फोटो फिचर

घरमै यसरी बनाअाैँ चाकु (फोटो फिचर)

काठमाडौँ – माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकुले राम्रै व्यापार पाइरहेको छ। हुन त चाकु भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी।

काठमाडौँको टोखा चाकुको लागि प्रख्यात स्थान हो ।  हुन त चाकुको उत्पति नै टोखाबाट भएको पनि बताइन्छ। चाकू र टोखाको सम्बन्ध पनि निकै पूरानो भएको र टोखाको नाम पनि चाकुसँगै सम्बन्धित रहेको बताउँछन् स्थानीयहरू । 
‘टोखा अर्थात सानो उखु यही सानो उखुलाई पेलेर जुस बनाइहेर्दा के हुन्छ भन्ने उत्सुकताका हाम्रा बाजेहरूले उखुको रस निकाले । त्यो रसलाई पकाउँदा एउटा नयाँ परिकार बन्यो अनि त्यसलाई पनि पकाउँदै फिटेपछि चाकु बन्यो’ टोखा र चाकूको विषयमा प्रष्टाउँदै एक स्थानीयले भने। 

त्यही उखुबाट पछि सखर उत्पादन हुन थाल्यो र सखरबाट चाकु। यसरी बाजेको पालादेखि नै चाकु बनाउने तथा खाने प्रचलन सुरु भएको बताउँछन् उनी।

टोखामा व्यवसायिक रुपले नै चाकु उत्पादन गर्दै आएका राजेश श्रेष्ठ चाकुलाई पूरानो परिकारको रुपमा लिन्छन् । उनी आफ्ना  बाजेपालादेखि गर्दै अाइएको कामलाई निरन्तरता दिएको बताउँछन्। 

दैनिक तीन लाखको व्यापार गर्ने उनी चाकु मात्र नभई माघे संक्रान्तिमा खाइने तिलको लड्डु पनि बनाउँछन् । चाकु विशेषगरी माघे संक्रान्तिमा खाइने भएकाले आफैँले पनि घरैमा चाकु बनाएर खान सकिने बताउँछन् उनी।

कसरी बनाउने चाकु ?
सखरमा केही पानी मिसाई उम्माल्ने केही समय राम्रोसँग पकाएपछि त्यसलाई खुल्ला भाँडोमा खन्याउने। केही बेर त्यतिकै राखेपछि त्यसलाई राम्रोसँग फिट्ने। जबसम्म त्यसको रंग फरक हुँदैन त्यतिञ्जेल फिट्ने । फिटेपछि त्यसमा आफूलाई चाहिने मात्रामा काजु, नरिवल, किसमिस लगायतका मसलाहरू मिसाउने र एकछिन् त्यतिकै खुल्ला छोडिदिने। 

त्यस्तै तिलको लड्डु पनि आफैँले घरमै बनाउन सकिन्छ । कालो  लड्डु लागि पनि सखरको नै आवश्यकता पर्छ। तिललाई राम्रोसँग भुटेर एउटा भाँडोमा राख्ने । त्यसमा राम्ररी पाकेको सखर खन्याउने। त्यसलाई राम्रोसँग मोल्ने अनि  साना साना टुक्रा बनाउने र त्यसलाई गोलो बनाउने। 

त्यसैगरी सेतो लड्डुको लागि भने चिनीको आवश्यकता पर्दछ । चिनीलाई केही पानी मिसाइ राम्रोसँग पकाउने। त्यसपछि राम्रेसँग भुटिएको तिलमा त्यसलाई खन्याउने र कालो लड्डु जस्तैगरी त्यसलाई पनि आवश्यकता अनुसार बनाउने। 

तस्बिरमा हेर्नुहोस् यसरी बन्छ चाकु । तस्बिर सबै : प्रबिन काेइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App