेका छन् । करिब ३० प्रतिशतको मूल्यवृद्धि सायद अल्पकालीन राहत मात्र हो ।

ग्लोबल भिलेजको जमाना हो अहिले । सञ्चारको युग भनिन्छ, अहिलेको समयलाई । फेसबुकमा स्टाटस लेख्ने र लाइक हान्नेबाहेकको धेरै उपल्लो प्रयोग नेपालीले गरेको जस्तो लाग्दैन । अपवादको सानो संख्या नेटको लाभ लिनेमध्येका होलान् । काठमाडांैवासीका हातहातमा एन्ड्रोइड फोन देखिन्छ ।  तारविहीन सञ्जालमा बेरिएको छ अहिलेको मानिस । सतहमा त्यस्तै देखिन्छ । तर मोबाइलहरू कुरा गर्दैगर्दा डिसकनेक्ट हुने र कुरा नबुझिने वर्षौंदेखिको रोगको उपचार आवश्यक ठानिदैन । टेलिफोन कम्पनीहरू अर्बौंको नाफा कमाउँदै छन् बर्सेनि ।  इन्टरनेट भरपर्दो छैन । क्वालिटी डाटाका कुरा कागजमा सीमित देखिन्छ ।

नेपाल राष्ट्र बैंक पेपरलेस मनीको कागजी कुरा मात्र गर्दै आएको छ । मानिसका पकेटमा एटिएम कार्डहरू हुन्छन् । डेबिट र क्रेडिट कार्यहरू चल्तीमा छन् । भनिन्छ, आज प्रयोग गर्ने भोलि पैसा तिर्ने क्रेडिटकार्डको जमाना हो अहिले । सहरका जताततै एटिएम लाउन्जहरू छन् तर एटिएम भरपर्दो हुँदैन, यो लाखांै उपभोक्ताको अनुभव हो । डेबिट क्रेडिट कार्ड प्रयोग गरेर किनमेल गर्न सकिने व्यवस्था टाढाको कुरा भएको काठमाडौं सहरमा । तर, काठमाडौंको न्युरोड वा दरबारमार्गका ठूला पसलहरूमा कार्डबाट पैसा तिर्न खोज्दा थाहा हुन्छ ३ देखि ५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्छ । केही डिपार्टमेन्ट स्टोरहरूले मात्र कार्ड स्वीकार्छन् । नेपालका बैंकहरूले प्रदान गर्ने भिसा कार्डमा लेखिएको हुन्छ, नेपाल र भारतमा चलाउन सकिन्छ भनेर । काठमाडौंमा कार्डबाट पैसा तिर्दा अतिरिक्त शुल्कको खतरा हुन्छ भने भारतका सहरहरूमा त्यस्तो हुँदैन । नेपालको कार्ड भारतमा चलाउँदा थप पैसा नलाग्ने, काठमाडौंमा लाग्ने कस्तो बिचित्र चलन हो ? राष्ट्र बैंक मौन छ । बैंक भनेका ठूला व्यापारी हुन्, तिनीहरू पनि भद्र सहमतिको नाममा कार्टेलिङ नै रुचाउँछन् ।

काठमाडौं वैभवशाली भनिन्छ । उहिले मल्लकालमै काठमाडौंको व्यापारिक नाता कुतीदेखि कलकत्तासम्म विस्तारित थियो । अहिले काठमाडौको व्यापारिक सम्बन्ध संसारभर फैलिएको छ । खासमा उपभोक्तावादी हो । काठमाडौं जर्मनको चना, बर्माको कालोदाल र फिलिपिन्सको खोर्सानी उपभोग गरिरहेको छ । काठमाडौंमा अहिले पनि सम्पत्ति थुप्रिएको चर्चा हुुन्छ । मुलुकको ढुकुटी यही काठमाडौंमा छ । सबैजसो वाणिज्य बैंकका मुख्यालय यही छन् । मुलुकको राजस्वको प्रमुख स्रोत पनि काठमाडौं हो र देशको सबैभन्दा धेरै लगानी पनि यहीँ हुन्छ । केही वर्षयता कालोधनको बिगबिगी चलेको चर्चा घनिभूत भएको छ काठमाडौंमा । अर्थतन्त्रको आधा हिस्सा कालोधनले ढाकेको तथ्य अघि सार्छन् अर्थशास्त्रीहरू । कालोधनको बोलवाला छ, काठमाडौंमा । कालो बजारीले आकार लिएको छ, कालो धन र कालो बजारले घर गरेको भए पनि यहाँका मानिसमा कालो मन त्यत्ति धेरै छैन । काठमाडौंको मौसम चिसो छ । वर्षभरि जसो चिसो हुन्छ यहाँ र यहाँका मानिस खासमा मौसम जस्तै चिसा छन् । 

काठमाडौं सहर सुविधा नागरिक परिवार