फोटो फिचर

मौलाकालिका मन्दिरमा भक्तजनको भीड (तस्बिरसहित)

गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा शुक्रवार बिहानैदेखि भक्तजनको भीड लागेको छ।

दसैँ सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो। केबलकार निर्माण भएपछि भक्तजनको संख्या बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।

सप्तमी, अष्टमी र महानवमीको तीन दिनमा करिव ५० हजार भक्तजनले दर्शन गरेको मौलाकालिका अनुमगन तथा मुल्यांकन समितिले जनाएको छ। मौलाकालिका स्थापना कालदेखि नै भक्तजनको आकर्षणको केन्द्र बनेको छ।

अघिल्लो आर्थिक वर्षको वैशाख १ गते केवलकार बनेपछि भक्तजनको चाप बढेको हो। फुलपाती र महानवमीको दिनमा भक्तजनको चाप बढेको मौलाकालिका व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष थिरप्रसाद गौडेलले जानकारी दिए। उनका अनुसार अघिल्ला वर्षको दसैँमा ४० हजारको हाराहारीमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका थिए।

मन्दिरमा केवलकार, मोटरबाटो र गोरेटो बाटोबाट जान सकिन्छ। सडक मार्ग र केवलकार बनेपछि भक्तजनलाई आउन जान सहज भएको उनले बताए। धार्मिक सेवा समिति मौलालिकाले भक्तजनको भिड बढेपछि व्यवस्थापनलाई समेत विशेष बनाएको छ। अपाङ्ग, ज्येष्ठ नागरिकलाई दर्शनका लागि छुट्टै व्यवस्थापन गरिएको छ।

सुरक्षा समिति, आर्थिक समिति, व्यवस्थापन समिति लगायतका विभिन्न समिति निर्माण गरेर भक्तजनहरुको व्यवस्थापन गरिएको छ। करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किम्वदन्ती छ।

करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो। मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मानोकाङक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

मौलाकालिकामा सप्तमीको दिन फुलपाति भित्राइएको थियो। अष्टमीमा पञ्चवलि भित्र्याउने काम भएको र महानवमीको दिन विर्शजन कार्य हुन्छ। त्यस बाहेक विभिन्न अनुष्ठाका काम दैनिक हुने गरेको छ। पूर्वाधार निर्माण लगायतका कामहरु बढ्दै गएपछि भक्तजनको आक्रषण बढेको छ। 

प्रकाशित: २५ आश्विन २०८१ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App